कुनैबेला आधुनिक चिकित्सा विज्ञानमा ब्याक्टेरियाबाट मानव शरीरमा हुने संक्रमणसँग लड्ने ‘म्याजिक बुलेट’ मानिएको र लाखौं ज्यान बचाउने ‘चमत्कारी औषधी’ को रूपमा प्रख्यात परिचित एन्टिबायोटिकहरूको प्रभावकारिता पछिल्लो समयमा घट्दै गईरहेको छ।
एन्टिबायोटिकको बढ्दो प्रयोग तथा दुरुपयोग र अन्य कारणहरुले गर्दा विश्वव्यापी रूपमा एक खतरनाक प्रवृत्ति सिर्जना भएको छ: एन्टिमाइक्रोबियल प्रतिरोध। नेपाल पनि यसबाट अछुतो छैन, र यहाँको अवस्था चिन्ताजनक बन्दै गएको छ।
ब्याक्टेरिया, भाइरस, फङ्गस र परजीवीहरू मानव प्रतिरक्षा प्रणालीलाई आक्रमण गर्ने सूक्ष्मजीवहरूमध्ये पर्छन्। यी सूक्ष्मजीवहरूले गर्दा हुने संक्रमणहरूको उपचारका लागि क्रमसः एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफङ्गल, र एन्टीप्यारासिटिक औषधीहरू प्रयोग गरिन्छ। तर यी सूक्ष्मजीवहरू समयसँगै ती औषधीविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्छन्, जसलाई समग्रमा एण्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) भनिन्छ।
माथि उल्लेखित औषधिहरुमध्ये यस्तो प्रतिरोधात्मकता एन्टिबायोटिक औषधिविरुद्ध भन्दा कम सामान्य भएकाले एन्टिबायोटिक प्रतिरोध (एबिआर) लाई एण्टिमाइक्रोबियल प्रतिरोधको एक प्रमुख रूप मानिन्छ।
तथ्यांकअनुसार नेपालमा सन् २०१९ मा मात्रै ६,४०० जनाको मृत्युको प्रत्यक्ष कारण एएमआर थियो, र थप २३,२०० मृत्युहरू पनि योसँगै सम्बन्धित थिए। यो संख्या नियोप्लास्म, क्षयरोग, श्वसन संक्रमण, आन्द्रा/पेटसम्बन्धी रोगहरू, गर्भवती र नवजात अवस्था, मधुमेह र मृगौला रोगहरूका कारणले हुने मृत्युहरु भन्दा धेरै हो।
जुन हदसम्म यसको प्रभाव देखिएको छ, त्यसले जनस्वास्थ्य, चिकित्सा उपचारको प्रभावकारिता र समग्र देशको स्वास्थ्य प्रणालीलाई नै ठूलो जोखिममा पार्न सक्छ। स्वास्थ्य विशेषज्ञहरूले यसलाई ‘मौन महामारी’ को नाम दिएका छन्।
सन् २०२१ मा विश्वभरि ४७.१ लाख मृत्युहरू ब्याक्टेरियल प्रतिरोधसँग सम्बन्धित थिए, जसमध्ये ११.४ लाख प्रत्यक्ष रुपमा यसैको कारणले भएका थिए।
एन्टिबायोटिक प्रतिरोध (एबिआर) कसरी हुन्छ?
एबिआर तोकिएको अवधिभन्दा लामो समयसम्म एन्टिबायोटिकको प्रयोग गरिँदा ब्याक्टेरियाहरू आफ्नो जीनहरू परिवर्तन गर्दै औषधिको प्रभावसँग अनुकूलित हुन्छन्। यति मात्र नभएर ‘सुपरबग’ भनिने यस्ता प्रतिरोधी सूक्ष्मजीवहरूको सन्तानमा समेत ती परिवर्तित प्रतिरोधी जीनहरू पुस्तान्तरण गर्छन्।
उच्च प्रतिरोध भएमा एन्टिबायोटिक संक्रमणको उपचार र रोकथाम गर्न असफल हुन्छ, र यस्ता संक्रमणहरुको उपचार कालान्तरमा निकै महँगो हुन जानुका साथै गम्भीर र अथाम्य रोगहरू निम्त्याउने हुन्छन्। अन्ततः यी मृत्युकै कारण पनि बन्न सक्छन्।
एन्टिबायोटिक ब्याक्टेरियल संक्रमणको उपचार र रोकथामका लागि प्रयोग गरिन्छ। यिनीहरुले या त ब्याक्टेरिया मार्ने या त तिनीहरुको वृद्धि रोक्ने गर्छन्। यद्यपि, सबै एन्टिबायोटिकहरू सबै प्रकारका ब्याक्टेरियाउपर प्रभावकारी हुँदैनन्।
