नेपाल–चीन सीमा क्षेत्रको भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले हालसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीको पछिल्लो अद्यावधिक अनुसार १९ जना अझै बेपत्ता छन्। हराउनेमा २ जना प्रहरी कर्मचारी, ११ जना सर्वसाधारण तथा ६ जना चिनियाँ नागरिक रहेका छन्। ३ जना प्रहरी कर्मचारी हराएका मध्यमा एकजनाको शव बुधबार चितवनमा फेला परेको थियो।
उद्धार कार्य जारी, ५७ जनाको उद्धार
बाढी प्रभावित क्षेत्रहरूमा उद्धारका लागि मंगलबार बिहानैबाट सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाको २१ सदस्यीय संयुक्त टोली खटिएका थिए। हालसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका ३८३ जनाको टोलीद्वारा ५७ जनाको सफलतापूर्वक उद्धार गरिएको छ, जसमध्ये ३१ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो, र उद्धार कार्य अझै पनि जारी नै रहेको छ।
खराब मौसम र सडक क्षतिको कारण उद्धार कार्यमा व्यापक कठिनाइ आएको थियो। विशेषगरी पासाङ ल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी खण्डमा ठूलो क्षति भएको थियो, जसका कारण आवश्यक उपकरण र जनशक्ति बाढीग्रस्त क्षेत्रमा पुर्याउन ढिलाइ भएको थियो। विद्युत् र टेलिफोन सेवा पनि सो क्षेत्रमा हालसम्म पनि अवरुद्ध छ, जसले उद्धार तथा अन्य कार्यहरूमा कठिनाइ भएको अवस्था छ।
बाढीको कारण: हिमताल विस्फोट
अन्तर्राष्ट्रिय एकीकृत हिमाली विकास केन्द्र (इसिमोड) ले हिजो जारी गरेको प्रेस विज्ञप्ति अनुसार, भोटेकोशी बाढी 'सुप्राग्लेसियल' तालको निकासको परिणाम हो।
इसिमोडका प्रारम्भिक उपग्रह तस्वीरहरू र विश्लेषण अनुसार, निकास भएको ताल सन् २०२४ को डिसेम्बरको अन्त्यतिर एउटा सानो तालको रूपमा बन्न थालेको थियो र सन् २०२५ को जुन महिनामा यसको आकार उल्लेखनीय रूपमा बढेको थियो।
सुप्राग्लेसियल तालहरू के हुन्? सुप्राग्लेसियल तालहरू हिमनदीको सतहमा रहेको ढुंगा, माटो, पत्थर (debris) ले ढाकिएको भागमा बन्ने साना पग्लिएको पानीका तालहरू हुन्। यी अस्थायी तालहरू समयसँगै विस्तार हुन सक्छन् र कहिलेकाहीं आपसमा मिसिएर ठूलो आकारका तालहरू पनि बन्न सक्छन्। अत्यधिक परिवर्तनशील हुने भएकाले तीव्र तापक्रम वृद्धि वा भारी वर्षाका कारण यी तालहरू सजिलै भत्किन सक्छन्। |
त्यसैगरी, जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक मूल्यांकन अनुसार मंगलबार बिहान करिब ३ बजे तिर तिब्बततर्फबाट अचानक ठूलो मात्रामा बाढी भोटेकोशी नदीमा प्रवेश गरेको देखिएको थियो। यसले रसुवा–टिमुरे आसपासको नदी सतहलाई एक्कासि करिब ३.५ मिटरले उचालेको थियो।
धेरै पानी पर्नाले नै बाढी निम्त्याएको भन्ने आंकलन रहेको अवस्थामा, विभागले बाढीको समयमा नेपाल तथा चीन दुवै पक्षमा भारी वर्षा नभएको पुष्टि गरेको थियो। रसुवास्थित क्याङजिन र धुन्चे मौसम केन्द्रहरूले अत्यन्त न्यून वा शून्य वर्षा मात्र मापन गरेका थिए। यसैगरी, विश्व मौसम संगठनको उपग्रह तथ्यांकले भोटेकोशीको माथिल्लो जलाधार क्षेत्रमा पछिल्लो २४ घण्टामा वर्षा नभएको देखाएको थियो।
यस बाढीको कारण र प्रभाव थाहा पाउन विभागले सेन्टिनल एसिया प्लेटफर्मलाई आपत्कालीन उपग्रह चित्र उपलब्ध गराउन अनुरोध गरिसकेको थियो।
तिब्बतस्थित भोटेकोशी जलाधार क्षेत्रमा धेरै हिमनदीहरू रहेको र बाढीको कारण वर्षा नभई हिमताल विस्फोट (Glacial Lake Outburst) रहेको प्रारम्भिक निस्कर्ष विभागले निकालेको थियो।
