तस्बिर: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तस्बिर: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

व्यवसाय

रसुवागढी बाढीले चीनसँगको व्यापारलाई कसरी असर गर्ला?

तथ्यांकले व्यापारीहरुले बढि मात्रामा रसुवागढी भन्सार नाकालाई रुचाएको देखाउँछ। तथापी बाढीका कारण भएको पूर्वाधार क्षति तत्कालै नबन्ने हुँदा हाललाई चीनसँगको व्यापार तातोपानी नाकातर्फ केन्द्रित गर्नुको विकल्प नरहेको जानकारहरु बताउँछन्।

By युवराज भट्टराई |

रसुवागढी भन्सार नाका नेपाल र चीनबीच हुने वैदेशिक व्यापारका लागि एउटा महत्वपुर्ण भन्सार बिन्दु हो। चीनसँग हुने वैदेशिक व्यापारका लागि नेपालमा रहेका दुई भन्सार बिन्दुहरुमध्ये सबैभन्दा धेरै रसुवागढी भन्सारबाट सामानको आयात निर्यात हुन्छ।

तर, मंगलबार नेपाल-चीन सिमा हुँदै बग्ने रसुवाको ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवागढी भन्सारमा क्षति पुगेको छ। २०७६ देखि सञ्चालनमा आएको नेपाल र चीनलाई जोड्ने मितेरी पुल बाढीले बगाएको छ। रसुवागढीमा २ अर्ब १६ करोड रुपैयाँ लगानीमा निर्माणाधिन रहेको सुख्खा बन्दरगाहमा पनि बाढीका कारण क्षति पुगेको छ। साथै, भन्सार बिन्दुतर्फ रहेको सडकमा पनि बाढीले क्षति पुर्याएको छ।

कति छ नेपाल र चीनबीचको वैदेशिक व्यापार?

पछिल्ला वर्षहरुमा नेपाल र चीनबीचको व्यापारको आकार बढ्दै जाँदा रसुवागढी नाकामा भएको क्षतिले ठूलो प्रभाव पार्ने देखिएको छ। औपचारिक रुपमा नेपालबाट प्रत्यक्ष रुपमा चीनसँग हुने वैदेशिक व्यापारको आकार (आयात निर्यात सबै) चालु आर्थिक वर्ष २०८१/०८२ को जेठ मसान्त सम्ममा १ खर्ब २९ अर्ब ७६ करोड ९८ लाख ७ हजार रुपैयाँ रहेको छ।

सोही अवधिमा आयातको आकार १ खर्ब २७ अर्ब ८० करोड ८४ लाख ४ हजार रुपैयाँ छ भने निर्यातको आकार १ अर्ब ९६ करोड १४ लाख ३ हजार रुपैयाँको रहेको छ।

चीनसँग सिमा जोडिएका नेपालका भन्सार बिन्दुहरु ९ वटा भएतापनि औपचारिक रुपमा दुई नाकाबाट वैदेशिक व्यापार भइरहेको छ—रसुवास्थित रसुवागढी भन्सार नाका र सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार नाकाबाट।। सो दुई बिन्दुबाट हुने कुल वैदेशिक व्यापारमध्ये ६३.८६% रसुवागढी भन्सार नाकाले ओगटेको छ भने तातोपानी नाकाले ३६.१४%।

रसुवागढी भन्सार बगाउँदा कस्तो असर गर्ला?

नेपाल र चीनबीच हुने वैदेशिक व्यापार पछिल्ला वर्षहरुमा बढ्दै गएको हो। दशकौँदेखि व्यापारका लागि प्रयोग हुँदै आएको रसुवागढी नाकालाई नेपाल र चीन दुवैले सन् २०१७ मा औपचारिक रुपमा अन्तर्राष्ट्रिय नाका घोषणा गरेका हुन्। यसमा रसुवागढी भन्सार नाकाबाट सामानको आयात र निर्यातको आकार पनि बढ्दै गएको छ।

