नेपाली डायस्पोरा | बसाइँ सराई प्रवृत्ति | नेपाली आप्रवासन प्रतिवेदन | अमेरिकामा रहेका नेपालीहरु
इन्स्टिट्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजले (आईआईडिएस) अमेरिकामा रहेका नेपाली आप्रवासीहरूको सफलता र चुनौतीहरू समावेश गर्दै गएको डिसेम्बर एक प्रतिवेदन सार्वजनिक गरेको छ।
आईआईडिएसद्वारा जारी प्रेस विज्ञप्तिअनुसार ‘नेपाली माइग्रेन्ट ड्रीम्स इन द अमेरिकन ल्यान्डस्केप: आन एक्सप्लोरेसन अफ द नेपाली डायस्पोरा इन द युनाइटेड स्टेट्स’ (अमेरिकी परिदृश्यमा नेपाली आप्रवासी सपनाहरू: संयुक्त राज्य अमेरिकामा नेपाली डायस्पोराको एक अन्वेषण) शीर्षकको उक्त प्रतिवेदनमा अमेरिकामा रहेका नेपालीहरूको बहुआयामिक अनुभवहरूलाई समेटिएको छ।
डा. अरुण आर. जोशी, विभव प्रधान र रुजेल श्रेष्ठद्वारा तयार गरिएको उक्त अध्ययन प्रतिवेदनले अमेरिकाभित्र नेपालीहरूको आप्रवासन, बसोबास, तथा आर्थिक- सामाजिक समावेशीकरणका जटिल प्रक्रियाहरूको विश्लेषण गरेको छ। अध्ययनले नेपालमा अप्रवासी नेपालीहरूको योगदान, आप्रवासन प्रवृत्तिका व्यापक प्रभावहरू, तथा गैरआवासीय नेपालीहरूका मुद्दाका सम्बन्धमा पनि महत्त्वपूर्ण दृष्टिकोण प्रस्तुत गरेको आईआईडिएसको प्रेस विज्ञप्तिमा उल्लेख छ।
उक्त अध्ययनका लागि करिब १,१७५ उत्तरदाताहरूमाथि अनलाइन सर्वेक्षण गरिएको थियो। यसका साथै, अध्ययनका क्रममा थप १३ जना मुख्य जानकारहरूसँग अन्तरवार्ता (की इन्फर्मेन्ट इन्टरभ्यूज- केआईआई) लिइएको थियो। त्यसैगरी विविध पृष्ठभूमिका १३ व्यक्तिहरू सम्मिलित एक केन्द्रित समूहिक छलफल (फोकस्ड ग्रुप डिस्कसन) समेत आयोजना गरिएको थियो।
प्रतिवेदनले अमेरिका बसोबास गर्ने १९४,२७४ नेपालीहरूलाई आधार मानेर तथ्यांकको विश्लेषण गरेको छ। अध्ययनका अनुसार, उनीहरूको औसत उमेर ३२ वर्ष रहेको छ भने रोजगारी दर ७६.५% रहेको छ। उक्त तथ्यांकका आधारमा, अमेरिकामा बसोबास गर्ने नेपालीहरूमध्ये १४८,५६६ जना कार्यरत अवस्थामा रहेको अनुमान गरिएको छ।
सन् २०१० पछि अमेरिकी भूमिमा प्रवेश गर्ने नेपाली आप्रवासीहरूको प्रतिशत हाल अमेरिकामा रहेका आप्रवासी नेपालीहरूको ६७.९% रहेको अध्ययनले देखाएको छ। नेपालको संविधान निर्माण र प्रारम्भिक कार्यान्वयनको २०१० देखि २०१९ सम्मको अवधिमा ४९% नेपाली अमेरिका पुगेका थिए भने सन् २०२० पछाडि थप १८.९% नेपालीहरूले अमेरिका प्रवेश गरेको पाइएको छ।
