नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फाल्गुन २१ को चुनाव पछि पहिलो पटक साउन ३० गते गृह जिल्ला झापा पुगे। काठमाडौंबाट हवाईमार्ग हुँदै ‘मिसन पार्टी जागरण’ कार्यक्रमका लागि ओली गृहजिल्ला पुगेका थिए। फाल्गुन २१ को निर्वाचनमा झापा–५ मा ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह सँग पराजित भएका थिए। ओली झापाको भद्रपुर विमानस्थलमा ओर्लिंदा स्थानीय नेता र कार्यकर्ताले भव्य स्वागत गरेका थिए।
एमालेको मिसन पार्टी जागरण अभियान
नेकपा एमालेले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै गणतन्त्र दिवसको दिनमा पार्टी जागरण अभियानको घोषणा गरेको थियो। साउन १८ गते एमालेका महाचिव शंकर पोखरेलले पालिका तथा वडा केन्द्रित रुपमा पार्टीको मिसन जागरण अभियान सञ्चालन गर्न निर्देशन गरेका थिए।
पार्टीको जनतासँग टुटेको सम्बन्ध जोड्ने उद्देश्यका साथ सुरु गरिएको अभियान हो, ‘मिसन पार्टी जागरण’। पार्टी सुढृढ बनाउन विचार, संगठन र नेतृत्वमा पुनगर्ठन, पार्टीमा युवा सहभागिता वृद्धिका लागि युवा परिचालन, युवाको नेतृत्व विकास, युवालाई कमिटीमा आरक्षण, पार्टी सदस्यता नवीकरणको काम सफल बनाउन, मुलुकको वर्तमान राजनीतिक परिस्थितिको जानकारी गराउन आदि उद्देश्यका साथ नेकपा एमालेले पार्टी जागरण अभियानको सुरुवात गरेको छ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको विर्तामोडबाट ‘मिसन पार्टी जागरण अभियान’ को सुरुवात गरे। अभियानमा पार्टी सदस्यता नवीकरणलाई प्राथमिकता दिँदै आगामी प्रदेशसभा र स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर देशभर पार्टी गतिविधि विस्तार गर्ने योजना एमालेले लिएकोे छ।
अभियानका लागि एमालेले केन्द्रीय कमिटीका ३०१ सदस्यसहित केन्द्रीय निकायमा सदस्य तथा सल्लाहकार र प्रदेश तहका नेता–कार्यकर्तालाई विभिन्न पालिका तोकेर केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ। अभियान मार्फत स्थानीय तहसम्म संगठनलाई थप सक्रिय बनाउने तथा पार्टी सदस्यता नवीकरण र संगठन विस्तारलाई प्रभावकारी बनाउने एमालेको तयारी छ।
ओलीको बालेन्द्र लक्षित टिप्पणी
ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताए। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अदुरदर्शी र अनुभव नभएका शक्तिहरुका कारण मुलुक संकटतर्फ धकेलिएको दाबी गरे।
ओलीले भने, ‘सरकारले जे गर्न सक्थ्यो, त्यही गदैछ। अनुभव र ज्ञान नभएकालाई जिम्मेवारी दिँदा यस्तै हुन्छ। खाना बनाउन नजान्ने बच्चालाई भान्सामा पठाउँदा उसले तरकारी काट्नेदेखि चिया बनाउनसम्म सबै कुरा बिर्गान सक्छ। नाच्न नजानेकोलाई नचाँउदा राम्रो नाच्न सक्दैन, मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन। शासन चलाउन पनि त्यस्तै अनुभव, क्षमता र ज्ञान चाहिन्छ। जानेकाले गर्ने ठाउँमा अनुभवहीन र उरन्ठेउला व्यक्तिलाई जिम्मेवारी दिँदा देश बर्बाद हुने अवस्था आएको छ।’