एन्टिबायोटिकले लक्षित गर्ने कुनै विशेष अंश यदि ब्याक्टेरियामा छैन भने स्वाभाविक रूपमा त्यो औषधी प्रभावकारी हुँदैन।
संसारकै पहिलो एन्टीबायोटिक आर्सफेनामिन (सलभर्सन भनेर पनि चिनिने) सन् १९१० मा पत्ता लगाईएको थियो र यो सिफिलिसको उपचार गर्नमा प्रयोग गरिन्थ्यो।
सन् १९२८ मा पेनीसिलिन र कालान्तरमा थुप्रै अन्य एन्टिबायोटिकहरूको खोजपछि उक्त औषधिको निमित्त ‘सुनौलो युग’ (१९३०-१९६०) सुरु भएको थियो। चिकित्सा क्षेत्रमा एन्टिबायोटिक ठूलो सफलता हो जसले सङ्क्रमणजन्य रोगहरूको उपचार मात्र नभएर क्यान्सरको उपचार, अंग प्रत्यारोपण र शल्यक्रिया जस्ता आधुनिक चिकित्सा पनि सम्भव बनाएको छ।
मे २०२४ मा विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको मुख्य एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाहरूको नयाँ सूचीमा १५ परिवारका २४ प्रकारका प्याथोजेन (रोग गराउने सूक्ष्मजीवहरू) समावेश छन्। यसमा २०१७ मा पहिलोपल्ट प्रकाशन गरिएको सूचीमा उल्लेखित १२ परिवारका १७ प्याथोजेनहरू भन्दा थप सात नयाँ प्याथोजेनहरु समावेश गरिएको हो।
यी बढ्दो प्रतिरोधी ब्याक्टेरियाहरूको उपचारको कुरा गर्ने हो भने हालसालै पाइपलाईनमा रहेका नयाँ एन्टिबायोटिकहरुको एक समिक्षाले मात्र २७ एन्टिबायोटिक क्लिनिकल (चिकित्सिय) विकासको प्रक्रियामा रहेको खुलाएको छ, जुन विश्व स्वास्थ्य संगठनले गम्भीर मानेको दुइ प्याथोजेनलाई लक्षित छ। यसबाहेक २०१७ देखि २०२१ सम्म पनि मात्र १२ नयाँ एन्टिबायोटिक स्वीकृत भए।
दुई हप्ता अघि विश्व स्वास्थ्य संगठनको एन्टिमाइक्रोबियल प्रतिरोध विभागका टोलि प्रमुख डा भ्यालेरिया गिगान्टेको लिङ्कड ईन एकाउन्टमा गरिएको एक पोस्ट अनुसार कुनै एउटा नयाँ एन्टिबायोटिक विकास गर्न १० वर्ष र करिबकरिब एक अर्ब २० करोड डलरको लगानी आवश्यक पर्ने, तर बजारमा पुगेको २ वर्षमै औषधिमा भने प्रतिरोधात्मकता देखापर्ने गर्दछ।
यिनै कारणहरूले गर्दा स्वास्थ्य विशेषज्ञहरूले संसार अब एन्टिबायोटिक प्रभावकारी नरहने ‘पोस्ट-एन्टिबायोटिक’ युगमा प्रवेश गरिसकेको चेतावनी दिइरहेका छन्।
विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक प्रतिरोधलाई विश्व स्वास्थ्यको सबैभन्दा ठूलो खतरा भनेर वर्णन गरेको छ। यसबाहेक, दक्षिण एशिया, र विशेषगरी भारत एन्टिबायोटिक अत्याधिक प्रयोग हुने क्षेत्रको “केन्द्रबिन्दु” भनिँदै आएको छ।
दक्षिण एशिया क्षेत्रमा सन् २०२५ देखि २०५० सम्म यसबाट एक करोड १८ लाख मृत्यु हुने पूर्वानुमान गरिएको छ — जसको अर्थ नेपालले पनि यसका गम्भीर परिणामहरूको सामना गर्नुपर्ने हुनेछ।
अध्ययनहरुले नेपालमा अवस्था नाजुक रहेको देखाउँछन्
सन् २००८ देखि गरिएका थुप्रै अध्ययनहरूले नेपालीहरूमा विविध दरहरुमा मुख्यत: एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाहरू उच्च परिणाममा रहेको देखाएका छन्।
