समाचार

धार्मिक द्वन्दको आगोमा सुनसरीको दक्षिणवर्ती क्षेत्र: १ को मृत्यु, दर्जनौ‌ं घाइते, सेना परिचालन

सुनसरीको यस क्षेत्रमा यस प्रकारको धार्मिक द्वन्द्व यसअघि पनि भएको थियो। स्थानीय प्रशासन र दुवै समुदायका अगुवाहरूले धार्मिक सहिष्णुता र भाइचारा कायम राख्नुपर्ने भन्दै पञ्चायती बसेर घटनालाई सामसुम पारेका थिए। त्यसको परिणाम गएराति फेरि देखापर्यो। मृत्यु हुने, घाइते हुने र गोली लाग्ने सबै एउटै समुदायका युवाहरू छन्। प्रशासनको असक्षमताका कारण घाइते युवाहरू अस्पतालमा छटपटाइरहेका छन्। घटनाको विरोधमा जिल्लाभर प्रदर्शन भइरहेको छ भने कप्तानगन्जमा स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ।

By प्रेम कुमार साह |

सुनसरीको देवानगञ्ज गाँउपालिका ३, कप्तानगन्जमा आइतबार राति दुई समुदायबीचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ भने अन्य ८ जनालाई पनि गोली लागेको छ। जसमध्ये दुईको अवस्था गम्भीर, र एकको अत्यन्तै गम्भीर रहेको छ। झडपमा सुरक्षा निकायका पनि १३ जना घाइते भएका छन्। 

प्रहरीको गोली लागेर मृत्यु हुनेमा सुनसरीको देवानगञ्ज गाँउपालिका ३, कप्तानगन्जका ओमप्रकाश मेहता रहेको छ। कप्तानगन्जमा गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पुर्‍याएको थियो। उपचारकै क्रममा आइतबार राति नै उनको मृत्यु भएको हो। झडपमा गम्भीर घाइते भएका देवानगञ्ज–३ का युवा जयप्रकाश मेहताको अवस्था अत्यन्तै गम्भीर रहेको छ।

सुनसरीको देवानगञ्ज गाँउपालिका ३, कप्तानगन्जमा आइतबार राति दुई समुदायबीचको झडप भएको हो। साउने सोमबारको व्रतका निम्ति हिन्दु धर्मावलम्बीले निकाल्ने बोलबम यात्रामा सहभागी एक समुदायलाई ठूलो आवाजमा डिजे बजाएको भन्दै अर्को समुदायका युवाहरुले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि झडपको अवस्था उत्पन्न भएकोे थियो। डिजे बजाँउदै जल भर्न सप्तकोशी नदीतर्फ जाने क्रममा, अर्को समुदायले आक्रमण गरेपछि अवस्था बिग्रिएको थियो।

दुवै पक्षबीच सुरु भएको भनाभन, ठेलाठेलमा परिणत हुँदै झडपमा बदलिएको थियो। प्रहरीका अनुसार प्रहरी चौकी कप्तानगन्जबाट प्रहरी निरीक्षक प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले दुवै पक्षलाई सम्झाउने प्रयास गरेका थियो। तर, त्यसपछि दुवै समुदायका थप मानिसहरु चिर्पट, ढुंगा, बास, लाठी र भाला जस्ता घरेलु हातहतियार बोकेर घटनास्थलमा पुगेपछि अवस्था थप तनावग्रस्त बनेको थियो। 

झडपमका क्रममा इलका प्रहरी कार्यालय देवानगञ्ज, प्रहरी चौकी घुस्की, साहेवगञ्ज तथा सशस्त्र प्रहरीको टोली समेत घटनास्थलमा पुगेको थियो। दुवै पक्षबाट ढुंगामुढा हुन थालेपछि ईलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राई सहित ८ जना नेपाल प्रहरी घाइते भएका छन्। त्यसपछि प्रहरी  निरीक्षकसँग रहेको पेस्तोलबाट तीन राउन्ड हवाई फायर गरिएको सुनसरी प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई प्रहार गरेका थिए। हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको हो। 

राति करिब १०.४५ बजे घटनास्थलमा रहेका सशस्त्र प्रहरीको टोलीबाट गोली चलेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ। गोली चलेको कारण र कति राउन्ड प्रहार गरिएको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। 

झडपमा प्रहरीको गोली लागेर घाइते भएकाहरुको विराटनगरको विभिन्न अस्पतालहरुमा उपचार भइरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपमा घाइते भएकाहरुमा २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरेको छ।

२१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय  अमितकुमार यादव, २५ वर्षीय  सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ।

सामान्य भनाभनबाट सुरु भएको दुई समुदायबीचको विवाद छोटो समयमै उग्र बनेपछि उत्तेजित भिडले कप्तानगन्ज बजारको घर, मेडिकल पसल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनीको प्रयास गरेपछि कप्तागन्ज बजार क्षेत्र थप तनावग्रस्त बनेको थियो। 

यसअघि पनि सुनसरी र विराटनगर क्षेत्रमा धार्मिक जुलुसका क्रममा तनाव सिर्जना भएको थियो। २०८० चैत र २०८१ वैशाखमा रामनवमीका र्‍यालीका क्रममा  सुनसरीको भुटाहा बजार र विराटनगरमा हिंसा भड्किँदा धेरै व्यक्ति घाइते भएका थिए। त्यसबेला स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको थियो भने स्थानीय प्रशासनले कर्फ्युसमेत जारी गरेको थियो। सुनसरीको यस क्षेत्रमा यस प्रकारको धार्मिक द्वन्द्व यसअघि पनि भएको थियो। स्थानीय प्रशासन र दुवै समुदायका अगुवाहरूले धार्मिक सहिष्णुता र भाइचारा कायम राख्नुपर्ने भन्दै पञ्चायती बसेर घटनालाई सामसुम पारेका थिए। 

