मधेश पुस्तकालय | अनुसन्धान केन्द्र | ज्ञान शक्ति | ज्ञान उत्पादन | युवा पहल

तस्बिर:  मधेश लाइब्रेरी एण्ड रिसर्च सेन्टर
तस्बिर: मधेश लाइब्रेरी एण्ड रिसर्च सेन्टर

अन्तर्वार्ता

‘मधेश लाइब्रेरी’: मधेशी समुदायभित्रबाट सचेत बुद्धिजीवी वर्ग निर्माणको प्रयास

मधेश लाइब्रेरी एण्ड रिसर्च सेन्टरका संयोजक अंशु कुमार र लाइब्रेरीका संस्थापक एवम् अभिभावक आभास गुरुसँगको यो संवाद सुरु गर्दै गर्दा हामीले अनुभव गर्यौं— ‘जति यो देश तिम्रो, त्यति मेरो पनि’— तर यो भावनाको प्रमाण दिने दायित्व किन सधैँ मधेशी समुदायले नै बोक्नु पर्ने?

By विवेक वर्णवाल |

अंशु कुमार र आभास  गुरुसँग कुराकानी गर्न मैले गत माघ १३ मा कीर्तिपुरसम्मको यात्रा गरेँ। चिसो बताससँगै त्रिभुवन विश्वविद्यालय परिसरभित्रको बालकुमारी खाजा घरमा समोसा, सेल रोटी र दूध चिया खाँदै हाम्रो संवाद सुरु भयो।

अंशु मधेश लाइब्रेरी एण्ड रिसर्च सेन्टर (एमएलआरसी) का संयोजक हुन् भने आभास यसका संस्थापक एवम् अभिभावक। दुबै २७ वर्षीय युवाहरू सिरहाको गोलबजार नगरपालिकाबाट हुन्।

यस संवादको अघिल्लो दिन, म आलोकनगर, काठमाडौस्थित लाइब्रेरी हलमा आयोजित साप्ताहिक पुस्तक छलफल श्रृंखलामा सहभागी भएको थिएँ। सो छलफलमा ‘रिजनालिजम एन्ड नेशनल युनिटी इन नेपाल’ नामक पुस्तकको दोस्रो अध्याय, ‘तराईको अर्थतन्त्र’ विषयमा समीक्षा गरिएको थियो।

सन् १९७५ मा फ्रेडरिक एच. गेजद्वारा आफ्नो शोध प्रतिवेदनका रूपमा प्रकाशित उक्त पुस्तकलाई गोरखाबाट क्रमश नेपाल भएको राज्यसत्ताद्वारा अघि बढाइएको राष्ट्र-निर्माणको प्रक्रिया र राष्ट्रिय एकताको संरचनासँग जोडिएका विभिन्न दृष्टिकोण तथा संघर्ष समावेश महत्वपूर्ण स्रोत मानिन्छ।

पुस्तकमा गेजले सरकारको ‘एक देश, एक भाषा, एक भेष’ नीतिको आलोचना गर्दै नेपाली राष्ट्रियताको यस्ता एकात्मक पहिचानहरू जबरजस्ती थोपर्नु देशलाई एकीकृत गर्ने माध्यम नभएको बताएका छन्। बरु, यस्तो दमनले भविष्यमा राज्यका लागि थप राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीहरू सिर्जना गर्नेछ भन्ने गेजको धारणा छ।

चियाको चुस्की लिँदै अंशुले भने, “गेजले ५० वर्षअघि भनेका कुरा अहिले पनि उत्तिकै सान्दर्भिक छन्। मधेश अझै पनि समग्र राष्ट्रिय संरचनामा आफूलाई स्थापित गर्ने संघर्षमै छ, त्यो पनि थप नयाँ चुनौतीहरूसहित।”

उक्त संवादका क्रममा, पुस्तक छलफलको सन्दर्भबाट हामी एमएलआरसीको विषयमा प्रवेश गर्‍यौँ। ‘ग्रेट रीडर इज ग्रेट लीडर (‘महान पाठक महान नेता’)’ भन्ने नारासहित सन् २०२३ को जुलाई महिनामा स्थापित यस संस्थाले ‘ज्ञान सत्ता’ मा हस्तक्षेप गर्ने लक्ष्य राखेको छ। मधेशका दृष्टिकोणहरूलाई राष्ट्रिय संरचनाबाट विमुख अनि कलंकित बनाउने ज्ञान सत्तालाई चुनौती दिने सोचका साथ अघि बढेको एमएलआरसी काठमाडौंमा स्थापित सीमित मधेश-केन्द्रित संस्थाहरूमा पर्छ।

