सार्वजनिक यातायात | सूचना तथा व्यवस्थापन | काठमाडौं-भक्तपुर रुट | गंगाराम खाइजु | ड्राइभर साहेब
काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको अवस्था सम्झिँदा हामीमध्ये धेरैको दिमागमा खचाखच यात्रुहरू, गेटमा झुन्डिएका मान्छेहरू, सहचालकको चर्को आवाज र बसभित्र छरिएको फोहोरको दृश्य आउँछ। सार्वजनिक यातायात चलाउने तरिका प्राय: उही ढर्राको रहेको छ, जसमा यात्रुहरूको असहज अनुभव सामान्य मानिन्छ।
तर, काठमाडौं-भक्तपुर रुटमा एउटा बस यस्तो पनि छ, जसले यो आम परिपाटीलाई तोड्दै एक नवीनतम अभ्यासको थालनी गरेको छ। यो बसका चालक गंगाराम खाइजु हुन्, जसको सोचले मात्र होइन, व्यवहारले पनि यात्रुहरूलाई अचम्ममा पार्छ।
गंगारामको बसमा सहचालक छैनन्। बसभित्रको व्यवस्थापन, यात्रुहरूसँगको व्यवहार र सरसफाइलाई विशेष प्राथमिकता दिइएको छ। जब बागबजार बसपार्कबाट यो बस छुट्न लाग्छ, गंगाराम सानो माइक समातेर भन्छन्, “यहाँहरुलाई स्वागत छ। सूचना/प्लेकार्डको सन्देश पढ्नुहोला। गाडीमा पानी, चाउचाउको पनि व्यवस्था छ। पैसा तिरेर किन्न सक्नुहुन्छ। तर फोहोर ढोका नजिकैका डस्टबिनमा राख्नुहोला। धन्यवाद।”
यसरी यात्रुहरूलाई जानकारी दिने परिपाटी काठमाडौंका अन्य सार्वजनिक यातायातमा देख्नै मुस्किल छ। गंगारामको बसमा चढ्ने जोकोहीलाई सुरुमा लाग्न सक्छ कि उनी कुनै विशेष पर्यटकीय बसमा चढ्दैछन्। तर, यो कुनै डिलक्स वा पर्यटकीय बस होइन। यो त साधारण मिनिबस हो — बा ४ ख २७२४, जसले काठमाडौं-बागबजार-नयाँ बाटो-भक्तपुर-क्यान्सर अस्पताल-ब्यासी रुटमा सेवा दिइरहेको छ।
सार्वजनिक यातायातका बसहरूमा सहचालक अनिवार्य जस्तै मानिन्छ। यात्रुहरूलाई बसमा हाल्ने, भाडा उठाउने, सामान सार्ने जस्ता कामहरू सहचालकले नै गर्दै आएका छन्। तर गंगाराम खाइजुले ६ वर्षअघि एक अनौठो निर्णय गरे — बस बिना सहचालक सञ्चालन गर्ने। सुरुमा धेरैले उनको यो प्रयोग सफल हुँदैन भन्ने ठाने, तर आज उनी आफ्नो निर्णयमा दृढ छन्।
उनले बसमा स्वचालित ढोका प्रणाली जडान गरेका छन्, जसले गर्दा यात्रुहरू सहज रूपमा बस चढ्न र ओर्लन सक्छन्। सहचालक नभएपछि बसभित्र अनावश्यक भिडभाड हुँदैन, जसले दुर्घटनाको सम्भावना पनि घटाएको छ।
गजबको कुरा के भने, उनले आफ्नो पहिचान आफैं स्थापित गरेका छन्। यात्रुहरूले उनलाई ‘ड्राइभर साहेब’ भनेर सम्बोधन गरुन भन्ने चाहन्छन्। उनी चालकलाई ‘गुरुजी’ भन्ने चलन प्रति गहिरो आपत्ति जनाउँछन्। उनका अनुसार, शब्दहरूको सही प्रयोग हुनु आवश्यक छ, त्यसैले उनले स्पष्ट निर्देशन दिएका छन् — उनी ‘ड्राइभर साहेब’ नै हुन्।