मुख्य गरि चीनबाट रसुवागढी र तातोपानी नाकाहरु हुँदै भित्रिने विद्युतीय गाडी तथा तीनका पार्ट्स र तयार लत्ताकपडाको हिस्सा यसमा धेरै छ।

नेपाल र चीनबीच भइरहेको वैदेशिक व्यापारमा तातोपानी भन्सार नाकाको तुलनामा रसुवागढी भन्सार नाकाबाट धेरै सामानको आयात तथा निर्यात हुन्छ। चालु आ.व. जेठ मसान्तसम्म रसुवागढी भन्सार नाकाबाट ८० अर्ब ९१ करोड ४८ लाख २३ हजार रुपैयाँ मूल्य बराबरको सामान भित्रिएको छ। देशको कुल आयातमध्ये रसुवागढी भन्सार नाकाबाट हुने आयातको हिस्सा ४.९२% रहेको छ। त्यस्तै, यस नाकाबाट देशको कुल निर्यातको ०.७९% अर्थात् १ अर्ब ९६ करोड १४ लाख ३ हजार मूल्य बराबरको निर्यात भएको छ।

मंगलबार आएको बाढीका कारण रसुवागढी भन्सारलाई चीनसँग जोड्ने मितेरी पुलदेखि बन्दरगाहलाई नै बाढीले बगाउँदा यसले वैदेशिक व्यापारमा पनि क्षति पुर्याउने देखिन्छ। अस्थायी रुपमा यी पुर्वाधारलाई सञ्चालनमा ल्याउनका लागि पनि ५/६ महिना लाग्ने सरकारले जनाएको छ। मितेरी पुलको निर्माणमा पनि नेपाली पक्षले मात्रै नभएर चिनियाँ पक्षले पनि काम गर्नुपर्ने हुँदा यसमा अन्तरदेशिय सहकार्य रहने सरकारी निकायले जनाएको छ।

२०७२ मा आएको भुकम्पअघि नेपाल र चीनबीचको वैदेशिक व्यापार बढि मात्रामा तातोपानी नाका केन्द्रित थियो। वैदेशिक व्यापारका लागि तातोपानी नाका एक प्रमुख बिन्दुका रुपमा रहेको थियो। तर, भुकम्पका कारण त्यहाँ रहेका पूर्वाधारमा क्षति भएसँगै २०७५ जेठसम्म यो नाका सञ्चालनमा आएको थिएन्। त्यसपछि भने तातोपानी नाकालाई औपचारिक रुपमा सञ्चालनमा ल्याइएको थियो। यद्यपी तातोपानी नाकाबाट सुस्त रुपमा मात्रै वैदेशिक व्यापारले गति लिएको छ।

चीनसँगको व्यापार रसुवागढी नाकाबाट बढि हुने गरेको छ। चालु आर्थिक वर्ष जेठ मसान्त सम्ममा रसुवागढी नाकाबाट ८० अर्ब ९१ करोड ४८ लाख २३ हजार रुपैयाँ आयात मूल्य बराबरको सामान भित्रिँदा तातोपानी नाकाबाट भने ४६ अर्ब ८९ करोड ३५ लाख ८१ हजार रुपैयाँ बराबरको सामान भित्रिएको छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली बाढीका कारण भएको क्षतिले तत्कालका लागि असर गरेतापनि दीर्घकालिन रुपमा भने असर नहुने बताउँछन्। नेपालले समुन्द्री बाटो, हवाई बाटो र जमिनको बाटोबाट व्यापार गर्ने भएकाले दीर्घकालिन रुपमा चीनसँगको व्यापारमा यसले असर नगर्ने उनी बताउँछन्। 

नेपालले चीनसँग गत वर्ष मात्रै प्रशोधन गरिएको भैंसीको मासु (थर्मल्ली प्रोसेस्ड बफेलो मिट) चीन निर्यात गर्ने अनुमति पाएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएको बेला १८ मंसिर २०८१ मा गरेको ९ सहमतिमध्ये एक सहमति भैंसीको मासु निर्यात गर्ने सम्बन्धी रहेको थियो। यसबाहेक पनि नेपालले चीनमा अन्य विभिन्न किसिमका सामग्रीहरु निर्यात गर्दै आएको छ। 