सन् २०२१ मा पाटन अस्पतालका स्टेफाईलोकोकस औरियसबाट संक्रमित १,८०४ बिरामीहरूको इलेक्ट्रोनिक र कागजी रेकर्डको अध्ययन गर्दा तीमध्ये ५७% मा मेथिसिलिन-प्रतिरोधी स्टेफाईलोकोकस औरियस (एमआरएसए) ब्याक्टेरिया पाइएको थियो।
स्टेफाईलोकोकस औरियस मानिसको छालामा हुने एक सामान्य ब्याक्टेरिया हो जसले छाला, घाउ, रगत, मूत्राशय (युरिनेरी) र श्वसनमा उपचारै गर्न कठिन हुने संक्रमण गराउन सक्छ।
अस्पताल र दीर्घकालीन हेरचाह केन्द्रहरुमा तीव्र रूपमा फैलने यसैको एक स्ट्रेनले सामान्य रूपमा प्रयोग हुने एन्टिबायोटिकहरू विरुद्धको प्रतिरोध यति बढाइसकेको छ कि यसलाई एमआरएसए को रूपमा वर्गीकृत गरिएको छ। र यो विश्वभरि अधिक संख्यामा मृत्युहरुसँग सम्बन्धित रहेको छ।
यसअघि, २००८ मा पोखरामा गरिएको एक अध्ययनले जाँच गर्दा १५ वर्ष मुनिका विद्यालयका बच्चाहरूमा एमआरएसए उच्च दरमा रहेको खुलाएको थियो (५६.१४%, स्याम्पल संख्या = ५७) र अस्पतालमा भर्ना भएका बिरामीहरूमा (७५.५६%, स्याम्पल संख्या = ४५) पाएको थियो।
यसैगरी, २०१८ मा शहीद गंगालाल राष्ट्रिय मुटु केन्द्रको एक अध्ययनले अस्पतालमा भर्ना भएका र ओपिडि बिरामीहरुको ९२ स्याम्पलहरुमध्ये ८४ (९१.३%) मल्टी-एन्टिबायोटिक प्रतिरोधी भएको भेट्यो।
यीमध्ये एस्केरीकिया कोलि र क्लेबसिएला निमोनी नामक ब्याक्टेरिया प्रमुख रूपमा प्रतिरोधात्मक थिए। विश्व स्वास्थ्य संगठन प्रकाशित सुचीमा अत्यन्तै एन्टिबायोटिक प्रतिरोधात्मक मानिएका यी दुबै सामान्यतया मानव आँतमा हुन्छन् र गम्भीर किसिमका मूत्राशय, रक्तप्रवाह, पेट र श्वसन संक्रमण गराउन सक्छन्।
उही वर्ष बिएण्डबि अस्पतालमा गरिएको एक अध्ययनले सामान्यत: प्रयोग गरिने सबै एन्टिबायोटिकहरू विरुद्ध उच्च प्रतिरोधात्मकता रहेको खुलेको थियो।
यस्तै, सन् २०१९ मा त्रिवि शिक्षण अस्पतालका १,८६५ मूत्राशय संक्रमण (युरिनेरी ट्रयाक्ट इन्फेक्सन) भएका बिरामीका स्याम्पलहरूको क्रस-सेक्शन सर्वेक्षणमा ५३.६% मा विभिन्न एन्टिबायोटिकविरुद्ध प्रतिरोध क्षमता रहेको पाइएको थियो, जसमध्ये ८४.३% कम्तीमा पनि एउटा एन्टिबायोटिक-प्रतिरोधी थिए। यहाँ पनि एस्केरीकिया कोलि र क्लेबसिएला निमोनी सबैभन्दा प्रतिरोधी ब्याक्टेरियाका रूपमा देखिएका थिए।
२०२३ मा मनमोहन अस्पतालमा गरिएको एक क्रस-सेक्शनल सर्वेक्षणले पनि समान नतिजा दिएको थियो। जाँच गरिएका अधिकांश एन्टिबायोटिक अप्रभावकारी देखा परे र सबैभन्दा प्रतिरोधी ब्याक्टेरिया एस्केरीकिया कोलि, र त्यसपछि क्रमश: साल्मोनेला टाईफि, स्टेफाईलोकोकस औरियस, र क्लेबसिएला निमोनी थिए।
राष्ट्रिय ट्रॉमा केन्द्रमा शल्यक्रिया स्थलको संक्रमणबाट पीडित बिरामीहरूमा गरिएको हालै प्रकाशित एक अध्ययनले विभिन्न नियमित एन्टिबायोटिकहरू असरदार नरहेको पाएको छ। एनटेरोबेक्टेरालेस, जसमा एस्केरीकिया कोलि पनि पर्छ, धेरै किसिमका एन्टिबायोटिक प्रतिरोधी रहेको देखिएको छ। पेनिसिलिन जस्ता प्रथम चरणका एन्टिबायोटिकको प्रभावकारिता सबैभन्दा कम रहेको पाईएको थियो भने अझ शक्तिशाली एन्टिबायोटिकहरुक प्रभावकारिता अलि उच्च रहेको पाईयो।
बढ्दो प्रतिरोधको कारण के हो?