उनका यात्रुहरू उनका विचारहरू सुन्ने अवसर पाएर रमाउँछन्। उनी केवल माइकिङ गरेर यात्रुहरूलाई मिलेर बस्न अनुरोध मात्र गर्दैनन्, देशका विविध घटनाक्रम बारे आफ्नो धारणा समेत स्पष्ट रूपमा व्यक्त गर्छन्। जब यात्रुहरू गन्तव्यमा पुगेर ओर्लिन्छन्, उनीहरू हाँस्दै ‘ड्राइभर साहेब’ भनेर बिदा हुन्छन्, अनि उनी पनि मुस्कुराउँदै स्यालुट गरेर बिदाइ गर्छन्।
भनिन्छ, परिवर्तन चाहिन्छ भने पहल आफैंबाट गर्नुपर्छ। गंगाराम खाइजुले यही सोचलाई व्यवहारमा उतार्ने प्रयास गरिरहेका छन्। उनी भन्छन्, “सोच बनाइने होइन, यो त भित्रैदेखि उत्पन्न हुने कुरा हो।” आफू यातायात क्षेत्रमा क्रियाशील भएको नाताले, उनले यात्रुहरूलाई सहज र सकारात्मक सेवा प्रदान गर्ने लक्ष्य लिएको बताउँछन्।
बसमा सूचना र व्यवस्थापनको अद्भुत संयोजन
गंगारामको बसमा यात्रा गर्ने यात्रुहरू सूचना प्लेकार्डहरूको व्यवस्थापन देखेर अचम्मित हुन्छन्। बसको भित्तामा सफा रूपमा लेमिनेसन गरिएका सूचना टाँसिएका छन्, जसमा विभिन्न सन्देशहरू लेखिएका छन्। केही महत्त्वपूर्ण सन्देशहरूमध्ये प्रमुख छन्:
गंगारामको व्यवस्थापन र सरसफाइ अभियानले बसमा यात्रा गर्ने यात्रुहरूलाई सकारात्मक रूपमा प्रभावित पारेको छ। पहिलो पटक उनको बसमा यात्रा गरिरहेका रमन सुवेदी भन्छन्, “म यी प्लेकार्डमा लेखिएका सन्देशहरूबाट निकै प्रभावित भएँ। यस्तो सुव्यवस्थित र स्वच्छ वातावरण अन्य सार्वजनिक बसहरूमा पनि हुनुपर्छ।”
नियमित रूपमा यो बस प्रयोग गर्ने सन्जु भन्छिन्, “मलाई यी सन्देशहरू पढ्दा रमाइलो लाग्छ। वास्तवमा, यस्ता नियम सबै बसमा लागू गर्न आवश्यक छ। यसले यात्रुहरूलाई पनि अनुशासित बनाउँछ।”
त्यस्तै, अर्का यात्रु आशिष खड्का भन्छन्, “गंगारामजीको बसमा चढ्दा अरू बसको भन्दा बेग्लै अनुभव हुन्छ। यहाँ सफाइको विशेष ध्यान दिइन्छ, यात्रुहरूलाई मर्यादित व्यवहार गर्न प्रेरित गरिन्छ। यस्तो उदाहरण अन्य बस सञ्चालकले पनि अनुशरण गर्नुपर्छ।”
सपना कँडेल, जो दैनिक रूपमा यो बस चढ्छिन्, भन्छिन्, “अधिकांश सार्वजनिक बसहरूमा अस्तव्यस्तता र असभ्य व्यवहार देखिन्छ, तर यहाँ यात्रुलाई सम्मानजनक सेवा दिनुपर्छ भन्ने चेतना दिलाइन्छ। यस्तो सकारात्मक परिवर्तन यातायात क्षेत्रमा निकै आवश्यक छ।”