रसुवागढी भन्सार नाका बाढीले बगाउँदा त्यसको विकल्प तातोपानी नाका भएकाले दीर्घकालिन रुपमा यसले चीनसँगको व्यापारमा असर नगर्ने पराजुलीको ठम्याई छ। उनी भन्छन्, ‘तत्काल रुपमा यसले प्रभाव त पार्छ नै। तर, दीर्घकालिन रुपमा यसको धेरै असर गर्ने अवस्था नहोला। यसले क्षणिक असर गर्छ।’

व्यापारका लागि अन्य विकल्पको प्रयोग गर्न सकिने भएकाले रसुवागढी नाकामा भएको क्षतिको दीर्घकालिन असर नहुने उनले बताए।

तातोपानी र रसुवागढी नाकाबाट हुने व्यापारबीचको भिन्नता

चीनसँग खुल्ला रहेका दुई भन्सार नाका तातोपानी र रसुवागढीबाट हुने वैदेशिक व्यापारको भिन्नता पनि धेरै छ। भौतिक पूर्वाधारका हिसाबले दुवै नाकामा चीनतर्फको बाटो तथा अन्य पूर्वाधार सहज भएतापनि नेपालपट्टि भने तातोपानीको तुलनामा रसुवागढी तर्फको बाटो सहज भएकाले त्यसको प्रयोग बढि मात्रामा हुँदै आएको थियो। २०१७ मा यस नाकालाई अन्तराष्ट्रिय नाका घोषणा गरेपछि यहाँबाट हुने व्यापारिक गतिविधि बढेको थियो।

दुवै भन्सार नाकाबाट हुने वैदेशिक व्यापार तुलनात्मक रुपमा हेर्ने हो भने आर्थिक वर्ष २०८१/८२ जेठसम्म देशको कुल आयातमा रसुवागढी भन्सार नाकाको आयात अनुपात ४.९२% छ भने तातोपानी नाकाको २.८५% रहेको छ।

चालु आवको जेठसम्म तातोपानी नाकाबाट कुनै पनि वस्तु निर्यात भएको छैन। तर, रसुवागढी नाकाबाट भने १ अर्ब ९६ करोड १४ लाख ३ हजार निर्यात मूल्य बराबरको वस्तु निर्यात भएको छ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा रसुवागढी नाकाबाट ६० अर्ब ९१ करोड २ लाख ६० हजार आयात मूल्य बराबरको सामान भित्रिएको छ, जसको आयात अनुपात ३.८२% रहेको छ। यही अवधिमा तातोपानी नाकाबाट भने ४० अर्ब ३४ करोड ३३ लाख ४१ हजार रुपैयाँ आयात मूल्य बराबरको वस्तु भित्रिएको छ, जुन देशमा भएको कुल आयातको २.५३% हो।

यही अवधिमा तातोपानीबाट ९३ लाख २१ हजार रुपैयाँ निर्यात मूल्य बराबरको वस्तु निर्यात भएको छ भने रसुवागढीबाट १ अर्ब ७३ करोड ६२ लाख ३८ हजार निर्यात मूल्य बराबरको वस्तु बाहिरियो। यसअघिका तीन वर्षहरुमा नेपालबाट गरेको आयात-निर्यात यस प्रकार रह्यो:

आर्थिक वर्ष भन्सार नाका आयात (रु) निर्यात (रु)
२०७७/७८ रसुवागढी १७.०२ अर्ब शून्य
तातोपानी ५.८४ अर्ब शून्य
२०७८/७९ रसुवागढी २६.६२ अर्ब शून्य
तातोपानी १४.०२ अर्ब शून्य
२०७९/८० रसुवागढी ३०.१४ अर्ब १. १९अर्ब
तातोपानी १३.२१ अर्ब ५९.१५ लाख

के तातोपानी सर्ला चीनसँगको व्यापार?