लाइब्रेरीको नाममा रहेको ‘मधेश’ शब्दले केवल सरकारी मधेश प्रदेशको मात्र होइन, नेपालको तराई क्षेत्रका सबै जिल्ला—पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्म—को प्रतिनिधित्व गर्छ।

एमएलआरसी स्थापना पछाडिका आफ्ना अनुभव यसरी सुनाउँछन् आभास —

म लगायत कुनै न कुनै रूपमा तेस्रो मधेश आन्दोलनमा संलग्न अनि राजनीतिक तथा सामाजिक रूपमा सचेत केही मधेश- केन्द्रित साथीहरू, सात वर्षअघि काठमाडौ आएका थियौँ। आन्दोलन सेलाएर गयो, तर न्यायोचित निष्कर्षविना। कसैले पनि आन्दोलन कहिले र कसरी टुंगियो भन्ने थाहा पाएन।

हाम्रो विश्लेषणमा, तेस्रो मधेश आन्दोलन असफल हुनुको प्रमुख कारण ज्ञान सत्ताको अभाव थियो। मधेशी नेताका अलावा, आफ्ना मुद्दा, सरोकार र चासोहरू राज्यसामु स्पष्ट रूपमा प्रस्तुत गर्ने शक्ति आन्दोलनसँग थिएन। मधेशलाई सीमान्तिकृत पार्ने पञ्चायतकालीन राष्ट्रिय संरचना विखण्डनका लागि सरकारलाई दबाब दिन नेताहरू असफल रहे र संविधानको व्यापक ढाँचाभित्र मधेशलाई मान्यता दिनुको महत्व प्रमाणित गर्न सकेनन्।

यद्यपि, काठमाडौमा मधेशसम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना भएका थिए। कार्यक्रम प्रायः सतही छलफलमा सीमित रहन्थे र कहिलेकाहीँ त यस्ता कार्यक्रमद्वारा मधेशका मुद्दाहरू अस्वीकार नै गरिन्थ्यो। हामीले गहिरो बहस र विमर्शको खाँचो देख्यौँ। यसै क्रममा, हामी मधेश मिडिया हाउस पुगेका थियौँ। त्यहाँ मधेशसम्बन्धी पुस्तकहरूको विस्तृत सूची त पाइयो, तर कुनै पनि पुस्तक उपलब्ध भने थिएन।

आभास गुरु, संस्थापक एवं अभिभावक, मधेश लाइब्रेरी एण्ड रिसर्च सेन्टर

यही अवस्थाले हामीलाई एमएलआरसी स्थापना गर्न प्रेरित गर्‍यो। एमएलआरसीमा मधेशसम्बन्धी सबै कुरा—यसको इतिहास, वर्तमान अवस्था, अस्तित्व र यसको समृद्धिको सम्भावना—उपलब्ध गराउने लक्ष्य राखिएको छ। बिडम्बना, अहिलेको ई-लाइब्रेरीको युगमा मधेशसम्बन्धी सन्दर्भहरू अनलाइनमा पाइँदैनन्। जे लेखिएको छ, त्यो पनि थोरै पुस्तकहरूमा मात्र सीमित छ। त्यसैले मधेशसम्बन्धी सम्पूर्ण अध्ययन सामग्रीको सहज पहुँच सुनिश्चित गर्न हामीले सामग्री सङ्कलन गरी क्रमशः डिजिटलाइज गर्ने लक्ष्य लिएका छौँ।

यस बाहेक, तेस्रो मधेश आन्दोलनपछिको अवस्थामा वैचारिक तथा चेतनाको रिक्तता सिर्जना भयो र सो अनुभवले मधेशीहरूमा पराजयको भाव उत्पन्न गर्‍यो। यसकै प्रभावले गर्दा आन्दोलनमा सहभागी भएका युवाहरू समेत धार्मिक तथा जातीय अतिवादी समूहतर्फ आकर्षित हुन पुगे। हाम्रो बुझाइमा, यसले मधेशलाई विभाजित गर्नेछ र मधेशको अधिकार तथा सम्मानसँग सम्बन्धित आन्दोलनहरूलाई कमजोर पार्नेछ।

यसको मूल कारण भनेको सामूहिक मधेशी चेतनाको गिरावट हो। यो चेतनालाई पुनः जागृत गर्नु र मधेशका आधारभूत मुद्दाहरूमा ध्यान केन्द्रित गराउनु नै एमएलआरसीको उद्देश्य हो। अझ, मधेश त जनक, विद्यापति र बुद्धको भूमि हो भने चेतना विकासमा किन पछि पर्ने?