सन् २०१२ देखि २०२१ सम्म ५.३ मिलियनभन्दा बढी नेपालीहरूले इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रममा आवेदन दिएका थिए। यस कार्यक्रममा आवेदकहरूको जीवनसाथी तथा सन्तानहरूलाई समेत गणना गर्दा उक्त संख्या बढेर ८.६ मिलियन नाघ्ने देखिन्छ। सन् २०२१ सम्मको तथ्यांकका अनुसार वार्षिक ईडीभी आवेदन भर्ने नेपालीहरूको संख्या ६,८८,५०२ थियो जसले नेपाललाई आवेदन दिने एसियाली मुलुकहरू मध्येकै दोस्रो उच्च स्थानमा पुर्याएको छ।
प्रत्येक वर्ष औसत रूपमा ४,०९८ आवेदनहरू छनोट हुने गरेका छन् जुन वार्षिक रूपमा विश्वव्यापी रूपमा ईडिभी भिसा पाउनेहरूको ७.४५% हो।
आप्रवासनको मुख्य कारणका रूपमा ५८% नेपालीहरूले उच्च शिक्षालाई छनोट गरेका छन् भने ३% नेपालीहरू सशस्त्र द्वन्द्वका पीडित वा शरणार्थीका रूपमा पनि अमेरिका पुगेका छन्।
अमेरिका आप्रवासनका अन्य कारणहरू निम्नानुसार छन्:
आप्रवासनका कारणहरू | प्रतिशत |
पेशागत उन्नति | ४२ |
उच्च जीवनस्तर | ३८ |
अस्थिर राजनीतिक अवस्था | २६ |
रोजगारीको अवसरको अभाव वा न्यूनता | २५ |
रोजगारीका उत्तम अवसरहरू | १९ |
बालबालिकाको उज्जवल भविष्य | २६ |
परिवार वा साथीभाइका कारण | ८ |
अनिश्चित रोजगारी सम्झौता | ८ |
विवाह | ६ |
अभिभावक वा हजुरबुबा-हजुरआमाको निर्णय | ६ |
अपराध दर | ४ |
रोजगारीमा रहेका ५९.६% नेपालीहरूले स्वदेशमा रेमिट्यान्स पठाउने गरेको सर्वेक्षणले देखाएको छ जसमा औसत रूपमा प्रत्येक व्यक्तिले ८,६३३.०४ अमेरिकी डलर पठाएको पाइन्छ। उक्त तथ्यांकका आधारमा सन् २०२३ मा नेपालमा कुल १.२८ बिलियन अमेरिकी डलर रेमिट्यान्स भित्रिएको अनुमान गरिएको छ। सो रकम नेपालको कुल रेमिट्यान्सको ११.६% हो।
त्यसैगरी, अमेरिकाबाट आउने प्रति व्यक्ति रेमिट्यान्स ६,५४७.६२ अमेरिकी डलर रहेको छ जुन रेमिट्यान्स पठाउने अन्य प्रमुख मुलुकहरूभन्दा निकै बढी हो। दोस्रो स्थानमा रहेको कतारबाट प्रति व्यक्ति ४,३२७.९६ अमेरिकी डलर रेमिट्यान्स आउने गरेको छ।
प्रतिवेदनका अनुसार, “अमेरिकाबाट प्रति आप्रवासी रेमिट्यान्स, कतरको तुलनामा १.५१ गुणा, मलेसियाको तुलनामा २.२८ गुणा, युएईको तुलनामा १.७२ गुणा, र साउदी अरबको तुलनामा १.९५ गुणा उच्च छ।”
अमेरिकामा रहेका नेपाली कामदारहरूका लागि व्यापक अवसरहरू उपलब्ध हुनु नै उच्च प्रति व्यक्ति रेमिट्यान्सको प्रमुख कारण भएको अनुमान प्रतिवेदनले गरेको छ। अवसरहरूको विस्तृत दायराले उनीहरूलाई ठूलो परिमाणमा रेमिट्यान्स पठाउन सक्षम बनाएको देखिन्छ।
