धरान उपमहानगरपालिकाले बिहीबार चालु आर्थिक वर्ष २०८३/८४ का लागि २.७६ अर्ब रुपैयाँ बराबारको बजेट पारित गरेको छ।
धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्र विक्रम बेघाले १९ औं नगर सभामा बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका विवादलाई सामान्यीकरण गरेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम नगर सभामा पेस गरेको बताए।
स्थानीय सरकार सञ्चाल ऐन, २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ।
तर बजेटसम्बन्धी विवादका कारण धरानको बजेट समयमा प्रस्तुत हुन सकेको थिएन। नगरसभामा प्रस्तुत गरेको बजेट तोकिएको समयभन्दा एक महिना १८ दिन ढिलो आएको हो। बजेट किचलोका कारण समयमै बजेट सार्वजनिक गर्न नसक्दा जनप्रतिनिधिहरु आलोचित बनेका थिए।
बजेटमा नगरसभाले सडक तथा भौतिक पूर्वाधार, स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको छ।
नगर कार्यपालिकातर्फ विनियोजन हुने बजेटमध्ये नगर सभाबाट विनियोजन हुने निश्चित बजेट १ अर्ब ५२ करोड ६० लाख ६१ हजार रुपैयाँ रहेको छ। सशर्त अनुदानबाट ९२.९७ करोड, समपूरक अनुदानबाट १.५ करोड, विशेष अनुदानबाट ६५ लाख, राजश्व बाँडफाँटबाट ३२.८८ करोड, प्रदेश सरकार अनुदानबाट ९.८६ करोड, सङ्घीय अनुदानबाट ८६.१९ करोड, सडक बोर्डबाट १ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
धरानका २० वटै वडाका लागि प्रशासनिक, कार्यक्रम तथा पुँजीगत खर्चतर्फ २८.७० करोड रुपैयाँ विनियोजन गरिएकोे छ। विगत आर्थिक वर्षको तुलनामा ५ करोड रुपैयाँ थप गरी वडागत बजेट २६ करोड कायम गरिएको र गत आर्थिक वर्षको भुक्तानी दिन बाँकी दायित्वसमेत समेटेर कुल विनियोजन २८.७० करोड पुर्याइएको बजेट वक्तव्यमा उल्लेख छ।
बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ९९.५० करोड रुपैयाँ विनियोजन गरिएको छ। जसमा खाल्डा खुल्डीमुक्त नगर कार्यक्रमका ४ करोड, भानुचोक सौन्दर्यीकरण, स्थायी स्टेज निर्माणमा १ करोड, धरान सभागृह निर्माणमा लागि २ करोड रुपैयाँ छुटाइएको छ।
स्वास्थ्यतर्फ १२.४५ करोड रुपैयाँ विनियोजन गरिएको छ। सशर्त अनुदानबाट ९.३३ करोड, धरान अस्पताल सञ्चालनका लागि २ करोड र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रममा लागि ५० लाख रुपैयाँ छुटाइएको छ।
शिक्षा, युवा तथा खेलकुदतर्फ ४९.८६ करोड रुपैयाँ विनियोजन गरिएको छ। सङ्घ तथा प्रदेश सरकारको सशर्त अनुदानसहितको सो बजेटबाट शैक्षिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरिने साथै एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रम बजेटमा समेटिएको छ।
सामाजिक विकासमा आन्तरिक स्रोतबाट १०.४ करोड विनियोजन गरिएको छ। सुकुम्बासी व्यवस्थापनमा ५० लाख, सिटी सफारी तथा ट्याम्पो चालकको दुर्घटना सहयोग कोषको लागि २० लाख, सडक मानव व्यवस्थापन, खेलकुद, बाँदर नियन्त्रणमा १० लाख, विपन्न परिवारका सदस्यको दाहसंस्कारका साझेदारीमा १० लाख, लैङ्गिक समानता र समावेशीकरण कार्यक्रमा १.५ करोड बजेट छुट्याइएको छ।
आर्थिक विकारमा ६.८० करोड रुपैयाँ विनियोजन गरिएको छ। सङ्कटग्रस्त सहकारी व्यवस्थापनका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ बजेटमा।
वन, वातावरण, उजर्न तथा विपद् व्यवस्थापनतर्फ ३.९५ करोड रुपैयाँ विनियोजन गरिएको छ। विपद् व्यवस्थापन कोषका लागि २ करोड रुपैयाँ छुट्याइएको छ। बजेटमा कानुन तथा न्याय सम्पादनतर्फ आन्तरिक स्रोतबाट २० लाख विनियोजन गरिएको छ।
धरानको खानेपानी समस्यालाई दीर्घकालीन समाधान गर्न चतरा कोशी नदीबाट पानी आपूर्ति गर्न संघीय सरकारको सहयोगमा अघि बढ्ने भएको छ। यस साझेदारीका लागि आन्तरिक स्रोतबाट ३.१९ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटमा राजश्व सुधार तथा संस्थागत क्षमता विकास र स्थलगत सूचना संकलन गर्न आन्तरिक स्रोतबाट पूर्ति हुने गरी ५३ लाख विनियोजन गरिएको छ। नगर भिजन तर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको बजेटमा उल्लेख छ।
थप सामाग्री पढ्नुहोस
कोशीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा
नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। कोशीमा मन्त्री रहेका कांग्रेस नेताहरुले बुधबार...
कर्णालीका नयाँ मुख्यमन्त्री मंगलबहादुर शाही
काठमाडौंमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सत्ता साझेदारका लागि...
सुनसरी घटनाप्रति राष्ट्रपतिको चिन्ता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकाकप्तानगञ्जलगायत क्षेत्रमा हालै उत्पन्न भएको विषम परिस्थितिप्रति गहिरो...
×