मधेश लाइब्रेरीको आवश्यकतासँग जोडिएको समाजशास्त्रीय पक्ष व्याख्या गर्दै अंशु भन्छन्—

काठमाडौ केवल राजधानी मात्र होइन, यो ज्ञान उत्पादनको केन्द्र पनि हो।

काठमाडौमा मधेशी पहिचानका साथ बस्नेहरूसँग आफ्ना व्यक्तिगत अनुभवका आधारमा मधेशसम्बन्धी आफ्नै विचार र दृष्टिकोण हुन सक्छ। तर, त्यस्ता व्यक्तिगत अनुभवलाई सामूहिक पहिचानमाथिको भेदभावसँग जोड्ने व्यापक ज्ञानको भने प्रायः अभाव देखिन्छ।

राष्ट्रिय रूपमा उपयोगी ज्ञान उत्पादन गर्ने संस्थामा मधेशीहरू नेतृत्वदायी भूमिकामा देखिँदैनन्। गैर-मधेशी व्यक्तिले जतिसुकै तटस्थ रहने प्रयास गरे पनि केही पूर्वाग्रहहरू रहिरहन्छन्। मैले मधेशीका रूपमा अनुसन्धानका लागि महत्त्वपूर्ण ठानेका विषयवस्तुहरू, मधेशी समुदायले भोग्नुपरेको भेदभाव अनुभव नगरेको गैर-मधेशीलाई सोही स्तरमा महत्त्वपूर्ण नलाग्न सक्छ।

उदाहरणका लागि, मधेशमा जबरजस्ती एकल भाषा नीति लागू गरेर कसरी राष्ट्रिय पहिचान र गौरवका विम्बहरूको भाष्य निर्देशित गरियो र नेपाली भाषालाई शिक्षाको अनिवार्य माध्यम बनाइँदा मधेशका समुदायहरू कसरी सिमान्तकृत हुन पुगे भन्ने कुरा बुझ्न र विखण्डन गर्न आवश्यक ठानेर केही दिनअघि हामीले प्रत्योष ओन्ताद्वारा लिखित ‘एम्बिभेलेन्स डिनाइड: द मेकिङ अफ राष्ट्रिय इतिहास इन पञ्चायत इरा टेक्स्टबुक्स’ को अध्ययन गर्‍यौँ।

कसैले पनि बढ्दो उमेरका बालबालिकामा मधेश र मधेशीहरूप्रति द्वेषपूर्ण भावना भरिराख्नु नपर्ने रहेछ। यो भावना त उनीहरूमा पञ्चायतकालीन अवधारणामा आधारित पाठ्यपुस्तकहरू मार्फत स्वतः आउने देखिन्छ। काठमाडौमा धेरै शैक्षिक तथा सामाजिक-राजनीतिक खुला फोरम तथा संस्थाहरू छन्। यद्यपि, यस्ता विषयहरू छलफलमा कहिल्यै आएनन्।

अर्को उदाहरण भनेको नेपाल प्रिमियर लिगमा भएको दुर्भाग्यपूर्ण घटना हो। आरोपिहरूले व्यक्तिगत रूपमा पनि गल्ती गरेका हुन्, तर दोष केवल उनीहरूमाथि मात्र थोपर्न मिल्दैन। बृहत् परिप्रेक्ष्यमा हेर्दा, प्रतियोगिताको सुरुवात देखि नै अधिकांश सुदूरपश्चिमका समर्थकहरू जनकपुर टिमप्रति वैमनस्यपूर्ण  थिए। उनीहरू अवचेतन रूपमा— ‘नेपालीजस्ता नदेखिनेहरूको प्रतिनिधित्व गर्ने टिमले हाम्रै भूमिमा कसरी उपाधि उचाल्न सक्छ?’ जस्तो सोचबाट प्रभावित थिए।

यो भावना कसरी जन्मियो? यसको अध्ययन जरुरी छ। पहाडी समुदायको नेतृत्वमा रहेका संस्थाहरूलाई यस्तो अध्ययन गर्नुपर्ने आवश्यकता महसुस हुने सम्भावना कम छ। यस्तो अध्ययनको आवश्यकता महसुस गर्ने हामी, सिधै मार्टिन चौतारी वा सोसल साइन्स बहजस्ता संस्थाहरूले गर्ने स्तरको बहस सिर्जना गर्न नसकौला, तर कम्तीमा कतै न कतैबाट सुरुवात गर्न चाहन्छौँ।

