तस्बिर: नेपालस्थित चिनियाँ दूतावास |  फेसबुक
तस्बिर: नेपालस्थित चिनियाँ दूतावास | फेसबुक

समाचार

भोटेकोशी प्रलयपछि नेपाललाई भारत र चीनको साथ, खोजी–उद्धारमा अन्तर्राष्ट्रिय सहयोग विस्तार

भारत र चीनसहित विभिन्न मित्रराष्ट्रको मानवीय तथा प्राविधिक सहयोगबीच भोटेकोशी बाढीपछि नेपालमा खोजी, उद्धार, शव पहिचान र राहत अभियान जारी छ।

By प्रेम कुमार साह |

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपालमा खोजी, उद्धार तथा राहत अभियान तीव्र बनाइएको छ। विपद्को यस कठिन घडीमा नेपालका दुई छिमेकी मुलुक भारत र चीनले मानवीय सहायता, विशेषज्ञ जनशक्ति, नगद सहयोग, उद्धार उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराएका छन्।

अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। कैयौं स्थान अझै सडक सञ्जालबाट विच्छेद छन्। विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेका कामदारको उद्धार चुनौतीपूर्ण बनेको छ। सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह, स्वयंसेवक तथा अन्य निकायको समन्वयमा खोजी, उद्धार, राहत वितरण र शव व्यवस्थापनको काम निरन्तर गरिरहेको छ।

बाढीपछि रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट तथा नवलपरासी पूर्व र पश्चिमका विभिन्न स्थानमा अनुमान गरिएभन्दा ठूलो संख्यामा शव फेला परिरहेका छन्। तर विपद्को पाँचौं दिनसम्म पनि मृत्यु, घाइते, बेपत्ता तथा उद्धारको प्रतीक्षामा रहेका व्यक्तिहरूको एकीकृत विवरण पूर्ण रूपमा संकलन हुन सकेको छैन।

बाढीले प्रभावित जिल्लामा घर, सडक, पुल, जलविद्युत आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। व्यापारिक तथा आर्थिक गतिविधि पनि प्रभावित भएका छन्।

भारतको निरन्तर मानवीय र प्राविधिक सहयोग

भारतले भदौ १० गते नै रसुवाका बाढीपीडितका लागि १० टन मानवीय सहायता सामग्री नेपाल पठाएको थियो। उक्त सामग्रीमा अस्थायी आश्रय, कम्बल, स्वास्थ्य किट, सोलार बत्ती, औषधी तथा अन्य आपत्कालीन सामग्री थिए।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले कठिन परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको सन्देशसहित सहायता सामग्री पठाइएको बताएका थिए। त्यसयता भारतले नेपाल सरकारको अनुरोधअनुसार राहत सामग्री, औषधी, विशेषज्ञ उद्धार टोली तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ।

भारतले हालसम्म चार खेपमा गरी ६८.५ टन मानवीय सहायता सामग्री हवाईमार्फत काठमाडौं पठाएको जनाएको छ।

दोस्रो खेपमा भदौ ११ गते ३७.५ टन राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। त्यसमा औषधी तथा प्याकेट खानेकुरा थिए। भदौ १२ गते नेपाल सरकारको आग्रहमा थप १० टन मानवीय राहत सामग्री पठाइएको थियो, जसमा पोर्टेबल जेनेरेटर, dignity kit, खाद्य प्याकेट तथा पानी शुद्धीकरण ट्याब्लेटलगायतका सामग्री थिए।

भारतको चौथो खेपमा थप ११ टन राहत सामग्रीसहित १३ सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार विशेषज्ञ टोली र आवश्यक उद्धार उपकरण नेपाल आएको थियो। टोलीले नेपाली सेनासँग सहकार्य गर्दै सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि प्राविधिक मूल्याङ्कन तथा उद्धार कार्यमा सहयोग गरिरहेको छ।

