वातावरण

लामखुट्टेजन्य रोगहरुले ल्याउन सक्छन् भयावह अवस्था

जलवायु परिवर्तनले रोगहरुको तीव्रता बढाउनुका साथै यसको फैलावटलाई बल दिएको छ। तीनवटै तहका सरकारहरूले नियन्त्रण र रोकथाममा देखाएका उदासीनताले पनि जनस्वास्थ्य सङ्कटतिर धकेलेको छ।

By दिब्यक कपाली |

हालैका वर्षहरूमा नेपालमा लामखुट्टेबाट सर्ने विभिन्न रोगहरूको वृद्धिले नेपालको जनस्वास्थ्य परिवेशमा चिन्ता बढाएको छ।

नेपाल सरकारले गत असार सार्वजनिक गरेको जनस्वास्थ्य महत्वका ५२ सरुवा रोगहरूको सूचीमा डेंगु, मलेरिया, जापानीज इन्सेफलाइटिस, यल्लो फिभर र चिकुनगुनियालाई समावेश गरिएको थियो। 

यसबाहेक, डेंगु र मलेरियालाई प्रारम्भिक चेतावनी प्रणालीले संक्रमण फैलिने सम्भावना भएका प्राथमिक ६ वटा रोगहरूको सूचीमा पनि राखेको छ। उक्त प्रणालीले निगरानी गरेर संक्रमणका घटना र मृत्युको तत्कालिक र साप्ताहिक रिपोर्टिङमार्फत प्रारम्भिक संक्रमण पत्ता लगाउँछ।

यस्ता संक्रमणको वृद्धिमा वातावरणीय, अर्थ सामाजिक र जलवायु परिवर्तन जस्ता यावत् कारकहरु रहेका छन्।

बढ्दो डेंगु प्रकोप, यस वर्ष १२ जना मृत्यु

संघीय सरकारको महामारी तयारी, निगरानी तथा नियन्त्रणकालागि जिम्मेवार संस्था, महामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखाको प्रतिवेदन अनुसार अक्टोबर २८ सोमबारसम्म २८,२१२ डेंगुका संक्रमण रिपोर्ट भएका छन्। हाल यस रोगले हुम्लाबाहेकका ७६ वटै जिल्लालाई प्रभावित पारेको छ।

सेप्टेम्बर महिनामा देशभर १०,५९५ संक्रमण रिपोर्ट भएका थिए — जुन वर्षभरिकै सर्वाधिक संख्या हो। अक्टोबरमा हालसम्म ९,६६६ संक्रमण रिपोर्ट भएका छन्।

अहिलेसम्म डेंगुका कारण १२ जनाको मृत्यु भएको छ। गत वर्ष, देशभर ५१,२४३ संक्रमण रिपोर्ट भएको थियो भने २० जनाले ज्यान गुमाएका थिए। सन् २०२२ मा भने ५४,७८४ संक्रमणका घटना र ८८ जनाको मृत्यु गरी हालसम्मको सबैभन्दा घातक वर्षको रुपमा रह्यो।

सन् २००४ मा चितवनमा पहिलो चोटी रिपोर्ट गरिएको थियो — जुन २००४ र २००५ बीचमा रिपोर्ट भएको एक मात्र घटना थियो। त्यसपछिका वर्षहरुमा (२०१६ र २०१७ बाहेक) संक्रमण संख्या एक हजार मुनि नै रह्यो। २०१६ मा १,५२७ संक्रमण भेटिए भने र २०१७ सालमा २,१११ वटा। 

सन् २०१९ पश्चात उक्त संख्या व्हात्तै बढेको छ (२०२० र २०२१ बाहेक सम्भवतः कोभिड महामारीका कारणले)। हालका वर्षहरुमा मृत्यु संख्या घटे पनि विगत तीन वर्षमा वार्षिक संक्रमण २५ हजारभन्दा माथि रहनु जनस्वास्थ्यका लागि अत्यन्त चिनताजनक विषय हो।