मधेशका आफ्नै ज्ञानसम्बन्धी आवश्यकताहरू छन्, जसको अन्वेषण हुनुपर्छ। मधेशभित्र र वरपर देखिने सामाजिक घटनाक्रम— मधेशमा जे छ, जे चलिरहेको छ, त्यो कसरी र किन भइरहेको छ— यी विषयहरू बहसमा आउनुपर्छ। साथै, देशभित्र वा नेपालसम्बन्धी अन्तर्राष्ट्रिय घटनाक्रममा मधेशको दृष्टिकोणसमेत समेटिनुपर्छ।

आभासका विचारहरू उद्धृत गर्दै ‘ज्ञान सत्ता’ को व्याख्यामा अंशु भन्छन्—

ज्ञान मानव निर्मित उत्पादन हो। सामान्य ज्ञान लगायत स्वेच्छा वा अवचेतन रूपमा ग्रहण गर्ने जुन सुकै ज्ञान कुनै न कुनै रूपमा निर्माण नै गरिएका हुन्छन्। उदाहरणका लागि, बाटोमा हिँड्नुपर्दा हामी कुन छेउ हिँड्नुपर्छ—बायाँ कि दायाँ? यहाँसम्म कि, म कसरी सोच्दछु भन्ने कुरा पनि कसैद्वारा उत्पादित ज्ञानमा आधारित हुन्छ।

विश्वविद्यालयलाई ज्ञान उत्पादनको केन्द्र मानिन्छ। अनि, जसले ज्ञानको उत्पादन र ज्ञानलाई नियन्त्रण गर्छ, उसैले हाम्रो चेतनालाई आकार पनि दिन्छ। उदाहरणका लागि, दाइजो नेपालभर व्याप्त समस्या हो, तर ‘दाइजो’ शब्दलाई मधेशसँग मात्र जोडिएको पाइन्छ। मुख्यधारका आमसञ्चार माध्यमहरूले यस विषयलाई बारम्बार यसरी लेखे, देखाए अनि स्थापित गरिदिए कि मानौँ यो समस्या केवल मधेशी परिवारभित्र मात्र छ।

हो, यो सत्य हो कि मधेशमा दाइजोका अत्यन्त विकृत रूपहरू—यहाँसम्म कि जिउँदै जलाइने घटनासमेत देखिन्छन्। तर, यस्तो चित्रणकै कारण जब कोही मधेशमा व्याप्त दाइजोबारे कुरा गर्छ, समाधान खोज्नेभन्दा पनि मधेशको उपहास गर्नतर्फ बढी उन्मुख देखिन्छ।

मेरो बुझाइमा, ज्ञान उत्पादनमा भूमिका राख्न पाउनु भनेको नै ज्ञान सत्ता हो। हामी अहिलेको ज्ञान सत्ता संरचना र उत्पादन प्रक्रियामा हस्तक्षेप गर्न चाहन्छौँ [जसलाई पहाडी समुदायभित्रको एक सीमित समूहले मात्र नियन्त्रण गरिरहेको छ]।

एमएलआरसी अहिले के गर्दैछ? अंशु भन्छन्—

मधेश राजनीतिजस्तै, पुस्तकालयसँग आबद्ध अधिकांश युवाले पनि मधेशको एउटा निश्चित जिल्ला, क्षेत्र वा जातको मात्र प्रतिनिधित्व गरिरहेका छन्। हामी हाम्रा सम्बन्धहरूमा विविधता ल्याएर हाम्रो सञ्जाल फैलाउने प्रयास गरिरहेका छौँ। हामी दलित, मुस्लिम तथा अन्य समुदायका युवाहरू, साथै मधेश प्रदेशबाहिरका तराई जिल्लाका युवाहरूसँग जोडिने प्रयास गरिरहेका छौँ। मधेश प्रदेशभित्रै पनि, हामीले पश्चिमी जिल्लाका युवाहरूसँग एउटा बलियो सञ्जाल बनाउन अझै सकेका छैनौँ। 