ओलीले मुलुकको हितका लागि सक्षम र अनुभवी नेतृत्वको विकल्प नरहेको भन्दै कार्यकर्ताहरुलाई संविधानको रक्षा र देशको विकासका लागि सचेत रहन निर्देशन समेत दिए।
ओलीले भने, “संविधान मिचिएको छ। अब संविधानलाई सही बाटोमा फर्काउनुपर्छ। प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक ढंगले चुनावको नाटक गरियो। प्रतिनिधिसभाको कार्यकाल अझै बाँकी हुँदाहुँदै किन विघटन गरियो? समय हुँदाहुँदै संसद विघटन गरेर फेरि अर्को संसद किन आवश्यक पर्यो? यसको जवाफ जनताले खोज्नुपर्छ।”
विमानस्थलमा ‘भीआईपी सुविधा’ खोजेको आशय दिने ओलीको दोश्रो पटक गुनासो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विमानस्थलमा कडा चेकजाँच गरिएको प्रति कडा आपत्ति जनाएका छन्। शनिबार इलाम पुगेका ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्ने क्रममा आफूलाई अपराधी जस्तो व्यवहार गरिएको भन्दै गुनासो गरे। तर विमानस्थलमा यात्रुको सुरक्षा जाँच सामान्य सुरक्षा प्रोटोकलअन्तर्गत गरिने प्रक्रिया हो।
ओलीले भने, “मेटल डिटेक्टर लगाएको छ, यो गर्या छ, त्यो गर्या छ। के निकाल्न खोज्या? के बरामद गर्न खोज्या? पल्टाई पल्टकाइकन छाम्छ, के भेटिन्छ भनेर हो। यसो… यसो…गरेर छाम्छ सबै। के छाम्या हो यिनले मेरो शरीरमा? हिजो पनि भएको थियो भद्रपुरमा। आजै पो हो क्यारे। काठमाडौंमा छाम्छ, यता छाम्छ, उ त्यहाँ परै छाम्छ। त्यहाँबाट अलि भित्र आए त्यहाँ छाम्छ, अलि भित्र आए त्याहाँ छाम्छ।
के छाम्या हो? मेटल डिटेक्टर लाउँछ ट्याक ट्याक ट्याक। फेरि एउटा ढोकाबाट छिराउँछ–त्यहाँ पनि ट्याक ट्याक ट्याक। उधुमै गर्यो, एक ठाउँमा जाँचेपछि त पुग्नु पर्ने, फेरि अर्को ठाउँ जाँच्छ। भद्रपुर आउँछु, त्यहाँ पनि जाँच्छ, फेरि मेटल यसो यसो गर्दै तमासा देखाउँछ।
म न गँजडी, न जड्याहा, न ड्रगिस्ट, न के। के खोज्या हो? न मसँग १९० तोला सुन, न कतै लुकाएको केही छ। अनि के छाम्या हो, के छाम्या। यिनको काा यस्तै हो, गर्नुपर्ने ठाउँमा गर्दैनन्। ट्रकका ट्रक तस्करी सिमानाबाट तस्करी भएको भइछ। एयरपोर्टमा चाहिँ मेरो शरीरमा डिटेक्टर लाउँछ। गेटबाट छिराउँछ, ग्याँ ग्याँ बनाउँछ, अनि त्यति गर्दा नपुगेर छाम्छ के। मालिस गर्न गाल्या हो कि के गर्या हो?
एयरपोर्टमा गरिएको चेकिङप्रति ओलीले दोस्रो पटक सार्वजनिकरुपमा गुनासो गरेका हुन्। गत माघमा पनि उनले आफूलाई सुन तस्करजस्तो व्यवहार गरिएको भन्दै आपत्ति जनाएका थिए।
थप सामाग्री पढ्नुहोस
चालु आर्थिक वर्षको लागि धरान उपमहानगरपालिका ल्यायो २.७६ अर्बको बजेट
धरान उपमहानगरपालिकाले बिहीबार चालु आर्थिक वर्ष २०८३/८४ का लागि २.७६ अर्ब रुपैयाँ बराबारको...
कोशीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा
नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। कोशीमा मन्त्री रहेका कांग्रेस नेताहरुले बुधबार...
कर्णालीका नयाँ मुख्यमन्त्री मंगलबहादुर शाही
काठमाडौंमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सत्ता साझेदारका लागि...
×