त्यसैगरी, विभागद्वारा आज प्रकाशित अपडेट अनुसार सेन्टिनल-२ बाट निकालिएको भू-उपग्रह तस्विरमा नेपाल-चिन सीमाबाट करीब ३६ किलोमिटर माथि लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा हिमताल विकास भएको देखिएको छ। जसले बाढी अघि उक्त हिमताल ०.७५ वर्ग किलोमिटर, र बाढी पछि ०.६ वर्ग किलोमिटरमा फैलिएको हुनाले तालको क्षेत्रफलमा परिवर्तन हुनुमा तालबाट पानी निकास भएको पुष्ट्याइ गर्छ।
पहिले, ०.०२ वर्गकिलोमिटर भन्दा ठूला तालहरू मात्र जोखिममा मानिन्थे, र मोरिन-ड्याम भएका तालहरू अस्थिर मानिने भएकाले ती तालहरुलाई प्राथमिकता दिइन्थ्यो। नेपालमा त्यस्ता २१ वटा सम्भावित जोखिमयुक्त तालहरू रहेका छन्।
तर हाल इसिमोडका विशेषज्ञहरुका अनुसार, केही सानातिना वा लुकेका तालहरू, जसको अस्तित्वबारे अघिल्लो जानकारी थिएन, अहिले उक्त तालहरु ध्वंस ल्याउने श्रोत बनेका छन्। हाल देखिएको बाढीका घटनाहरू नवगठित (सुप्राग्लेसियल) बरफले बाँधिएका तालहरू फुटेर आएका हुन्, जसमा मंगलबारको रसुवाको भोटेकोशी नदीको बाढी, र सन् २०२४ मा थामे (सगरमाथा क्षेत्र) मा चट्टानको पहिरोपछि बेडरक ड्याम भएको ताल र मोरीन ड्याम भएको ताल फुट्ने घटना पनि समावेश छन्।
मंगलबार मात्र २४ घन्टाको अन्तरालमा नेपालका दुइवटा ठाउँ–एक रसुवामा र अर्को माथिल्लो मुस्ताङमा आएका हिम स्रोतजन्य बाढीलाई इसिमोडले अभूतपूर्व घटना ठहर गर्दै, यसै शताब्दीको अन्त्यसम्म हिन्दुकुश–हिमालय क्षेत्रमा हिमताल विस्फोटक बाढीको जोखिम तीन गुणासम्म बढ्ने अनुमान गरेको छ।
गम्भीर पूर्वाधार क्षति
उक्त बाढीले नेपाल–चीन जोड्ने करिब १०० मिटर लामो मितेरी पुल बगाएको छ। कोभिड महामारीका कारण लामो समय बन्द रहेको पुल विगत वर्षको जेठ महिनामा मात्र पुनः सञ्चालनमा आएको थियो।
बाढीले टिमुरेस्थित भन्सार कार्यालयमा पनि ठूलो क्षति पुर्याएको छ। रसुवा सुक्खा बन्दरगाह र भन्सार यार्डबाट २४ कन्टेनर, जाँच पासका लागि राखिएका ३५ वटा विद्युतीय गाडी र ६ वटा सिनो ट्रकलाई बगाएको थियो। भन्सार प्रक्रियाका लागि राखिएका सामानहरू नदीमा बगेका छन्। त्यहाँको भन्सार क्षेत्रमा रहेका सिन्धुपाल्चोक क्षेत्रका केही व्यक्तिहरूसमेत अलपत्र अवस्थामा परेका थिए।
बाढीका कारण रसुवा जिल्लामा सञ्चालनमा रहेका प्रमुख जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ। यसले झण्डै २०० मेगावाट विद्युत उत्पादन प्रभावित बनाएको छ। १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको ढोका बगाएको छ भने २२ मेगावाटको चिलिमे आयोजनाको ट्रेलरेससमेत क्षतिग्रस्त भएको छ। त्रिशूली ३-ए र ३-बी जस्ता आसपासका अन्य आयोजना पनि हाल अवरुद्ध छन्।
थप सामाग्री पढ्नुहोस
काकाकुल वीरगञ्ज, गहिरिँदो पानी संकटको दिगो समाधान छ
दैनिक तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि। यस मनसुनमा अहिलेसम्म पानीको भने नामोनिसान छैन,...
रसुवागढी बाढीले चीनसँगको व्यापारलाई कसरी असर गर्ला?
रसुवागढी भन्सार नाका नेपाल र चीनबीच हुने वैदेशिक व्यापारका लागि एउटा महत्वपुर्ण भन्सार...
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
भिसा भेरिफिकेसन प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन्। चिनियाँ...
×