दोस्रो, हामी ‘मधेश संवाद’ नामक नियमित छलफल शृङ्खला सञ्चालन गर्छौं जहाँ हामी यस क्षेत्रका चासोका विषयमा सार्थक संवाद गर्छौं। हालसम्म हामीले १८ वटा शृंखला सम्पन्न गरिसकेका छौँ।

अंशु कुमार, मधेश लाइब्रेरी एण्ड रिसर्च सेन्टरका संयोजक

तेस्रो, ज्ञान सत्ताको सन्दर्भमा, मधेशले पढ्नै पर्छ भन्ने हाम्रो विश्वास छ। जब कुनै मधेसी नेता वा युवा राजनीतिबारे बोल्छन्, प्रायः तिनका भनाइहरू भावनात्मक रूपमा निर्देशित वा व्यक्तिगत अनुभवमा आधारित हुन्छन्। तर, ज्ञान सत्तामा धावा बोल्न त्यो भन्दा बढी हुनुपर्छ। उनीहरू, प्राज्ञिक आधारमा किताब र तथ्यहरू उद्धृत गर्दै बोल्न सक्षम हुनुपर्छ। पठन संस्कार तथा तथ्यमा आधारित वाक कला विकास गर्न हामी नियमित पुस्तक छलफल शृंखला ‘मधेश पढेला’ सञ्चालन गर्छौं। यस शृंखलामा, सहभागी तथा प्रस्तुतकर्ताले पुस्तकको विषयवस्तुमा आलोचनात्मक विचारहरू साटासाट गर्छन्।

वित्तीय चुनौतीहरूका बाबजुद हामी अहिले पनि मधेशसम्बन्धी पुस्तकहरू [र कुनै पनि प्रकारको साहित्य] सङ्कलन गर्ने प्रयासमै छौँ। यद्यपि, व्यक्तिगत दाताहरूबाट प्राप्त सबै पुस्तकहरू हाम्रो आवश्यकता अनुसारका नहुन पनि सक्छन्।

मधेशी बुद्धिजीवी वर्ग निर्माण गर्न एमएलआरसीको स्थापना र यसको राजनीतिक भूमिकासम्बन्धी अंशुको धारणा—
(सन्दर्भ: एमएलआरसी जस्तै उद्देश्य र दृष्टिकोण बोकेका केही संस्थाहरू सीमित व्यक्तिको स्वार्थका कारणले धराशायी भएका उदाहरणहरू छन्। नेताहरूले सामूहिक पहिचानलाई व्यक्तिगत फाइदाका लागि, विशेषतः राजनीतिक लाभका लागि प्रयोग गर्दा संस्थाको नैतिकता नै समाप्त पार्ने गरेका छन्।)

समाजशास्त्रमा सबै चीजका व्यक्त उद्देश्य र अप्रत्यक्ष प्रभावहरू हुन्छन्। एमएलआरसीको व्यक्त उद्देश्य हो— सचेत मधेशी बुद्धिजीवी वर्गको निर्माण गर्नु। तर हामी उनीहरूलाई नियन्त्रण गर्न भने सक्दैनौँ । यदि कोही यहाँबाट राजनीतिमा प्रवेश गर्न चाहन्छ भने पनि समाजलाई गहिरोसँग बुझ्ने मौका पाएकाले राम्रो राजनीतिज्ञ बन्न सक्छ भन्ने हाम्रो बिश्वास छ। केवल भावनामा निर्भर नेताहरूभन्दा त्यस्ता राजनीतिज्ञहरू अवश्य नै उच्च स्तरका हुनेछन्। यो एमएलआरसी स्थापनाको अप्रत्यक्ष प्रभाव हुन सक्छ।

त्यसैगरी, कुनै पनि संस्थालाई राजनीतिबाट पूर्ण रूपमा अलग राख्न कठिन छ। एमएलआरसीका सदस्यहरू राजनीतिक रूपमा सक्रिय हुन स्वतन्त्र छन्, तर संस्था भने प्राज्ञिक क्षेत्रभित्र मात्र सीमित रहनेछ। हामी संस्थागत रूपमा खोजमूलक लेख तयार गर्न सक्छौँ, राजनीतिक विचार राख्न सक्छौँ, संवाद आयोजना गर्न सक्छौँ र ज्ञान उत्पादनमा संलग्न हुन सक्छौँ। उदाहरणका लागि, यदि मैले कुनै दिन राजनीतिमा प्रवेश गरे भने, म एमएलआरसीको पदबाट अलग हुनेछु। मलाई एमएलआरसीको पूर्वसंयोजकका रूपमा चिनिन सकिएला, तर म संस्थालाई सडक राजनीतिमा तान्ने छैन।

