समाचार

कोशी प्रदेश सरकारमा नेकपाको सहभागीसँगै १९ औँ पटक मन्त्रिपरिषद्को पुनर्गठन

कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। मौजुदा मन्त्रिपरिषद्लई विस्तार र परिमार्जन गर्दै मुख्यमन्त्री कार्कीले सोमबार नयाँ मन्त्री नियुक्ति र कार्यविभाजन गरेका हुन्।

By प्रेम कुमार साह |

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेश सरकारमा सहभागी बनेको छ। नेकपाको सरकारमा सहभागीता भएसँगै एमाले र नेकपाबीच साउन ९ मा भएको तीन बुँदे सहमति कोशी प्रदेशमा कार्यान्वयन भएको छ। नेकपाका चार मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले सोमबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।

केन्द्रमा भएको ३ बुँदे सहमतिमा सरकार सञ्चालनमा सहकार्य गर्ने, राजनीतिक स्थायित्वमा लागि दुवै दलबीच समन्वय गर्ने तथा प्रदेश सरकारमा समेत सहमतिको भावना कार्यान्वयन गर्ने विषय समेटिएको थियो। सोही सहमति अनुसार २०८१ बैशाख २७ मा गठित मौजुदा मन्त्रीमण्डलमा नेकपा सहभागी भएका हुन्। गठबन्धनमा सहभागी कांग्रेसका मन्त्रीहरुले गत बुधबार राजीनामा दिएका थिए। 

९ वटा मन्त्रालय रहेको कोशी प्रदेशमा नेकपा एमाले गठबन्धन सरकारको नेतृत्व एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै गरेका छन्। कोशी प्रदेशको दोस्रो कार्यकालमा यो सातौंपटक सरकार फेरबदल भएको हो। 

नयाँ कार्यविभाजनमा नेकपाबाट जीवन आचार्य भौतिक पूर्वाधार मन्त्री, गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानुन मन्त्री, खिनु लङ्वा लिम्बु वन, पर्यटन तथा वातावरण मन्त्री, गीता तिम्सिना सामाजिक विकास र सपना दर्जी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन्। 

यी मध्ये एकीकृत समाजवादीबाट आएकी खिनु लङ्वाले यसअघि वन, पर्यटन, वातावरण तथा संस्कृति र आचार्यले आर्थिक मामिला तथा वन, पर्यटनमन्त्रीका रुपमा काम गरिसकेका छन्। 

नेकपा सरकारमा सहभागी भएसँगै एमालेका तर्फबाट मन्त्री बनेकाहरुको जिम्मेवारी हेरफेर भएको छ।
 
एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री बनेका विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री बनेका चिन्तन पाठक आफ्नै मन्त्रालयमा कायम भएका छन्। 

यसअघि सामाजिक विकास मन्त्री रहेका रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा सरुवा गरिएको छ। आन्तरिक मामिलामै कार्यरत उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ। 

कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्यमन्त्रीलाई शपथ गराएका थिए।
 
९३ सदस्यीय रहेको प्रदेशसभा हालसम्म ४५ जना सांसदले मन्त्री बनिसकेका छन्। १९ पटक त मन्त्रिपरिषद् नै पुनर्गठन भइसकेको छ भने ७ पटक सरकार  गठन भइसकेको छ।

यसै बीच नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेशसभामा विपक्षी बेञ्चमा बस्ने निर्णय गरेको हो।

कांग्रेसका २९ सांसद छन्। कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीमाथि विश्वासको मत लिनुपर्ने दबाब बढेको छ।

प्रेम कुमार साह आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी हुन्। हाल 'अर्थहरू' का लागि विराटनगरबाट अर्थतन्त्र र राजनीति विषयमा समाचार सम्प्रेषण गर्दै रिपोर्टिङ इन्टर्नका रूपमा इन्टर्नशिप गरिरहेका छन्।

थप सामाग्री पढ्नुहोस

समाचार

विमानस्थल सुरक्षा प्रोटोकलप्रति ओलीको आपत्ति, प्रम बालेन माथि कटाक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फाल्गुन २१ को चुनाव पछि पहिलो पटक...

प्रेम कुमार साह

समाचार

चालु आर्थिक वर्षको लागि धरान उपमहानगरपालिका ल्यायो २.७६ अर्बको बजेट

धरान उपमहानगरपालिकाले बिहीबार चालु आर्थिक वर्ष २०८३/८४ का लागि २.७६ अर्ब रुपैयाँ बराबारको...

प्रेम कुमार साह

समाचार

कोशीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा

नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। कोशीमा मन्त्री रहेका कांग्रेस नेताहरुले बुधबार...

प्रेम कुमार साह

×

×