अर्को तर्फ, रेमिट्यान्स लाभको विपरीत, नेपाली विद्यार्थीले पछिल्ला तीन आर्थिक वर्षहरूमा विदेश अध्ययनका लागि २९३.२६ अर्ब नेपाली रुपैयाँ देश बाहिर लगेका छन्। अघिल्लो आर्थिक वर्षमा मात्र १२५ अर्ब नेपाली रुपैयाँ विदेशिएको थियो।
प्रतिवेदनले आप्रवासी नेपालीहरूका वित्तीय लगानीबारे पनि महत्त्वपूर्ण विवरण प्रस्तुत गरेको छ। हालसम्म, १३.२% नेपाली आप्रवासीहरूले मात्र नेपालमा लगानी गरेको पाइएको छ। लगानी क्षेत्रहरूमा, विशेषगरी अचल सम्पत्ति (रियल इस्टेट), जलविद्युत् र शिक्षा समेटिएका छन्। आप्रवासीहरूलाई आर्थिक रूपमा संलग्न गराउनका लागि अझ आकर्षक अवसरहरू सिर्जना गर्नुपर्ने तथा अवरोधहरू हटाउनुपर्ने आवश्यकता रहेको उल्लेखित तथ्यांकले देखाउँछ।
यसका अतिरिक्त, अध्ययनले आप्रवासी नेपालीहरूको आय स्तर, गरिबी दर, रोजगारी अवस्था तथा जनसांख्यिकीय विवरणहरूको पनि विश्लेषण गरेको छ।
आप्रवासी समुदायको लैंगिक संरचनामा पुरुष (६०.१३%), महिला (३९.४%) र अन्य (०.४७%) समावेश छन् भने तिनीहरूको औसत आय ४५,५०० अमेरिकी डलर र औसत घरधुरी आय ९६,२५० अमेरिकी डलर रहेको छ।
आप्रवासी समुदायको जाति तथा जातीय समूह संरचनामा ८९.५% पहाडी (नेवार समेत) र ११.५% तराई (मुस्लिम, थारु, धनुक र अन्य जाति समेत) समावेश छन्। (तथ्यांकमा १% को असंगति)
सर्वेक्षणमा पहाडी ब्राह्मण समुदाय ४५.२५% जनसंख्याको साथ प्रमुख स्थानमा रहेको देखिन्छ। पहाडी ब्राह्मण समुदायका साथमा, पहाडी छेत्री (२०.३२%), नेवार (१६.२४%), तराई ब्राह्मण/छेत्री (८.१६%)— यी चार समूहहरूले कुल आप्रवासी जनसंख्याको ९०% हिस्सा ओगटेका छन्। पहाडी दलित (०.७६%), तराई जनजाती (०.४८%) र तराई दलित (०.२९%) जस्ता समूहहरूले भने प्रवासी जनसंख्यामा असमानता देखाउँछन्। पहाडी जनजाती समूह (६.९३%) र मुस्लिम जस्तो धार्मिक समूह (‘अन्य’ भित्र को ०.७७%) ले पनि असमानताको चित्र प्रस्तुत गर्दछन्।
बृहत् रूपमा, यस्ता असमान संरचनागत तथ्यांकहरूले ठूलो आम्दानी र उच्च जीवनस्तरको सम्भावना भएका अर्थतन्त्रहरूमा आप्रवासनको अवसर प्राप्त गर्न सिमान्तकृत समुदायहरूले सामना गर्नुपर्ने सामाजिक तथा आर्थिक अवरोधका जटिल तहहरू इंगित गर्दछन्। यस्ता तथ्यांकहरूले स्रोत, शिक्षा र सञ्जालको पहुँचमा सीमितता ल्याएका ऐतिहासिक असमानताहरूलाई पनि उजागर गर्दछन्।
३४% नेपालीहरू कार्यरत प्रविधिसम्बन्धी उद्योग अमेरिकी नेपालीहरूका लागि रोजगारको प्राथमिक क्षेत्र भएको प्रतिवेदनले देखाउँछ। त्यसपछि स्वास्थ्य सेवा (१६.१%), वित्त (८.२%), शिक्षा (६.९%) र खाद्य तथा होटल सेवाहरू (६.८%) आउँछन्। रोजगारका अन्य प्रकारहरूमा १.८% ले स्वरोजगार सिर्जना गरेका छन् भने ८.४% ले ‘अन्य रोजगार’ प्रतिक्रिया दिएका छन्।