यात्रुहरूको यस्ता प्रतिक्रियाले गंगाराम खाइजुको प्रयासले साँच्चै प्रभाव पारेको देखिन्छ। उनी भन्छन्- “काठमाडौंको फोहोर देखेर दिक्क लाग्छ। यदि हरेक व्यक्तिले आफ्नो ठाउँबाट सानो प्रयास गरे भने ठूलो परिवर्तन ल्याउन सकिन्छ।”
गंगारामको बसमा भाडा संकलन गर्ने तरिका पनि फरक छ। सामान्यतया, भाडा उठाउने काम सहचालकले गर्छ। तर गंगारामको बसमा यात्रुहरू आफैंले आफ्नो भाडा ‘खुत्रुके बक्स’मा हाल्छन्। यदि खुद्रा पैसा नभए, गंगारामले आफ्नो अगाडि रहेको काठको बाकसमा विभिन्न दरका नोटहरू चट्ट मिलाएर राखेका छन्, जहाँबाट यात्रुहरूले आफैं पैसा मिलाउन सक्छन्। यस्तो प्रणाली नेपालमा निकै दुर्लभ छ। यसले यात्रुहरूमाझ आत्मानुशासन र इमान्दारिताको भावना विकसित गर्छ।
गंगाराम केवल एक बस चालक मात्र होइनन्। उनी नागरिक उत्तरदायित्वबोध गराउने अभियन्ता हुन्। उनको सोचाइ र व्यवहारले काठमाडौंको सार्वजनिक यातायात प्रणालीमा सकारात्मक परिवर्तनको संकेत दिएका छन्। सहचालकविहीन बस प्रणाली, सरसफाइ व्यवस्थापन, यात्रुहरूसँगको सम्वाद र जानकारीमूलक प्लेकार्डहरूले उनलाई अन्य चालकहरूभन्दा फरक बनाएको छ।
उनी भन्छन्, “बसमा यात्रा गर्नु केवल गन्तव्यमा पुग्ने माध्यम मात्र होइन, यसले यात्रुहरूको आचरण, संस्कार र जिम्मेवारीलाई पनि प्रतिबिम्बित गर्छ।” गंगारामले लागू गरेको यी नयाँ उपायहरू सार्वजनिक यातायातको सुधारका लागि एक प्रेरणादायी उदाहरण हुन्।
काठमाडौंका अन्य बस सञ्चालकहरूले गंगारामको प्रणालीबाट धेरै कुरा सिक्न सक्छन्। यदि हरेक बसमा सरसफाइको प्रवर्द्धन गरियो, यात्रुहरूसँग सभ्य व्यवहार गरियो, र व्यवस्थापनलाई वैज्ञानिक बनाइयो भने, सार्वजनिक यातायात प्रतिको नकारात्मक धारणा परिवर्तन हुन सक्छ।
गंगाराम खाइजुको यो अभियान केवल एउटा बसको नियम मात्र होइन, यो सार्वजनिक यातायात सुधार र समाज परिवर्तनको अभियान हो। अब प्रश्न उठ्छ — ‘के अन्य बस चालकहरू पनि यसबाट केही सिक्नेछन्?
थप सामाग्री पढ्नुहोस
‘मधेश लाइब्रेरी’: मधेशी समुदायभित्रबाट सचेत बुद्धिजीवी वर्ग निर्माणको प्रयास
अंशु कुमार र आभासगुरुसँग कुराकानी गर्न मैले गत माघ १३ मा कीर्तिपुरसम्मको यात्रा...
न्याय खोज्न हिडेका अनवरत पाइलाहरू
विभिन्न अवरोधका बाबजुद गएको २०२४ भरि नै काठमाडौमा दुई फरक प्रदर्शनहरू देखिए। दुवै...
के निजी विद्युतीय सवारीसाधनमा कर लगाउने कदम वास्तवमै प्रतिगामी हो?
यो आलेख २०७७ असार ६, शनिवारको दिन हाम्रो अंग्रेजी संस्करण द_फारसाईटमा छापिएको लेखको...
×