पठन संस्कृतिको ह्रास हुँदै गएको र पुस्तकालयहरू बन्द भइरहेका बेला एमएलआरसीको सान्दर्भिकता—आभासको विचार

यदि कसैमा कुनै विषय वा प्रसङ्गप्रति जिज्ञासा उत्पन्न गराउन सकियो भने, उसले त्यो विषयबारे थप पढ्ने रुचि विकास गर्छ। त्यसपछि, उसले सो विषयमा अझ गहिराइमा बुझ्न अध्ययन सामग्रीहरू खोज्न थाल्छ। हाम्रो साप्ताहिक ‘मधेश संवाद’ र ‘पुस्तक चर्चा’ शृङ्खलाहरू यही उद्देश्यलाई पूरा गर्न लक्षित छन्। त्यसैले एमएलआरसी पुस्तकालयका रूपमा अझै पनि सान्दर्भिक छ। साथै, हामी फराकिलो पहुँच सुनिश्चित गर्नका लागि ई-लाइब्रेरी निर्माण गर्ने योजनामा जुटिरहेका छौँ, जसले यसको सान्दर्भिकतालाई अझै बढाउने छ।

एमएलआरसीलाई अनुसन्धान केन्द्रका रूपमा हेर्दा— आभासको दृष्टिकोण

फेडरिक एच. गेजको पुस्तक ‘रिजनालिजम एन्ड नेशनल युनिटी इन नेपाल’ ले मधेशको हरेक पाटोलाई समेट्छ— राजनीति, अर्थतन्त्र, नेपालको त्यतिबेलाको कुल गार्हस्थ उत्पादनमा मधेशको [७० प्रतिशत भन्दा बढी] योगदान, भाषा, संस्कृति, आदि। मधेशका क्रान्तिहरूबारे विभिन्न पुस्तकहरू उपलब्ध भए पनि, गेजको पुस्तक गहिरो अध्ययन गरिएको हालसम्मकै एकमात्र विवरण हो। अरू कुनै पनि अनुसन्धान संस्थाहरूले मधेश र यसको सन्दर्भलाई प्राथमिकता दिएको पाइँदैन। यद्यपि, मधेशका कतिपय विषयहरू उनीहरूको अप्रत्यक्ष चासोमा पर्न सक्छन्।

हामीले मधेशका हरेक पक्षहरूको अध्ययन गर्ने परिकल्पना गरेका छौँ। अहिले हामी सुरुआती चरणमा छौँ र अनुसन्धानकर्ताहरूसँग समन्वय गर्दै लक्ष्यसम्म पुग्ने योजना बनाएका छौँ। तर, त्यसभन्दा पहिला पुस्तकालयलाई संस्थागत गर्नु हाम्रो मुख्य प्राथमिकता हुनेछ।

एमएलआरसीलाई अनुसन्धान केन्द्रका रूपमा थप स्पष्ट पार्दै अंशु भन्छन्—

जब हामी आफ्नो क्षमता विकास गरेर आवश्यक स्रोत-साधन जुटाउन सक्ने हुन्छौँ, हामी अनुसन्धानको कामलाई अगाडि बढाउनेछौँ। एक हिसाबमा, अनुसन्धानको आधार भनेको नै पुस्तकालय हो। मलाई विश्वास छ, हामीसँग आवद्ध भएका र भविष्यमा आवद्ध हुने युवाहरूले अनुसन्धानका लागि आवश्यक क्षमता हासिल गर्नेछन्। आवश्यक परे, हामी योग्य जनशक्ति नियुक्त गर्नेछौँ। फेरी अनुसन्धान केवल रुचिको विषय मात्र पनि त होइन। यसका लागि ठूलो आर्थिक लगानी चाहिन्छ। हामीसँग हाल वित्तीय स्रोत छैन— पुस्तकालयको भाडा तिर्नसमेत कठिन छ। पुस्तकालयका सदस्यहरूले आफ्नै खल्तीबाट योगदान गरिरहेका छन्। त्यसैले तत्कालका लागि अनुसन्धानको योजना त छैन, तर भविष्यका लागि स्पष्ट दृष्टिकोण भने अवश्य छ।