“एन्टिबायोटिकको पहिलो नियम भनेको यसलाई सकेसम्म प्रयोग नगर्नु हो, र दोस्रो भनेको धेरै किसिमको प्रयोग नगर्नु हो,” एक आईसियु गाइड भन्छन्। यी औषधिहरुको अनियन्त्रित प्रयोग नै बढ्दो प्रतिरोधको प्रमुख कारण रहेको कुरामा धेरै विज्ञहरु सहमत छन्।
“नेपालमा एन्टिबायोटिक प्रतिरोधको मुख्य कारणहरु भने यिनीहरुको अत्याधिक प्रयोग र दुरुपयोग, जनचेतनाको कमी र शैक्षिक अभाव, अस्पतालमा हुने गलत अभ्यास, र विकास अनि रोग रोकथामका निम्ति पशुहरुमा प्रयोग गरिनु हुन्," माइक्रोब नोट्सका संस्थापक र माइक्रोबायोलोजिस्ट सागर अर्याल स्पष्ट पार्छन्।
एक प्रमुख चिन्ताजनक विषय भने स्वास्थ्यकर्मीहरूले लापरवाह तवरले औषधि लेखिदिनु हो। धेरैजसो बिरामीहरूलाई जीवाणु संक्रमणको पुष्टि वा संवेदनशीलता परीक्षण नगरी एकैपटक धेरै एन्टिबायोटिकको अनावश्यक प्रेस्क्रिपसन दिने गरिन्छ — रुघा, खोकी, र पखाला जस्ता एन्टिबायोटिक आवश्यक नभएका बिमारीलाई समेत।
२०१९ मा गरिएको एक अध्ययनमा चिकित्सकहरूले औषधि सूचीको मापदण्ड पालना नगरेको, धेरै एन्टिबायोटिक लेखिदिएको र सामान्य औषधिहरूभन्दा ब्रान्डेड औषधिलाई प्राथमिकता दिएको पाईएको थियो। काठमाण्डौ उपत्यकाका सार्वजनिक अस्पतालहरूमा स्नातक अनुसन्धान गरेका सेन्ट जेभियर्स कलेजका विद्यार्थीहरूले कमिसनको प्रभावमा ब्रान्डहरूको औषधि लेख्ने प्रवृत्ति उच्च रहेको पाएका थिए। नेपालभरि नै यस्तो अभ्यास विद्यमान रहेको धेरैको विश्वास छ।
यसैमा चिकित्सकहरूले एकैपल्ट धेरै औषधिहरु लेख्ने गरेको पनि खुलेको थियो। यी सबैले गर्दा खर्च बढ्ने, एन्टिबायोटिक प्रतिरोध बढ्ने, र बिरामीहरूको स्वास्थ्य नै जोखिममा पर्ने हुन्छ।
इनटेनसिव केयर युनिट (आईसीयु) मा समेत एन्टिबायोटिक्सको अव्यवस्थित प्रयोग हुने समस्या देखिएको छ। हालसालैको एक सर्वेक्षणमा चिकित्सकहरुद्वारा लेखिएको प्रेसक्रिप्सनमध्ये १४.३७% मा मात्र स्पष्ट डोज निर्दिष्ट गरिएको पाईएको थियो, र २७.५% मात्र उपचार निर्देशिका अनुरुप थिए।
कुल स्याम्पल मध्येबाट ६१.१% नमूनामा संक्रमण पुष्टि गर्न प्रयोगशालामा पठाउँदा २६.७८% मा मात्र संक्रमण पाइएको थियो। यसबाट धेरै बिरामीहरूले आवश्यक नभए पनि एन्टिबायोटिक्स खाएको बुझ्न सकिन्छ।
त्रिभुवन विश्वविद्यालयका सूक्ष्म जीव विज्ञानका सहायक प्राध्यापक डा मेघ राज बन्जारा यसबारे भन्छन्, “एन्टिबायोटिकहरूको प्रभावकारिता जोगाउँदै प्रतिरोध कम हुनेगरी यस्ता औषधिहरु जिम्मेवारीपूर्वक लेखिने सुनिश्चित गर्न चिकित्सक र अनुसन्धानकर्ता मिलेर काम गर्नु आवश्यक छ।”
बढ्दो प्रतिरोधको अर्को मुख्य कारक स्व-औषधोपान वा सेल्फ-मेडीकेसन हो। पेनीसिलिनको खोजकर्ता एलेक्जेण्डर फ्लेमिङ्गले ७९ वर्ष पहिले नै मौखिक/चक्की रूपमा एन्टिबायोटिकको प्रयोगले “स्व-औषधोपान र यसको दुरुपयोग निम्त्याउने” भनेका थिए। यो भविष्यवाणी अब साँचो हुँदै गएको देखिन्छ।