तथ्यांक अनुसार व्यापारीहरुले रसुवागढी भन्सार नाकालाई रुचाएको देखाउँछ। तथापी बाढीका कारण भएको पूर्वाधार क्षति तत्कालै नबन्ने हुँदा हाललाई चीनसँगको व्यापार तातोपानी नाकातर्फ केन्द्रित गर्नुको विकल्प नरहेको जानकारहरु बताउँछन्।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल रसुवागढी भन्सारमा बाढीका कारण पुगेको क्षतिले तत्कालै यो सञ्चालनमा आउने अवस्था नभएकाले चीनसँगको व्यापारलाई तातोपानीतर्फ केन्द्रित गर्नुपर्ने बताउँछन्। 

उनी भन्छन्, ‘नाका सुचारु नहुँदासम्म व्यापारलाई तातोपानीतर्फ लैजानुपर्छ। चीनबाट नेपाल आउन भनेर ट्रान्जिटमा रहेका सवारी साधनदेखि सामानलाई कसरी ल्याउन सकिन्छ भनेर सोच्नुपर्छ। केरुङ हुँदै रसुवा आउन लागेका सामानहरुलाई तातोपानी हुँदै ल्याउन सकिन्छ।’

रसुवागढी भन्सारमा भएको क्षति र पुर्वाधार मर्मत तथा नबन्दासम्म तातोपानी भन्सार नाकातर्फ चीनको व्यापार केन्द्रित गर्ने भनिएतापनि तातोपानी भन्सार नाकामा रहेका पूर्वाधारहरु समेत पूर्ण रुपमा आयातनिर्यातका लागि सहज हुने अवस्थामा छैनन्। २०८० बाट पुन: पुर्ण रुपमा सञ्चालनमा ल्याइएको तातोपानी नाका जोड्ने सडकहरुमा साधारण वर्षामा पनि बिग्रने समस्या रहेकाले यसले व्यापारमा समस्या हुनसक्ने अवस्था छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली नेपाल र चीनबीचका अन्य नाका हाल नचलेकाले तातोपानी नाकालाई नै विकल्प बनाएर अघि जाने अवस्था रहेको बताउँछन्। 

“तातोपानी नाकालाई विकल्प बनाएर जाने अवस्था छ”, उनी भन्छन, “अन्य नाका नचलेको अवस्था छ। वैकल्पिक रुपमा तातोपानी नाकालाई नै प्रयोग गर्न पर्ने अवस्था छ। राजधानीबाटको दुरी हेर्दा पनि हालका लागि यही नै विकल्प हुन्छ।”

यद्यपी बाढीका कारण रसुवागढी नाकामा भएको क्षतिका कारण तातोपानी नाकामा चाप भने बढ्ने अवस्था रहेको छ।

नेपाल-चीनबीच के के व्यापार हुन्छ? बजारमा बढ्ला सामानको मूल्य?

भारतसँग सिमा जोडिएका भन्सार नाकामा नेपालको वैदेशिक व्यापार केन्द्रित रहेको भएतापनि नेपाल र चीनबीचको वैदेशिक व्यापारको आकार पनि बढ्दै जाँदा चीनबाट समेत धेरै वस्तुहरु नेपाल आउन थालेका छन्।

नेपालले चीनतर्फ निर्यात गरिरहेका वस्तुहरुमा मुख्य गरि गलैंचा, तयारी पोशाक, हस्तकला, पस्मिना तथा रुद्राक्षलगायत पर्छन्। त्यस्तै, चीनबाट नेपालतर्फ भने पछिल्लो समय विद्युतीय सवारी साधनका साथै तयारी पोशाक, फलफूल, जुत्ता, खेलौना, कस्मेटिक सामान, विद्युतीय सामग्रीलगायतको आयात हुने गरेको छ।

बाढीका कारण चीनसँग व्यापार हुने प्रमुख नाका नै क्षतिग्रस्त हुँदा यसले नेपालमा कतिपयवस्तुहरुको मूल्य बढ्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव पराजुली बताउँछन्। उनी भन्छन्, ‘आयात हुने सामान मूल्य के कसो हुने भन्ने कुरा त बजेट भाषणले तय गर्ने हो। तर, तत्काल सामान आयात गर्न नसकेमा यसले बजारमा मागअनुसार वस्तु उपलब्ध हुँदैन। यसले मूल्य बढ्छ नै।’

कहिले पुन: सञ्चालनमा आउँला रसुवागढी भन्सार?