घटनाप्रति सांसद थापाको आपत्ति

सुनसरी गोलीकाण्डबारे सुनसरी क्षेत्र नं. २ का सांसद लालविक्रम थापाका अनुसार गोली चलाउनु पर्ने अवस्था थिएन। सुरक्षा निकायले अनावश्यक बल प्रयोग गरेको देखियो। “कुनै पनि हालतमा काहीँ पनि गोली चलाउनुपर्ने अवस्था छँदैछैन् यो घटनामा,” सांसद थापाले भनेका छन्, “जसले गर्‍यो यो खेदजनक छ। अत्यन्तै गर्नै नहुने काम भयो।”

घटनास्थलमै पुगेर सुरक्षा निकायसँग छलफल गरेका थापाले प्रहरीले गोली चलाउनु नपर्ने अवस्था रहेको दाबी गर्दै घटनाका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन्।

सांसद थापाले घटना अत्यन्त गम्भीर र दर्दनाक भन्दै नागरिकमाथि यसरी गोली चलाउनु खेदजनक भएको बताए। उनले यस घटनामा गोली चलाउनुपर्ने अवस्थै नभएको समेत जिकिर गरेका छन्। 

थापाले यस घटनामा प्रशासन र सुरक्षा निकायबीच समन्वय अभाव भएको आशंका व्यक्त गरेका छन्। “हामी जिम्मेवार मान्छे छौं, कहिँकतै परिस्थिति फेरबदल आउन लाग्यो भने समन्वयकारी हातहरु अगाडि बढाउनुपर्छ। सीडीओ साबलाई सोध्दा पनि उहाँले मलाई जानकारी छैन भन्नुभाछ। एसपी साबलाई फोन गर्दा एसपी साबले फोन उठाइराख्नुभा छैन र अरु कसैले उठाइराछ,” सांसद थापा भन्छन्, “मेरो नागरिकमाथि डंगडंग गोली चलाको छ। कमसेकम एउटा मर्यादा हुन्छ।”

हातमा हतियार छ भन्दैमा नागरिकमाथि गोली चलाउने काम स्वीकार्य हुन नसक्ने थापाको भनाई छ। नयाँ सरकार बनेको अवस्थामा यस्ता घटनाले देशभर नकारात्मक सन्देश जाने भन्दै सुरक्षा निकायलाई अधिकतम संयमता अपनाउन आग्रह गरेका छन्।

धार्मिक विवादका कारण परिस्थिति थय नबिग्रियोस् भन्नेमा सबै पक्षले संयम अपनाउनुपर्ने थापाले बताए। 

कर्फ्यु पछि सेना परिचालन, सुनसरीको अवस्था तनावग्रस्त 

सुनसरीको देवानगञ्ज गाँउपालिकामा आइतबार राति भएकोे झडपमा स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ। 

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान देखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो। कर्फ्यु  उल्लङ्घन गर्दै सोमबार बिहान देखि नै  मानिसहरुले स्वस्फुर्त रुपमा जिल्लाको विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनका क्रममा कप्ताननन्ज क्षेत्रको अवस्था गम्भीर छ। सुनसरीको सदरमुकाम इनरुवा बजार र लौकही क्षेत्रमा पनि बजार बन्द गराएर राजमार्गमा टायर बालेर प्रदर्शन भइरहेको छ। प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गको सुनसरी खण्ड अवरुद्ध छ। 

स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाँउपालिका–३ कप्तागन्ज क्षेत्रमा नेपाली सेनाको टोलीलाई खटाएको छ। 

कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना परिचालन गरिएको प्रशासनले जनाएको छ। 

घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

सरकारले सुनसरीको घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन गरेका छ। गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको गृह मन्त्रलायका सहप्रवक्ता रमा आचार्यले बताए। छानबिन समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन म्याद दिइएको छ। 

सो घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखसँग मन्त्रालयमा छलफल आयोजना गरेका थिए। सोही छलफलमा ५ सदस्यीइ समिति गठन भएको हो। छलफलमा गृह मन्त्री गुरुङसहित नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल लगायत सहभागी थिए।

प्रेम कुमार साह आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी हुन्। हाल 'अर्थहरू' का लागि विराटनगरबाट अर्थतन्त्र र राजनीति विषयमा समाचार सम्प्रेषण गर्दै रिपोर्टिङ इन्टर्नका रूपमा इन्टर्नशिप गरिरहेका छन्।

थप सामाग्री पढ्नुहोस

समाचार

कांग्रेस सुदूरपश्चिम र कर्णालीबाट बाहिरियो, कोशी–लुम्बिनीमा यथावत्, बागमतीबाट एमाले बाहिरियो

गत वर्ष २३२४ भदौको घटना पछि संघीय सत्ता ढलेपनि प्रदेशहरुमा कांग्रेस र नेकपा...

प्रेम कुमार साह

समाचार

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ। संघीय राजधानी काठमाडौँलगायतका विभिन्न ठाउँमा...

रासस

समाचार

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तरराष्ट्रिय...

रासस

×

×