आप्रवासी समुदायको बहुसंख्यक (४८.८%) सदस्यहरूले स्नातकोत्तर डिग्री प्राप्त गरेका छन्। त्यसपछि स्नातक (२८.६%), पीएचडी र माथि (१४.५%), उच्च विद्यालय उत्तीर्ण (७.७%) र उच्च विद्यालयभन्दा तल (०.४%) रहेका छन्।
प्रतिवेदनले नेपालीहरूको स्वदेश फर्किने योजनाबारे पनि अध्ययन गरेको छ — ग्रीन कार्डधारीहरू मध्ये ४३.७%, विशेष पेशागत (एच१बी भिसा) मध्ये ४८.३%, विद्यार्थीहरू (जे, एफ१, एम१ भिसा) मध्ये ६५.१% र अमेरिकी नागरिकता राख्नेहरू मध्ये ४२.४ प्रतिशतले स्वदेश फर्कने योजना बनाएको बताएका छन्।
प्रतिवेदनले आप्रवासी नेपालहरूको नेपाल फर्कने प्रेरणात्मक कारणहरू पनि समेटेको छ। नेपाल फर्कन चाहनेहरूमध्ये २६.८४% ले परिवार र साथीभाइसँगको आत्मियतालाई प्राथमिकता दिएका छन्। त्यसैगरी, १९.९८% ले सेवानिवृत्त पछिको जीवन बिताउन, ८.३८% ले ‘व्यक्तिगत’ कारण, ५.५९% ले रोजगारी र पेशागत अवसरहरूको खोजी र १.२% ले कानूनी कारण देखाएका छन्।
निरन्तर आप्रवासनका कारण विगत १५ वर्ष देखि फैलिरहेको नेपाली आप्रवासी समुदायको स्पष्ट चित्र प्रस्तुत गर्न आईआईडिएसको प्रतिवेदन सफल भएको छ। उक्त सामुदायिक विस्तार, तथापि, बढ्दै गरेको आप्रवासनको चिन्ताजनक प्रवृत्तिको छायामा पर्ने देखिन्छ। आप्रवासनले धेरै नेपालीहरूलाई अवसर सिर्जना गरेको पक्कै छ। सो कुरा प्रतिवेदनले पनि स्विकार गर्दै आप्रवासी समुदायबाट प्राप्त गर्न सकिने रेमिट्यान्सदेखि सीप स्थानान्तरणसम्मका सम्भाव्य लाभहरूमाथि समेत प्रकाश पारेको छ। समग्रमा हेर्दा, चिन्ताजनक आप्रवासन प्रवृत्ति र आप्रवासनले ल्याउन सक्ने रणनीतिक अवसरहरूको सन्तुलन गर्नु पर्ने विरोधाभासमा आज देश उभिएको देखिन्छ।
अधिवक्ता प्रज्ञा ढकालद्वारा अनुवादित
थप सामाग्री पढ्नुहोस
एलपी ग्यासको मूल्य निरन्तर बढिरहेको अवस्थामा खाना पकाउने विद्युतीय प्रविधिको विकल्प कति व्यवहारिक?
यो कथा सन् २०२३ मा गरिएको अन्तरक्रियामा आधारित छ। यसको मूल अंग्रेजी संस्करण...
विश्वका केही सार्वजनिक यातायात प्रणालीहरूको वित्तीय व्यवस्थापन: नेपालका लागि सिकाइका पाठहरू
नेपाल, विशेषगरी नेपालका शहरहरू दिनप्रतिदिन कमजोर सार्वजनिक यातायात प्रणालीको नकारात्मक प्रभावमा पर्दै गएको...
सुख्खा हिउँद: न हिमपात, न वर्षा
गलेश्वर (म्याग्दी), १ फागुन (रासस): हिउँदको समय सकिन अब करिब तीन साता मात्रै...
×