स्रोत: महामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखा
 
डेंगु ‘डेनभी’ नामक भाइरसले हुने एक संक्रमण हो जसलाई ‘ब्रेक-बोन फिभर’ पनि भनिन्छ। 

यो भाइरस चार प्रकारको (डेनभी-१, डेनभी-२, डेनभी-३, डेनभी-४) हुन्छ र प्रत्येक प्रकारले मानिसलाई फरक फरक समयमा संक्रमित गर्न सक्छ। शरीरले एक पटक संक्रमण लागेको प्रकारबाट मात्र प्रतिरोधात्मक क्षमता विकास गर्दछ।

डेंगु प्रायः एडीज एजिप्टी वा एडीज एल्बोपिक्टस जातका पोथी लामखुट्टेबाट सर्छ। यस्ता लामखुट्टे प्रायः घरभित्र बास गर्छ, दिउँसाको समयमा बढी सक्रिय हुन्छ तर रातिमा पनि टोक्न सक्छ, र मुख्यतया घना जनसंख्या भएका शहरी क्षेत्रमा बाँच्न सक्छ।

फैलिँदै जापानिज इन्सेफ्लाइटिस, उच्च मृत्यु दर

यस वर्ष जापानिज इन्सेफ्लाइटिसका कारण १५ जिल्लामा २३ जनाले ज्यान गुमाए। देशभरका ३० जिल्लामा फैलिएको यो रोगबाट हालसम्म ८० जना संक्रमित फेला परेका छन्।

गत वर्ष (सन् २०२३ मा) १०७ जनामा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो। त्यस्तै, २०२२ मा ६६; २०२१ मा २८; र २०२० मा २२ जनामा संक्रमण पुष्टि भएको थियो।

संक्रमणका घटनाहरू सामान्यतया प्रत्येक वर्ष मनसुनपछि बढेको देखिन्छ। जुन–जुलाईमा सुरु भएर अगस्टमा उच्च विन्दुमा पुग्छ र अक्टोबरमा कम हुँदै गएको पाइन्छ।

नेपालमा पहिलो पटक सन् १९७८ मा रूपन्देही र मोरङमा महामारीका रूपमा यो रोग रिपोर्ट गरिएको थियो। 

जापानी इन्सेफलाइटिस फ्लाभि भाइरसको कारण हुने भाइरल रोग हो। यो प्राय: ‘क्युलेक्स ट्राईटेनियोरिन्कस’ लामखुट्टेको टोकाइबाट फैलिन्छ। लामखुट्टे बेलुकी र बिहान सक्रिय हुने भएकाले यस समयमा संक्रमणको जोखिम उच्च हुन्छ।

यो रोग संक्रमित चराचुरुंगी र सुँगुरलाई टोक्ने लामखुट्टेमार्फत मानिसमा सर्न सक्छ। पहिलो चरणमा लामखुट्टे चराचुरुंगी र सुँगुरबाट भाइरस लिएर आफू संक्रमित हुन्छ, अनि त्यसपछि मानिसलाई टोकेको अवस्थामा संक्रमण सार्दछ।

घट्दै गएको मलेरिया

सन् १९५० अगाडि नेपालमा हरेक वर्ष लगभग २० लाख मलेरियाका संक्रमण रिपोर्ट गरिन्थ्यो। जसमध्ये अनुमानित १०% संक्रमितको मृत्यु हुन्थ्यो।

सन् २००२ पछि मलेरियाको संक्रमण घट्दै गयो। सन् २००४–२००७ मा लगभग संक्रमित संख्या ५,००० वरिपरी रह्यो भने सन् २०१६ सम्ममा व्हात्तै घटेर १,००९ मा सीमित भयो। 

विश्व मलेरिया प्रतिवेदन, २०२३ अनुसार २०२२ मा ३६ स्थानीय र ४७६ बाह्य औलोका घटनाहरू मात्र रिपोर्ट गरेको छ। यो संख्या सन् २०१० मा रिपोर्ट गरिएका ३,८९४ घटनाहरुभन्दा उल्लेखनीय कमी हो। यसका साथै सन् २०२२ मा पहिलो पटक नेपालमा कुनै स्थानीय मलेरियासँग सम्बन्धित मृत्यु दर्ता गरिएन।