निराश र हतोत्साहित मधेशका जेन-वाई पुस्ताका बारेमा आभास भन्छन्—

हामीले तेस्रो मधेश आन्दोलन असफल भएपछि निराश बनेका जेन-वाई वा मिलेनियल पुस्तामा पुनः आशाको किरण जगाउन सक्नुपर्छ। उनीहरूमा पराजयको अनुभूति, आफ्नै नेताहरूबाट धोका खाएको तीतोपन, अनि राज्य संयन्त्रहरूसँग लड्न असमर्थ भएको मानसिकता विद्यमान छ।

मधेश अधिकार र प्रतिष्ठाका लागि भएका आन्दोलनहरू (पहिलो मधेश आन्दोलनदेखि तेस्रो आन्दोलनसम्म) मा भाग लिएका यस पुस्ताका अधिकांश व्यक्तिहरू ज्ञानमा आधारित नभई भावनात्मक रूपमा प्रेरित र सञ्चालित थिए। उनीहरूलाई उपेन्द्र यादव कसरी एक क्रान्तिकारीबाट सत्तामुखी नेतामा परिणत भए भन्ने राम्ररी थाहा छ। तर, राज्यले उनीहरूलाई कहिल्यै रामराजा प्रसाद सिंहजस्ता नेताहरूको बारेमा बताउन चाहेन, जसको ४,००० बिघा जमिन पञ्चायतमा राष्ट्रियकरण गरियो र जसले प्रधानमन्त्री पद अस्वीकार गर्दै भनेका थिए, ‘म बिक्री हुने मान्छे होइन।’

यदि अध्ययन, बहस र छलफलमार्फत हामीले इतिहास तथा अन्तर्राष्ट्रिय अधिकार र प्रतिष्ठाका आन्दोलनहरूको उत्कर्ष र उतारहरू बुझ्यौँ वा बुझाउन सक्यौँ भने, हामीले तिनै लडाइँका आरोह-अवरोहहरूबाट उदाहरण लिई यो पुस्तालाई पुनः आशावादी बनाउन सक्छौँ।

मधेशका अनविज्ञ जेन-जेड र जेन-अल्फा पुस्ताबारे आभास भन्छन् —

मधेश आन्दोलनहरूपछि यी पुस्ताहरूले पहिलेकोझैं प्रत्यक्ष रूपमा विभेद भोग्नुपरेको छैन। तथापि, निर्णायक तहमा प्रतिनिधित्वको अभावको रूपमा भेदभाव अझै पनि विद्यमान छ।

यी पुस्ताहरू हुर्कँदा संविधान जारी भइसकेको थियो। राज्य तीन तहमा पुनःसंरचित भइसकेको थियो, जसमा मधेश प्रदेश र स्थानीय तहहरूलाई शासन अधिकार प्रदान गरिएको थियो। यसको प्रभावस्वरूप उनीहरूलाई राज्यले अधिकार दिएको छ र संविधान विभेदकारी छैन भन्ने लाग्यो। त्यसैले, उनीहरूमा राज्यप्रति सकारात्मक दृष्टिकोण विकसित भयो।

तर, नेपाल प्रिमियर लिग (एनपीएल) को नश्लीय विभेद को घटनाले उनीहरूलाई विभेद अझै कायम रहेको महसुस गरायो। विम्बात्मक रूपमा हेर्दा, उनीहरूले नेपाली झन्डा बोकेर [नेपाली क्रिकेटको उत्सव मनाउँदा-मनाउँदै] पनि मधेसीहरू अपमानित भएको देखे। 

एनपीएल नश्लीय विभेदको घटनालाई ऐतिहासिक भेदभावपूर्ण नीति तथा घटनाहरूसँग जोडेर व्याख्या गर्दै नयाँ पुस्तालाई विभेदबारे सचेत गराउनु पर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ। त्यसैगरी, हामीले संविधानका त्यस्ता प्रावधानहरूको पनि अध्ययन र छलफल गर्न जरुरी छ, जसले अझै पनि भेदभावलाई निरन्तरता दिइरहेका छन्। एमएलआरसी त्यस्ता बहस र विमर्शको निम्ति सही स्थान हुन सक्छ।

उदाहरणका लागि, संविधानले समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्छ। संविधानको धारा ४२ मा ‘समानुपातिक प्रतिनिधित्व र समावेशिता’ को व्यवस्था गरिएको छ, जसअनुसार राज्यका सबै अंगहरूमा सबै समुदायहरूको सहभागिता सुनिश्चित गरिनुपर्छ। तर, नेपाली सेनाले यो व्यवस्थालाई केवल ‘समावेशिता’ सम्म सीमित गरेर कार्यान्वयन गरिरहेको छ। के सेना राज्यको अंग होइन? 