नेपालमा ३०% देखि ६०% जनसंख्याले स्व-औषधोपान गर्छन्। औषधि पसलले सजिलै उपलब्ध गराउने औषधिहरु (ओभर-द-काउन्टर) पाईने भएकाले यसो गर्न सहज भएको हो। २०२१ मा काठमाडौँ महानगरपालिकाको नौवटा वडामा गरिएको एक अध्ययनमा ७८% मानिसहरूले मुख्यतया सामान्य चिसो, टाउको दुखाई, ज्वरो र खोकीको लागि स्व-औषधोपान गर्ने गरेको पाईएको थियो।
यसैगरी, २०२० मा पूर्वी नेपालको ३१२ सामुदायिक फार्मेसीहरूमा गरिएको एक सर्वेक्षणमा तीमध्ये लगभग ३५% ले प्रिस्क्रिप्शन बिना एन्टिबायोटिकहरू दिएको खुलेको थियो। यसले पनि स्व-औषधोपानको समस्या देखाउँछ।
सामान्यतया प्रयोग हुने ओभर-द-काउन्टर एन्टिबायोटिकहरूमा सेफिक्सिम, सेफपोडोक्सिम, एमोक्सिसिलिन, अफ्लोक्सेसिन, क्लोट्रिमाजोल र मेट्रोनिडाजोल पर्दछन्।
यस्ता गैरजिम्मेवार प्रयोगको मुख्य कारण एन्टिबायोटिकहरूको सही प्रयोग र यसको दुरुपयोगका हानिहरूको बारेमा बुझाइको अभाव हो।
आठवटा जिल्लामा गरिएको एक क्रस-सेक्शनल सर्वेक्षणमा चिकित्सक, निजी औषधि विक्रेता, बिरामी, प्रयोगशाला, सार्वजनिक स्वास्थ्य केन्द्र/अस्पताल र पशुपालन गर्ने किसानहरूको अन्तर्वार्ता गरिएको थियो। यीमध्ये ८४% उत्तरदाताहरू (स्याम्पल संख्या = ५१६) एन्टिबायोटिक प्रतिरोधको बारेमा अनजान रहेको पाइयो।
एक-तिहाइ उत्तरदाताहरूले एन्टिबायोटिकले फ्लू, मीजल्स (दादुरा), र अझ एचआईभी एड्स जस्ता भाइरसजन्य रोगहरू उपचार गर्ने भनेका थिए। अर्कोतर्फ भने अन्य खोजहरुले प्रायजसो फार्मेसीस्टले (७६.९%) प्रिस्क्रिप्शन बिना एन्टिबायोटिक दिने गर्नु गलत भएको, र लगभग २७% ले यसलाई गैरकानूनी मानेको देखाउँछन्।
पूर्वी नेपालमा २०१८ मा गरिएको अर्को अध्ययनले भने ८१.८४% उत्तरदाताहरू एन्टिबायोटिक प्रतिरोधको बारेमा अनजान रहेको, र ९४.६४% ले एन्टिबायोटिकको गलत प्रयोग गरेका देखाएको छ। विशेषगरि कपिलवस्तु नगरपालिकाका केही व्यक्तिहरुलाई ‘एन्टिबायोटिक’ भन्ने शब्द नै थाहा नभएको तर यसको अत्यधिक प्रयोग गर्ने गरेको खुलाएको थियो। यसले देशभरिका क्षेत्रीय, जातीय, र शैक्षिक पृष्ठभूमि र अन्य भिन्नताका आधारमा उत्पन्न हुने चुनौतीहरूबारे संकेत दिन्छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का स्वास्थ्य अनुसन्धान प्रमुख डा मेघनाथ धिमाल भन्छन्, “लगभग एक-तिहाइ बाह्य बिरामीहरु (आउटपेसेन्ट) प्रिस्क्रिप्शन बिना एन्टिबायोटिक किन्छन्, र एक-चौथाइले निर्धारित कोर्स (डोज) पूरा गर्दैनन्। विश्व स्वास्थ्य संगठनका संकेतकले प्रेस्क्राइब गरिने सबै औषधिहरुमध्ये ३७.८% एन्टिबायोटिक हुने गरेको देखाउँछ।”
अधिकांश बिरामीहरू स्वास्थ्य स्थिति सुधार हुनसाथ औषधि सेवन रोक्छन् र तिनै औषधिहरूलाई बिना चिकित्सकीय सल्लाह आफ्ना साथी र परिवारका सदस्यहरूलाई सिफारिस गर्ने गरेको विशेषज्ञहरू बताउँछन्।