विश्व स्वास्थ्य संगठनले नेपाललाई २०२५ सम्ममा मलेरिया उन्मूलन गर्नसक्ने २५ देशको सूचीमा समावेश गरेको छ। एकतर्फ यो उपलब्धि छ, अर्कोतर्फ भने लामखुट्टेजन्य अन्य रोगहरुको बढ्दो तीव्रता।

चिकनगुनिया 
नेपालमा पहिलोपटक २०१३ मा शुक्रराज ट्रपिकल अस्पतालले तीन जनामा यो रोग पुष्टि गरेको थियो ।

चिकनगुनिया भाइरसका कारण हुने रोग हो, जुन मुख्यत: संक्रमित ‘एडिस एजिप्टी’ लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ।

किन रोगहरु गम्भीर बन्दैछन् ?

डेंगु र जापानिज इन्सेफ्लाइटिस वर्षभरि सर्न सक्ने भएपनि विशेष गरी मनसुनपछिको अवधिमा यसको संक्रमण चरम हुन्छ। बाटा वा खाल्डोमा जमेको वर्षाको पानीले पोथी लामखुट्टेलाई न्यानो र गिलो हावापानीमा अण्डा राख्नको लागि उपयुक्त प्रजनन स्थल बन्छ। भाइरसयुक्त लामखुट्टेहरुको संख्या वृद्धिपछि सङ्क्रमण बढ्नु स्वाभाविक हो।

थप रुपमा, जलवायु परिवर्तन प्रमुख कारकको रूपमा खडा भएको छ।

अन्तरसरकारी जलवायु परिवर्तन प्यानल (आईपीसीसी) को छैठौं मूल्यांकन प्रतिवेदन अनुसार “नेपालका उच्च पहाडी क्षेत्रमा, जलवायु परिवर्तनले मानवलाई संक्रमित गर्ने कीटजन्य रोगहरूको विस्तार गरेकोमा उच्च विश्वसनीयता छ,” जसमा डेंगु, जापानी इन्सेफ्लाइटिस जस्ता भाइरसहरू नेपालका पहाडी र हिमाली क्षेत्रमा देखा परेको उल्लेख गरेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा सन् २०१९ मा गरिएको एक अध्ययनले पनि जलवायु परिवर्तनको प्रभावले डेंगु जस्ता लामखुट्टेजन्य रोगहरूमा प्रभाव पारेको प्रमाण बढ्दै गएको उल्लेख गरेको छ। लामखुट्टेहरू अहिले २,००० मिटरभन्दा माथिको उच्च पहाडहरूमा फेला परेका छन्, जुन पहिले त्यस क्षेत्र थिएनन्।

एक अध्ययनले देखाए अनुसार सन् २०१४ मा न्यूनतम तापक्रममा १ डिग्री सेल्सियस वृद्धि हुँदा धनगढी र मोरङमा मलेरियाका घटनाहरू २७% ले बढेको थियो।

सन् १९६० देखि १९९० वर्षहरूलाई आधार वर्षको रुपमा लिई गरिएको एक अध्ययनले नेपाल दक्षिणी भागमा मलेरियाको संक्रमण अनुकूल देखिएको तर उत्तरतिर जाँदा अनुकूलता घट्दै गएको थियो। यधपी उच्च तापक्रम र वर्षाको संयोजनले लामखुट्टेहरूलाई नयाँ उपयुक्त आवासहरू सिर्जना गर्न मद्दत गरेको छ।  

अध्ययनले २०३० र २०५० सम्ममा उच्च पहाडी क्षेत्रसम्म मलेरियाको अनुकूलता बढ्ने अपेक्षा छ। कर्णाली प्रदेश, सुदूरपश्चिम र कर्णाली प्रदेशको संगम क्षेत्र, बागमती र गण्डकी प्रदेशको उत्तरी भागमा मलेरियाले स्थानीय रूपमा स्थापित सम्भावना छ।

जलवायु परिवर्तनले नयाँ क्षेत्रहरूमा फैलावट ल्याएको भएपनि रोग तीव्रता साथ फैलिनुको पछाडि सरकारी उदासीनता (तीनै तहका) मुख्य कारण हो।