संविधानभित्र रहेका यस्ता विरोधाभासी व्यवस्थाहरूलाई छलफलमार्फत युवाहरूबीच उजागर गर्दै अधिकारहरू अझै सुनिश्चित भएका छैनन् भनेर झकझक्याउन सकिन्छ। साथै, विश्वभरिका राजनीतिक तथा सामाजिक प्रतिष्ठाका आन्दोलनहरूको अध्ययन पनि हाम्रा लागि प्रेरणादायी हुन सक्छन्।

कुन-कुन अधिकारहरू अझै सुनिश्चित हुन बाँकी छन्? आभास स्पष्ट पार्छन्—

हरेक मानिसलाई आफ्नो जीवन सम्मानजनक बनाउन के आवश्यक छ भन्ने थाहा हुन्छ। उनीहरूले विद्रोह नगरे पनि के अभाव छ भन्ने बोध उनीहरूलाई भइरहेकै हुन्छ। उदाहरणका लागि, हाम्रा हजुरआमाहरूमा, बिद्रोह गर्ने हिम्मत नभएपनि श्रीमानले घरमै उब्जिएको धान आफूसँग सल्लाहै नगरी बेच्ने जस्ता मनलाग्दी व्यवहार गरेको, बोध भने थियो। सारांशमा भन्नुपर्दा, आत्मसम्मानका साथ बाँच्न आवश्यक पर्ने सबै कुरा नै अधिकार हुन्।


एमएलआरसी र यसको स्थापना पछाडिको उद्देश्य बुझ्ने क्रममा, हामी एउटा धारणामा ठोक्कियौँ— ‘जति यो देश तिम्रो, त्यति मेरो पनि’।

राष्ट्रियता र राष्ट्रप्रतिको आफ्नो निष्ठा प्रमाणित गर्नु पर्ने भार मधेसीहरुले सधै बोक्नु परेको अंशुको तर्क छ। “यो देशमा ठूला-ठूला समूहहरू छन्, जसले कहिल्यै यस्तो प्रमाणित गर्नुपर्ने अवस्था आउँदैन। मधेशीहरूले यो प्रमाणित गर्नु नपर्ने दिन नै हामीले समान स्थान प्राप्त गरेको दिन हुनेछ” अंशु गुनासो गर्छन्।

आभासले विभिन्न प्रदेशहरूमा विभाजित मधेश क्षेत्रलाई भावनात्मक रूपमा एकताबद्ध गर्ने आशा राखेका छन्। उनी सम्झन्छन्— “पूर्वी मधेश (विराटनगर र रंगेली) र पश्चिमी मधेश (भैरहवा) का युवाहरूले पनि मधेशको लागि आफ्नो ज्यानको बलिदान दिएका थिए।”

संवादको अन्त्यमा, सांस्कृतिक राष्ट्रवाद तथा नागरिक राष्ट्रवाद, राज्यको ‘कार्यात्मक संस्था’ स्वरूप र नागरिकताको माध्यमबाट शासकीय अधिकार प्रत्यायोजन गर्दै राजनीतिक, सामाजिक र आर्थिक ग्यारेन्टी तथा सुरक्षाहरू सुनिश्चित गर्न राज्यसँग हामीले गरेको सम्झौता तर्फ हाम्रो बहस मोडियो।


अधिवक्ता प्रज्ञा ढकालद्वारा अनुवादित

थप सामाग्री पढ्नुहोस

समाज

सार्वजनिक बसमा गंगाराम खाइजुको क्रान्ति: सफा, व्यवस्थित र जिम्मेवार यात्रा

काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको अवस्था सम्झिँदा हामीमध्ये धेरैको दिमागमा खचाखच यात्रुहरू, गेटमा झुन्डिएका...

रोशन पोखरेल

समाज

न्याय खोज्न हिडेका अनवरत पाइलाहरू

विभिन्न अवरोधका बाबजुद गएको २०२४ भरि नै काठमाडौमा दुई फरक प्रदर्शनहरू देखिए। दुवै...

विवेक वर्णवाल

अर्थव्यवस्था

के निजी विद्युतीय सवारीसाधनमा कर लगाउने कदम वास्तवमै प्रतिगामी हो?

यो आलेख २०७७ असार ६, शनिवारको दिन हाम्रो अंग्रेजी संस्करण द_फारसाईटमा छापिएको लेखको...

सबिन जङ्ग पाँडे

×

×