‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।’
अर्थात्, ‘कर्म गरौं, फलको चिन्ता नगरौं।’
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जनमाष्टमी’ पर्व आज देश भर भगवान श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्धापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको तिथीलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस तिथीमा देशभरीका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने परम्परा छ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ।
यस अवसरमा विराटनगरको तिनपैनस्थित श्री राधाकृष्ण मन्दिरमा विशेष पूजा र ठूलो मेला लाग्ने गर्छ। यसैगरी देशैभरका साना ठूला श्रीकृष्णमन्दिरहरुमा भक्तजनहरुले विशेष पूजा, भजन कीर्तन गर्ने गर्छन्। यसै उपलक्ष्यमा विभिन्न धार्मिक संघसंस्थाहरुद्धारा श्रीकृष्णको झाँकीसहितको शोभायात्रा तथा रथ यात्रा निकाल्ने संस्कृतिक परम्परा छ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानव जगत्को रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव जगत्लाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई दिव्य उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने ग्रनथ विश्वमका अधिकाशं भाषामा अनुवाद समेत भएका छन्।
विराटनगरको रथयात्रा
प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने धार्मिक राधाकृष्ण रथ यात्रा यस वर्ष पनि निकालिनेछ। यस वर्षको ९५ औं संस्करणको राधाकृष्ण रथयात्रा निकाल्ने तयारी पूरा भएको छ। भोली (भदौ २० गते) विराटनगर महानगरपालिका–१ स्थित तीनपैनी चोकबाट रुपमा सांस्कृतिक झाँकी, बाजागाजा सहित श्री राधाकृष्ण रथयात्राले नगर प्ररिक्रमा गर्नेछ।
विराटनगरको राधाकृष्ण रथयात्रा केवल धार्मिक उत्सव मात्र नभई सहरको ऐतिहासिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छ।
विराटनगरमा प्रत्येक वर्ष निकालिने राधाकृष्ण रथयात्रालाई भारतको ओडिशा राज्यस्थित जगन्नाथपुरीमा निकालिने रथयात्रापछि दक्षिण एसियाकै दोस्रो ठूलो धार्मिक रथयात्राका रूपमा मानिन्छ। रथयात्राको अवलोकन र दर्शन गर्न नेपालसँगै भारतका विभिन्न स्थानबाट भक्तजनहरु भारीमा मात्रामा आउने गर्दछन्।
वि.स. १९८८ मा खटयात्राबाट सुरु भएको शोभायात्रा २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो। ८ जनाले थालेको खटयात्रा अहिले रथ यात्रामा परिणत हुँदा प्रत्येक वर्ष ५ लाख बढी भक्तजनहरु सहभागी हुँदै आएका छन्। तीनपैनीमा श्री राधाकृष्णको मन्दिर स्थापना भएको भोली पल्ट राधाकृष्ण्को युगल जोडीको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराउने परम्पराबाट सुरु भएको हो।
खटयात्राका रुपमा रहेको यो परम्परा वि.स. २०२२ सालदेखि बयलगाडामा र वि.स. २०२५ सालदेखि भने व्यवस्थित रुपामा रथ निर्माण गरी रथयात्राका रुपमा हुँदै आएको छ।
विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतको पहलमा ०२५ सालमा रथ निर्माण भएपछि खटयात्राबाट बयलगाडा र रथयात्रामा परिणत भएको थियो।
यो वर्षको श्रीराधाकृष्णको खटयात्राको ९५ वर्ष पुगेको छ भने रथयात्राका स्वरुपमा निकालिन थालेको ५८ वर्ष पुगेको छ। नयाँ रथ प्यागोडा शैलीमा निर्माण गरिएको छ। यसअघि प्रयोग हुँदै आएको रथभन्दा नयाँ रथ ठूलो तथा आकर्षक बनाइएको छ। यसअघि निर्माण गरिएको रथ ५७ वर्षसम्म प्रयोग गरिएको थियो। पूरानो रथ जीर्ण र भक्तजनलाई विराजमान श्री राधाकृष्णको दर्शन गर्न कठिनाइ हुने भएकोले, विराटनगर महानगरपालिका र राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको संयुक्त लगानीमा नयाँ रथ निर्माण गरिएको हो।
यस वर्षको रथयात्राका क्रममा संकलन हुने दान रकम बाढीपीडितका सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्ममा गर्ने आयोजकाले जनाएको छ। विगतका वर्षमा दानपेटिकामा करिब २ लाख रुपैयाँसम्म संकलन हुने गरेको भएपनि यसपटक देशमा देखिएको विपद्को अवस्थालाई ध्यानमा राख्दै भक्तजनलाई आफ्नो इच्छाअनुसार सक्दो बढी सहयोग गर्न समितिले आग्रह गरेको छ।
रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले यस वर्ष विगतभन्दा अझ व्यवस्थित रुपमा रथयात्रा निकाल्ने तयारी रहेको बताए। प्रशासनको निर्देशनअनुसार यसपटक रथयात्रामा डिजे प्रयोगमा रोक लगाइएको रेग्मी बताए।
लाखौंको संख्यामा भक्तजन सहभागी हुने रथयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन मोरङ प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको छ। जिल्ला प्रहरी कार्यलय मोरङका अनुसार रथयात्राका क्रममा नेपाल प्रहरीका तर्फबाट करिब ९ सय सुरक्षाकर्मी परिचालन गरिनेछ।
विराटनगरको धार्मिक तथा सांस्कृतिक पर्यटनसँग जोडिएको यो रथयात्रा पछिल्ला वर्षमा विराटनगरको छुट्टै पहिचानको रुपमा स्थिापित हुँदै आएको छ। एक शताब्दी पुरा हुन ५ वर्ष कम रहेको खटयात्राको परम्परालाई निरन्तरता दिँदै आधुनिक रथसहित अघि बढिरहेको श्री राधाकृष्ण रथयात्राले यस वर्ष ९५ औं ऐतिहासिक यात्रा पुरा गर्दैछ।
थप सामाग्री पढ्नुहोस
बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए
रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट आज तातोपानी...
बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?
रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको बाढीपछि विभिन्न देश र अन्तरराष्ट्रिय...
एक सातामा २५२ कन्टेनर कोरला पुगे
भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न थालिएको छ। रसुवागढी...
×