क्षतिग्रस्त भएको रसुवागढी नाकालाई पुन: सञ्चालनमा ल्याउनका लागि भने सरकारले तत्कालै काम गर्ने बताएको छ। 

मंगलबार साँझ बसेको विपद् कार्यकारी परिषद्को बैठकले बाढीले बगाएको मितेरी पुल पुन: सञ्चालनमा ल्याउनका लागि चीनसँग आग्रह गर्ने निर्णय गरेको थियो। बैठकका निर्णयबारे जानकारी दिँदै बुधबार विपद् जोखिम तथा न्युनीकरण प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले मितेरी पुल बनाउन चीनसँग सहयोगका लागि अनुरोध गर्ने बताए। 

‘मितेरी पुल चीन र नेपालबीचको महत्वपुर्ण नाका भएकाले यसलाई तत्कालै सञ्चालन गर्नका लागि त्यहाँ जुन सडक बनिरहेको छ, त्यो पहिलाबाटै चीनकै सहयोगमा बनेकाले फेरि सहयोगका लागि चीनसँग अनुरोध गर्ने निर्णय भएको छ,’ उनले भनेका छन्। 

यद्यपी वर्षामा हुने क्षतिका कारण तहसनहस भएका सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणमा सरकारको तादरुकता भने कमै देखिएको छ। गत वर्ष असोजमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको विपी राजमार्ग हालसम्म पनि मर्मत भएको छैन।

पराजुली भने नेपालको भौगोलिक अवस्था नै जोखिम पुर्ण भएकाले भगवान भरोसामा व्यापार गरिरहेको बताउँछन्। यद्यपी सरकारले सहि बाटो बनाएर नाकालाई सहज बनाउन सकेमा व्यापारमा पनि सहज हुने अवस्था छ। 

‘हाम्रो देशको भौगोलिक अवस्था त्यस्तै छ’, उनी भन्छन्,‘बाढी र पहिरोको अवस्था छ। खोलाको छेउमा सडक छ। कतिबेला क्षति हुन्छ थाहा छैन। भगवान भरोसामा व्यापार गर्ने हो। नेपाल सरकारले सहि बाटो बनाएर नाकालाई सहज बनाउन गर्न सक्यो भने हामीलाई पनि सहज हुन्छ। यसमा हामीले गर्न सक्ने केही छैन।’

युवराज भट्टराई साहित्यमा रुचि राख्ने पत्रकार हुन्। उनले अन्नपूर्ण पोस्ट, नेपाललाइभ डटकम र क्लिकमाण्डु जस्ता सञ्चारमाध्यममा काम गरिसकेका छन्। उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रत्न राज्य क्याम्पसबाट पत्रकारितामा स्नातक डिग्री हासिल गरेका छन्।
Visit the author's socials:

थप सामाग्री पढ्नुहोस

वातावरण

काकाकुल वीरगञ्ज, गहिरिँदो पानी संकटको दिगो समाधान छ

दैनिक तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि। यस मनसुनमा अहिलेसम्म पानीको भने नामोनिसान छैन,...

विवेक वर्णवाल

समाचार

भोटेकोशी बाढी: ९ जनाको मृत्यु, १९ हराए, ठूलो क्षति

नेपालचीन सीमा क्षेत्रको भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले हालसम्म ९ जनाको...

दिप्तिना सापकोटा

समाचार

‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती

भिसा भेरिफिकेसन प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन्। चिनियाँ...

रासस

×

×