सन् २०२१ मा संघीय सरकारले “राष्ट्रिय अनुकूलन योजना २०२१-२०५०” सुरु गरेको थियो। यस योजनाले जलवायु-संवेदनशील रोगहरूको आपतकालीन तयारी र प्रतिकारका लागि सन् २०३० सम्ममा निगरानी प्रणालीलाई सुदृढ गर्न कूल पचास करोड अमेरिकी डलर बजेट छुट्याएको थियो। तथापि, रोगहरु स्थानीय हुँदै गएको कुराले योजनाको प्रभावकारिताबारे प्रश्न उठाउँछ। 

स्वास्थ्य अधिकारीहरूसँगको समन्वयमा स्थानीय निकायहरूले निगरानी र प्रजनन स्थलहरू नष्ट गर्ने कार्य, प्रारम्भिक किटनाशक छर्कने कार्य, जनचेतना अभियान र संक्रमित लामखुट्टेहरूको अण्डा नष्ट गर्ने अन्य प्रभावकारी नियन्त्रण पहलहरू जस्ता अग्रिम कदम चाल्नुपर्थ्यो। तर, यस्तो नभएको देखिन्छ । 

हालको शहरी पूर्वाधारमा संरचनात्मक समस्याहरू छन्, जसले भेक्टर फैलावटको अनुकूल अवस्था सिर्जना गर्दछ।

बढ्दो जनसंख्याको दबाबले फोहोर व्यवस्थापनमा असक्षमता, कमजोर ढल निकास प्रणाली, अव्यवस्थित भौतिक निर्माण, खराब पानी जम्न सक्ने खाल्डो परेका सडक र सार्वजनिक स्थानहरूलाई सामूहिक रूपमा सहरी वातावरणलाई किटजन्य रोगहरूको प्रजनन स्थल मात्र नभई पानीजन्य रोगहरू पनि तीव्र गतिमा फैलन मद्दत गरेको छ ।

नेपालले किन चिन्ता गर्नुपर्छ?

नेपालको कमजोर जनस्वास्थ्य पूर्वाधार र स्रोतसाधन र कमजोर प्रतिक्रिया क्षमतालाई ध्यानमा राख्दै, विपद्ले छिट्टै नै विनाशकारी मोड लिन सक्छ।

सन् २०२२ मा काठमाडौं उपत्यकामा डेंगुको संक्रमण बढेसँगै प्लेटलेट युक्त प्लाज्मा रगतको तीव्र अभाव भोग्नु परेको थियो। त्यसमाथि नेपालले आगामी दिनहरुमा थप विभिन्न जनस्वास्थ्य सङ्कटहरुको सामना 
गर्नुपर्ने देखिन्छ। जस्तै अत्यन्त गम्भीर रुपमा देखा परेको एन्टिबायोटिक औषधिको प्रतिरोध

शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पतालका अनुसन्धान इकाईका समन्वयक डा. शेरबहादुर पुन काठमाडौँ पोस्टमा प्रकाशित विचार लेखमा भन्छन्, “डेंगु भाइरस झन् जटिल र खतरनाक हुँदै छ, देशमा यसको गति बढ्दै गएको छ।”

रोगको अत्यधिक बोझले नेपालको सामाजिक-आर्थिक परिदृश्यमा गम्भीर असर पुर्‍याउन सक्छ, जुन हालैको अवस्थामा कमजोर छ।

थप सामाग्री पढ्नुहोस

अर्थव्यवस्था

विश्वका केही सार्वजनिक यातायात प्रणालीहरूको वित्तीय व्यवस्थापन: नेपालका लागि सिकाइका पाठहरू

नेपाल, विशेषगरी नेपालका शहरहरू दिनप्रतिदिन कमजोर सार्वजनिक यातायात प्रणालीको नकारात्मक प्रभावमा पर्दै गएको...

अर्थ

वातावरण

सुख्खा हिउँद: न हिमपात, न वर्षा

गलेश्वर (म्याग्दी), १ फागुन (रासस): हिउँदको समय सकिन अब करिब तीन साता मात्रै...

रासस

×

×