क्रिकेट | नेपाल प्रिमियर लिग | आर्थिक अवसर | सामाजिक भेदभाव | नश्लीय टिप्पणी
हामी नेपाल प्रिमियर लिगको उतरार्धमा छौँ। लिगको पहिलो संस्करणको अन्तिम खेल किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज खेलिँदै छ। (अथवा तपाईंले पढ्ने बेला सम्ममा खेलको नतिजा पनि आइसकेको हुन सक्छ।)
नेपाल क्रिकेट संघको प्रयास सराहनीय मान्नुपर्छ। यसले मैदान वरिपरी आर्थिक गतिविधि पनि बढाएकै हुनुपर्छ — खानेकुरादेखि गालामा मन पर्ने टीमको चित्र बनाइदिने अनि हुटिंग गर्ने स-साना बाजाको मेला।
समयानुक्रमसँगै काठमाडौँ उपत्यकाबाट विकेन्द्रीकृत भइ ‘होम एण्ड अवे’ संरचनामा भरतपुरको गौतमबुद्ध, वीरगंजको नारायणी, धनगढीको फफ्ला, जनकपुरको रामजानकी वा बाह्रबिघा, बिराटनगरको बैजनाथपुरसम्म पुग्ने मैले विश्वास लिएको थिएँ।
आगामी दिनका क्रिकेट सम्बन्धि बहस खेलसम्म मात्र सिमित नभएर पूर्वाधार नपुगेको ठाउँमा अब त सरोकारवालाहरुलाई सशक्त भौतिक एवं व्यवस्थापकीय संरचना ठड्याउन बाध्यकारी बनाउँछ होला नि। स्थानीय बजारहरुलाई पनि व्यापारको लागि गजबको अवसर हुने रहेछ।
एकाध रुटहरु बाहेक काठमाडौँ इतरका सहरहरुबीच हवाई यात्रा उपलब्ध छैन। लिग विकेन्द्रीकृत हुँदै जाँदा जनकपुर-बिराटनगर, सिमरा-भैरहवा, नेपालगंज-बिराटनगर र यस्तै अन्य रुटमा हवाई यात्रा विस्तार होला नि।
क्रिकेट खेलले भारत र पाकिस्तान जस्ता कट्टर राजनैतिक प्रतिद्वन्दीलाई पनि सन् २००८ अगाडीसम्म जोडेकै हो। (सन् २००८ को नोभेम्बर २६ को मुम्बई बम ब्लास्ट [२६/११] पछि भारतीय टोली पाकिस्तानी धर्तीमा खेल्न गएको छैन।)
त्यसैले मलाई व्यक्तिगत रुपमा क्रिकेट सौहार्द र सद्भावको प्रतिक लाग्छ। नेपालमा पनि यस खेलले राष्ट्र निर्माण (नेसन बिल्डिंग) मा नेतृत्वदायी भूमिका नै खेल्न सक्छ कि मनन के गर्दै थिएँ। ‘ब्याक टु स्क्वाएर वन’ भएँ। कारण, जनकपुर बोल्ट्सले फाइनल प्रवेश गरेपछि सामाजिक सञ्जालमा (जसमा त्यहिँ देखिन्छ जे यस समाजको चरित्र हो) — मधेसीप्रति देखिएको जातीय विभेद र नश्लीय टिप्पणीहरू।
कसले के भने, कस्ता कस्ता शब्दहरुबाट ‘राज्याभिषेक’ गरे मैले यहाँ दोहोर्याइरहनु पर्दैन। मिडिया कुराकानीले गरेको रिपोर्टिंगमा सविस्तार भेटाउन सक्नुहुन्छ।
राज्यको उपेक्षाले गर्दा जो सुकै नेपालीले पाउनुपर्ने नागरिकता जस्तो सामान्य कागजात पनि पाउन वर्षौंको पहिचानविहिन जीवन भोग्नुपरेको म मधेसीलाई बल्लतल्ल नेपालप्रति अपनत्व महसुस हुँदै थियो।
कसैले सरकार विरुद्ध, विशेषगरी प्रधानमन्त्री विरुद्ध नै, चुइँक बोल्दा प्रहरी दैलो मै आइपुग्छ। यहाँ एउटा सिंगै समुदायप्रति नै घृणा फैलाउँदा प्रधानमन्त्रीले सम्बोधन गर्नेपर्ने बुझ्छु। प्रतिनिधिसभाका प्रतिनिधिहरु यस बेला मधेसीको प्रतिनिधित्व गर्छन् त? देशको राजनैतिक संरचनाले अपनत्व महसुस गराएन भने मैले वा मजस्तै महसुस गरेको “आधिकारिक” मात्रको नेपाली नागरिकले किन नेपाल राज्यप्रति कुनै विश्वास राख्नु, अतः राज्यलाई मान्नु?
बहस लिगले ल्याएको अनगिन्ती सम्वृद्धिका अवसरहरुबारे हुनुपर्थ्यो, तर बिडम्बना नेपाली समाजले क्रिकेट जस्तो सद्भाव तथा एकता कायम गराउने खेलमार्फत पनि होच्याउन नै रोज्यो।
दर्शकका भिड र उत्साहित भावबाट मोबाइल स्क्रीनमा गुल्ज़ार देखिने किर्तिपुर मैदान सामाजिक सञ्जालका टिप्पणीले खल्लो त बनायो नै, त्यसता खाता पछाडिका निस्फिक्री सामूहिक कुरूपतालाई पनि छर्लङ्गै पार्यो।
विवेक वर्णवालको अधकल्चो विचार वृत्त, संख्या १
थप सामाग्री पढ्नुहोस
काकाकुल वीरगञ्ज, गहिरिँदो पानी संकटको दिगो समाधान छ
दैनिक तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि। यस मनसुनमा अहिलेसम्म पानीको भने नामोनिसान छैन,...
भोटेकोशी बाढी: ९ जनाको मृत्यु, १९ हराए, ठूलो क्षति
नेपालचीन सीमा क्षेत्रको भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले हालसम्म ९ जनाको...
रसुवागढी बाढीले चीनसँगको व्यापारलाई कसरी असर गर्ला?
रसुवागढी भन्सार नाका नेपाल र चीनबीच हुने वैदेशिक व्यापारका लागि एउटा महत्वपुर्ण भन्सार...
×