संक्रमण रोकथाम र नियन्त्रणका अभ्यासहरू अपर्याप्त हुँदा र स्वास्थ्य सेवा गुणस्तरीय नहुँदा अस्पतालहरु आँफै उच्च प्रतिरोधी ब्याक्टेरिया जन्माउने क्षेत्र बन्न सक्छन्। यस्तो अवस्थामा औषधि लिई घर फर्कने बिरामीहरूको आफ्नो परिवारका सदस्यहरूसँग हुने प्रत्यक्ष सम्पर्कले गर्दा प्रतिरोधी ब्याक्टेरिया सर्न सक्ने ठूलो जोखिम रहन्छ।
अझ गम्भीर कुरा के भने, वातावरणमा रहेका तटस्थ (न्यूट्रल) ब्याक्टेरियाले पनि प्रतिरोधी जीनहरू विकास/प्राप्त गर्न सक्छ जसले गर्दा एन्टिबायोटिक प्रतिरोध अझ फैलिने हुन्छ। परिप्रेक्ष्यमा हेर्ने हो भने नेपालका अधिकांश स्वास्थ्यसेवा प्रदायक संस्थाहरुले आफ्नो खतरनाक चिकित्सकीय फोहोरलाई “ट्रिट” (निष्क्रिय) नगरी फोहोरसँग मिसाउने गर्छन्।
नेपालमा अधिकांश अध्ययनहरू भने तृतीयक (टरसियरी) स्वास्थ्यसेवा संस्थानमा मात्र सीमित रहेको हुनाले एन्टिबायोटिक प्रतिरोध सँगसँगै समग्र सूक्ष्मजीव प्रतिरोधको व्यापकता र वास्तविक अवस्था निर्धारण गर्नका लागि पर्याप्त तथ्य-तथ्यांक छैन।
हामीले खाने खानेकुरामा एन्टिबायोटिक अवशेषहरू
नेपालमा प्रति व्यक्ति मासुको खपत बढिरहेको अवस्थामा धेरै अध्ययनहरूले नेपालमा पोल्ट्री मासुमा उच्च मात्रामा एन्टिबायोटिक अवशेषहरू रहेको देखाएका छन्।
नेपाल कमर्सिअल पोल्ट्री सर्वेक्षण (२०१४-१५) का अनुसार एक औसत नेपालीले प्रति वर्ष ४.१ किलोग्राम कुखुराको मासु खान्थे भने २०२१ सम्ममा यो बढेर ७.५७ किलोग्राम पुगेको थियो। खाद्य उत्पादन गर्ने जनावरलाई संक्रमणबाट बचाउन र तिनीहरूको द्रुत विकासका लागि पशुचिकित्सा एन्टिबायोटिकहरूको प्रयोग गरिँदा अवशेषहरू रहने सम्भावना हुन्छ।
२०२१ मा गरिएको एक अध्ययनबाट प्रति फार्म एक लाखभन्दा धेरै कुखुरा पालेका नेपालका ३० ठूला पोल्ट्री फार्ममध्ये ९०% ले एन्टिबायोटिकहरू प्रयोग गरेको पत्ता लागेको थियो। प्रयोग गरिएका एन्टिबायोटिकहरुमध्ये ‘कोलिस्टिन’ नामक औषधि — जुन मानिसहरुमा बहु-औषधि प्रतिरोधी (मल्टीड्रग रेसिस्टेन्स) संक्रमण हुँदा अन्तिम विकल्पका रूपमा प्रयोग गरिने औषधि हो — अत्याधिक दुरुपयोग हुने गरेको देखियो। चारोमा कोलिस्टिनको प्रयोगलाई २०१६ मै देशभरी प्रतिबन्ध गरिएको थियो।
डा बन्जाराले यसलाई देशमा बढ्दो प्रतिरोधको प्रमुख कारक मान्छन्।
“दक्षिणी सीमा क्षेत्र खुला भएकाले किसानहरू नेपालमा प्रतिबन्धित एन्टिबायोटिकहरू सजिलै सिमापारी पाउन सक्छन्,” बन्जारा बुझाउँछन्, “यी औषधि प्रायः अन्धाधुन्ध प्रयोग गरिने भएर पशुहरुमा यसको अवशेषहरू रहन जान्छ।”
यी औषधिहरु मृगौला र नसालाई हानि पुर्याउन, गम्भीर एलर्जी, छाला झनझनी, दौरा पर्नु, श्वासप्रश्वासमा कठिनाई, र पुराना संक्रमणउपर थप नयाँ संक्रमणहरु उत्पन्न हुनेजस्ता नकरात्मक प्रतिक्रियासँग सम्बन्ध रहेको देखिन्छ।