बाढी र पहिरोका कारण ठूलो संख्यामा सडक तथा पुल क्षतिग्रस्त भएपछि यातायात पुनः सञ्चालनका लागि भारतले २३० फिट लामो सिंगल मोडुलर पुल तथा बेली ब्रिज निर्माणका लागि आवश्यक उपकरण पनि नेपाल पठाएको छ। सडकमार्फत १६ ट्रक पुल उपकरण पठाइनुका साथै थप सात वटा बेली ब्रिजका लागि आवश्यक सामग्री उपलब्ध गराइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

शव पहिचानमा सहयोग गर्न भारतले १८ सदस्यीय फरेन्सिक विशेषज्ञ टोली पनि नेपाल पठाएको छ। डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको उक्त टोलीले विभिन्न स्थानमा फेला परेका शवको पहिचानमा नेपाली अधिकारीलाई प्राविधिक सहयोग गरिरहेको छ।

त्यसैगरी, भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर भदौ ११ गतेको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा नेपाललाई खोजी, उद्धार तथा पुनःस्थापनाका लागि भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्। 

चीनको ५० टन राहत र २२ लाख अमेरिकी डलर सहयोग

भारतसँगै चीनले पनि नेपाललाई मानवीय तथा प्राविधिक सहायता उपलब्ध गराएको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई कार्गो विमानमार्फत करिब ५० टन अर्थात् १३ हजार २०० थान आपत्कालीन राहत सामग्री काठमाडौं ल्याइएको थियो।

उक्त सामग्रीमा टेन्ट, कम्बल, स्लिपिङ ब्याग, आपत्कालीन खाद्य सामग्री, प्राथमिक उपचार तथा आपत्कालीन उपचार किटलगायतका सामग्री छन्।

चिनियाँ दूतावासका अनुसार चीन सरकारले नेपाललाई आपत्कालीन बाढी राहतका लागि २० लाख अमेरिकी डलर सहयोग गरेको छ। उक्त रकम चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए। रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ।

त्यसैगरी चिनियाँ रेडक्रस सोसाइटीले थप २ लाख अमेरिकी डलर सहयोग गरेको छ। यससँगै चीनबाट नेपालले तत्कालीन राहत तथा उद्धारका लागि कुल २२ लाख अमेरिकी डलर नगद सहयोग प्राप्त गरेको छ।

चीनले नेपाल सरकारको अनुरोधमा विशेष सुरुङ उद्धार विशेषज्ञ पनि पठाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार अगस्ट ३० सम्म चीनबाट नौ जना सुरुङ उद्धार विशेषज्ञ नेपाल आएर प्रभावित क्षेत्रमा काम गरिरहेका छन्। चीनबाट चार सदस्यीय फरेन्सिक विशेषज्ञ टोली आज साँझ नेपाल आइपुग्दैछ। 

चीनले उच्च क्षमताका विशेष उद्धार उपकरण उपलब्ध गराउने विषयमा पनि सहयोग गरिरहेको छ। नेपाललाई तत्काल आवश्यक पर्ने उपकरणमा उच्च क्षमताका उद्धार उपकरण, फ्रिजर, LiDAR उपकरण, डीएनए तथा फरेन्सिक सामग्रीलगायत रहेका छन्।

सुरुङ उद्धारमा भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ

भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङमा ठूलो मात्रामा माटो, ढुंगा र लेदोयुक्त पानी पसेका कारण त्यहाँ फसेका कामदारको उद्धार सामान्य उपकरणबाट सम्भव नहुने अवस्था बनेको छ।

यसपछि नेपाल सरकारले भारत, चीन र दक्षिण कोरियासँग विशेष सुरुङ उद्धार टोली तथा उपकरणका लागि सहयोग मागेको थियो। भारत र चीनका विशेषज्ञ टोली प्रभावित क्षेत्रमा परिचालित छन् भने दक्षिण कोरियाले पनि विशेष उद्धार विशेषज्ञता उपलब्ध गराएको छ।

भारतको ११ सदस्यीय सुरुङ उद्धार टोली र चीनको नौ सदस्यीय टोलीले प्रभावित क्षेत्रमा काम गरिरहेका छन्। चीनले सुरुङ उद्धारका लागि दुईवटा विशेषज्ञ टोली परिचालन गरेको छ।