अर्को अध्ययनले कैलाली र काभ्रे जिल्लामा लिइएको मासुको नमुनामध्ये २२% मा एन्टिबायोटिक अवशेषहरू रहेको पत्ता लगाएको थियो। त्यहाँबाट लिइएका ५५ मासु नमूनाहरू (मांसपेसी र कलेजो): पोल्ट्री (४१), बाख्रा (१२), भैँसी (९), र सुँगुर (४), प्रत्येकलाई विभिन्न समूहका एन्टिबायोटिक अवशेषहरूका लागि बेग्ला-बेग्लै परीक्षण गरिएको थियो।
पोल्ट्री बाहेकका मासुहरुको खपत बढिरहेको भएपनि तिनीहरुमा भने एन्टिबायोटिक अवशेषहरूको अनुगमन सीमित छ।
केही अध्ययनहरूले ताजा दूधमा पनि पशुचिकित्सा मापदण्डले तोकेको सीमा भन्दा बढी मात्रामा एन्टिबायोटिक अवशेषहरू रहेको देखाएका छन्।
यद्यपि, अन्य अध्ययनहरूले अर्कै चित्र प्रस्तुत गर्छन्।
२०२२ मा गरिएको एक अध्ययनमा १४ जिल्लाका कुल ९३५ दूधका नमूनाहरू जाँच गर्दा केवल १.६% मा एन्टिब्याक्टेरियल अवशेष रहेको देखाएको थियो। अन्य अध्ययनहरूले भने यसभन्दा उच्च मात्रामा अवशेष रहेको पाएका छन्।
२०१७ मा काठमाडौंबाट १४० गाईको ताजा दूध परीक्षणमा परीक्षण गरिएका सबै एन्टिबायोटिकहरू (एमोक्सिसिलिन, सल्फाडिमेथोक्सिन, पेनिसिलिन, र एमपिसिलिन) तोकिएको अधिकतम अवशेष सीमाभन्दा उच्च रहेको पाइयो।
२०१९ मा काभ्रेपलान्चोक जिल्लाका बनेपा र पनौतीका सामुदायिक डेरीहरूबाट लिइएका १६८ दूध नमूनाहरूको परीक्षणमा विभिन्न एन्टिबायोटिक अवशेषहरू रहेको पाइएको थियो, जसमध्ये सल्फोनामाइडले राष्ट्रिय सीमा नाघेको थियो।
के नेपाल प्रतिरोधलाई उचित ढंगले सामना गरिरहेको छ?
“एएमआर निगरानी पूर्वाधारको कमी लगायतका कारणले गर्दा नेपालमा एन्टिमाईक्रोबियल प्रतिरोधको उल्लेखनिय समस्या रहेको छ,” सेन्टर फर मोलिक्यूलर डाईन्यामिक्स नेपालका (सिडिएमएन) कार्यकारी निर्देशक एवं अध्यक्ष डा दिबेश कर्माचार्य बताउँछन्।
एएमआरको सामना गर्नको लागि निगरानी गरिनु महत्वपूर्ण छ। नेपालमा भने यो सन् १९९९ बाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा हुन थालिएको हो। तर अहिलेसम्म भएका अध्ययनहरू अझै पनि अपुग छन् र प्रायः तृतीयक अस्पतालहरूमा सीमित भएकाले यी अध्ययनहरुले समग्र देशका प्रवृत्तिहरूको पूर्णरुपले प्रतिनिधित्व गर्दैन। यसैगरी, स्वास्थ्य सुविधा सर्वेक्षण (एनएचएफएस २०२१) ले नेपालमा लगभग पाँच मध्ये एक (२३%) स्वास्थ्य संस्थाहरूले मात्र क्षयरोग निदान सेवाहरू प्रदान गर्ने देखाएको छ।
आर्यालले पनि यस्तै भन्छन्:
“सरकार र निजी क्षेत्रले प्रयोगशाला सुविधामा लगानी र राष्ट्रिय अनुसन्धान सञ्चालन गरी निदान क्षमतामा सुधार ल्याउनुपर्छ।”
सार्वजनिक स्वास्थ्य संकटको आसन्न जोखिमबारे चिन्ता बढिरहेको बेला नेपालले हालै एन्टिमाईक्रोबियल प्रतिरोधसम्बन्धी राष्ट्रिय कार्य योजना (२०२४-२०२८) लागू गरेको छ, जसको पाँच वर्षको बजेट चार अर्ब ५९ करोड रुपैयाँ अनुमान रहेको छ।
यस कार्ययोजनाले पाँच प्राथमिकताहरू पहिचान गरेको छ: जनचेतना, निगरानी, संक्रमण घटाउनु, एन्टिबायोटिकहरूको उपयोगको अनुकूलन, र दीगो स्रोतहरूमा पहुँच।
यसअघि, नेपालले एन्टिमाईक्रोबियल प्रतिरोधको विरुद्धमा विभिन्न कानूनी कदमहरु चालेको छ। यसमा विभिन्न प्रतिबन्धहरु, र २०१४ मा लागू र २०२३ मा अद्यावधिक गरिएको राष्ट्रिय एन्टिमाईक्रोबियल उपचार निर्देशिका पर्दछन्। यी निर्देशिकाहरू चिकित्सकहरूलाई सही एन्टिबायोटिक र डोज निर्धारण गर्न मार्गदर्शन गर्ने उद्देश्यले बनाइएका थिए। यस्तै, एन्टिमाईक्रोबियल प्रतिरोध सम्बोधन गर्ने अन्य थुप्रै कागजी प्रतिबद्धताहरू पनि यसमा छन्।
यस्ता पहलहरूका बाबजुद चुनौतीहरू अझै कायमै छन्, जस्तै: पशु र कृषि क्षेत्रहरूमा निगरानीसम्बन्धि अपर्याप्त तथ्यांक, कानुन र नियमहरूको कार्यान्वयनमा कमजोरी, र सीमित जनचेतना।
त्यसैले हालसम्मका परिणामहरू निराशाजनक रहेका छन्।
सार्वजनिक स्वास्थ्य सेवा ऐन २०१८ ले मेडिकल प्रिस्क्रिप्शनबिना एन्टिबायोटिक बिक्री वा वितरणमा प्रतिबन्ध लगाएको छ र उपभोग्य वस्तुहरू, खाना र मासुको गुणस्तर मापदण्ड कायम गर्न अनिवार्य गरेको छ। त्यसैगरी हालसालै संघीय औषधि व्यवस्था विभागले स्व-औषधोपान रोक्न एन्टिबायोटिक प्याकेजिङमा चेतावनी दिन रातो रेखा अनिवार्य गरेको छ।
तर यी दुवै पहलहरु प्रभावकारी सावित भएका छैनन्।
उदाहरणका लागि, अर्थले काठमाडौँका सात फार्मेसीमा गरेको सर्वेक्षणमा कुनै पनि फार्मेसीले एन्टिबायोटिक माग्दा प्रिस्क्रिप्शन मागेका थिएनन्।
त्यस्तै, ३० ठूला पोल्ट्री फार्ममध्ये ९०% फार्मले केहि प्रतिबन्धित र अन्य एन्टिबायोटिक प्रयोग गरिरहेको तथ्यले यो प्रचलनको व्यापकता देखाउँछ। यो अध्ययन २०१८ को ऐन लागू भएको तीन वर्षपछि गरिएको थियो।
नियम र प्रतिबन्ध ल्याइएपनि साना किसानहरूमा अभ्यासहरू सूचित परिवर्तन गर्न चेतनाको कमी, र यसका साथै नाफामुखी प्रेरकहरुका कारण अवस्था परिवर्तनमा अवरोध पुग्ने सम्भावना रहिरहन्छ।
यसबाहेक, आँफैमा प्यकेजिङ्ग डिजाइनसँग झुक्किन सकिने एन्टिबायोटिक प्याकेजिङमा ‘रातो रेखा’ जस्ता मापदण्डहरूमा मात्र भरपर्दा अर्थपूर्ण व्यवहारिक परिवर्तन गर्न सकिने कुरा अवास्तविक छ।
यी समस्याले एक महत्वपूर्ण प्रश्न उठाउँछ: एएमआरको मानव, पशु, वनस्पति, र वातावरणीय स्वास्थ्यमा पर्ने प्रभावलाई सम्बोधन गर्ने समग्र ‘वान हेल्थ’ दृष्टिकोणमा आधारित राष्ट्रिय कार्य योजना सफल होला त?
अनुवाद: लोकेश अधिकारी; प्रतिलिपि सम्पादन: विवेक वर्णवाल
थप सामाग्री पढ्नुहोस
एलपी ग्यासको मूल्य निरन्तर बढिरहेको अवस्थामा खाना पकाउने विद्युतीय प्रविधिको विकल्प कति व्यवहारिक?
यो कथा सन् २०२३ मा गरिएको अन्तरक्रियामा आधारित छ। यसको मूल अंग्रेजी संस्करण...
विश्वका केही सार्वजनिक यातायात प्रणालीहरूको वित्तीय व्यवस्थापन: नेपालका लागि सिकाइका पाठहरू
नेपाल, विशेषगरी नेपालका शहरहरू दिनप्रतिदिन कमजोर सार्वजनिक यातायात प्रणालीको नकारात्मक प्रभावमा पर्दै गएको...
सुख्खा हिउँद: न हिमपात, न वर्षा
गलेश्वर (म्याग्दी), १ फागुन (रासस): हिउँदको समय सकिन अब करिब तीन साता मात्रै...
×