सुरुङ उद्धारसँगै प्राविधिक सूचना तथा अनुभव आदानप्रदान पनि विपद् व्यवस्थापनको महत्वपूर्ण पक्ष बनेको छ।

नेपालले थप अन्तर्राष्ट्रिय सहयोग माग्यो

खोजी, उद्धार र राहतसँगै शव पहिचानका लागि नेपालले अन्य मित्र राष्ट्रसँग पनि विशेष सहयोग मागेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार पीडितको पहिचानका लागि नेपालले अमेरिकासँग डीएनए परीक्षणसम्बन्धी सहयोग र सिंगापुरसँग Disaster Victim Identification (DVI) सहयोग मागेको छ। सिंगापुरले DVI टोली पठाउनुका साथै जारी खोजी तथा राहत अभियानमा ड्रोन सहयोग उपलब्ध गराउने तयारी गरेको छ।

जापान र दक्षिण कोरियाबाट पनि थप विशेष उपकरण तथा प्राविधिक सामग्री आउने अपेक्षा गरिएको छ। अमेरिका, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, जापानलगायतका देश तथा विभिन्न अन्तर्राष्ट्रिय साझेदारले नेपाललाई राहत तथा उद्धार सामग्री उपलब्ध गराएका छन्।

हालसम्म नेपालले विभिन्न देश तथा साझेदारबाट टेन्ट, कम्बल, स्लिपिङ ब्याग, जेनेरेटर, सोलार बत्ती, औषधी, खाद्य सामग्री, डीएनए परीक्षण किट, फ्रिजर तथा अन्य आपत्कालीन उद्धार सामग्री प्राप्त गरिसकेको छ।

उद्धारपछि पुनर्निर्माणको ठूलो चुनौती

भोटेकोशी बाढीबाट भएको क्षति तत्कालीन उद्धार तथा राहत अभियानमा मात्र सीमित छैन। प्रभावित क्षेत्रमा घर, सडक, पुल, जलविद्युत आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा भएको क्षति पुनःस्थापना गर्न नेपालले ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने देखिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार उद्धार र राहतको तत्कालीन चरणपछि पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक सहयोगको विस्तृत आवश्यकता Post-Disaster Needs Assessment (PDNA) मार्फत निर्धारण गरिनेछ।

अहिलेको प्राथमिकता भनेको बेपत्ताको खोजी, जोखिममा रहेका नागरिकको उद्धार, प्रभावितलाई राहत, सुरुङमा फसेकाहरूको उद्धार र फेला परेका शवको पहिचान हो।

विपद्को यस कठिन समयमा भारत र चीनले देखाएको छिमेकी सहयोगसँगै अमेरिका, सिंगापुर, जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्सलगायतका मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त सहयोगले नेपालको खोजी, उद्धार र राहत अभियानलाई थप बल दिएको छ।

नेपालले यसअघि पनि २०७२ सालको भूकम्प, रोशी खोलाको बाढी तथा कोरोना महामारीलगायतका संकटमा अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्दै आएको छ। भोटेकोशी विपत्तिले भने तत्कालीन उद्धारदेखि दीर्घकालीन पुनर्निर्माणसम्म नेपालसामु ठूलो चुनौती खडा गरेको छ। यस्तो अवस्थामा छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्नु सरकारका लागि अर्को महत्वपूर्ण जिम्मेवारी बनेको छ।

प्रेम कुमार साह आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी हुन्। हाल 'अर्थहरू' का लागि विराटनगरबाट अर्थतन्त्र र राजनीति विषयमा समाचार सम्प्रेषण गर्दै रिपोर्टिङ इन्टर्नका रूपमा इन्टर्नशिप गरिरहेका छन्।

थप सामाग्री पढ्नुहोस

समाज

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

भरे कुरा गरौँला। गत बुधबार बिहान करिब ६ः०० बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा...

बसन्त भण्डारी / रासस

अन्तर्वार्ता

“यस घटनाले आगामी दिनमा यस्तो महाविपत्ति आउँदा राज्यले के–के गर्ने भन्नेबारे पनि पाठ सिकाएको छ”

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ,...

रासस

समाचार

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ।...

अर्थहरु

×

×