कृषि जनगणना | जनसंख्या | यान्त्रिकीकरण | कीटनाशक | जलवायु परिवर्तन

तस्बिर: NASA Applied Sciences
तस्बिर: NASA Applied Sciences

अर्थव्यवस्था

नयाँ कृषिगणनाका झलकहरू: नेपालको कृषि परिदृश्यमा आएको परिवर्तन

१० वर्षको अन्तरालमा कृषि सम्बन्धी प्रमुख चरहरूमा आएको परिवर्तनलाई दर्शाउँदै नयाँ गणनाले कृषि क्षेत्रको बदलिदो अवस्थाबारे महत्वपूर्ण जानकारी प्रदान गरेको छ।

By अर्थ |

सातौं राष्ट्रिय नमुना कृषि गणना २०७८ सार्वजनिक भएको केहि समय भयो। राष्ट्रिय तथ्यांक कार्यालयद्वारा (साविकमा केन्द्रीय तथ्यांक विभाग) प्रत्येक १० वर्षमा सञ्चालन गरिने यस गणना ७५३ स्थानीय तहहरूमा फैलिएका ३३०,११२ कृषि घरपरिवारहरूबाट सङ्कलित तथ्यांकमा आधारित छन्। तथ्यांकहरूको संकलन २०७९ जेठ १९ देखि २०८० वैशाख ६ सम्म गरिएको थियो।

उक्त कृषिगणनाका मुख्य निष्कर्षहरू निम्नानुसार छन्:

कृषिमा संलग्न परिवारमा वृद्धि, कृषि क्षेत्रफलमा गिरावट

हाल कृषि सम्बन्धी गतिविधिमा संलग्न कृषक परिवारको संख्या ४१,३०,७८९ रहेको छ जसले कुल परिवारहरूमध्ये ६२ % परिवारको प्रतिनिधित्व गर्छ। यी किसानहरूले कुल २२,१८,४१० हेक्टर क्षेत्रफलमा खेती गर्दै आएका छन्।

२०६८ को पुरानो गणना अनुसार मुलुकभर ३८ लाख ३० हजार परिवारहरू कृषि क्षेत्रमा संलग्न थिए जुन कुल घरधुरीको ७१ % थियो। सो गणना अनुसार कुल कृषि क्षेत्रफल भने २५ लाख २० हजार हेक्टर रहेको थियो। 

तसर्थ, तुलनात्मक तथ्यांकका अनुसार कृषि परिवारहरूको संख्या ७.८ %ले वृद्धि भएको छ भने कुल कृषि भूमिको क्षेत्रफल १२.२ %ले घटेको छ। 

लैङ्गिक र उमेर संरचना

विवरण २०६८ २०७८
कुल कृषक परिवार (लाखमा) ३८.३ ४१.३
परिवारमा मुख्य कृषक पुरुष (लाखमा) ३१ २७.९
परिवारमा मुख्य कृषक पुरुष (%मा) ८०.९  ६७.६
परिवारमा मुख्य कृषक महिला(लाखमा) ७.३ १३.४
परिवारमा मुख्य कृषक महिला (%मा) १९.१ ३२.४
कृषक परिवारले ओगटेको कुल क्षेत्रफल (लाख हेक्टरमा) २५.२ २२.२
कुल कृषक जनसंख्या (लाखमा) २०५.५ १९४.५
कुल पुरुष कृषक जनसंख्या (लाखमा) १०३ ९५.४
कुल पुरुष कृषक जनसंख्या (%मा) ५०.१ ४९.०
कुल महिला कृषक जनसंख्या (लाखमा) १०२.५ ९९
कुल महिला कृषक जनसंख्या (%मा) ४९.९ ५०.९

 

कृषि परिवार अन्तर्गत उमेर संरचना (%मा)

उमेर समूह २०६८ २०७८
२५ भन्दा मुनि ३.१ २.६
२५-३४ १६.१ १४.९
३५-४४ २६.७ २५.७
४५-५४ २५.१ २४.८ 
५५-६४ १७.६ १८.३
६५ भन्दा माथि ११.४ १३.७

 

भू-खण्डीकरणको अवस्था

२०६८ मा देशभर कुल १ करोड २० लाख ९६ हजार ४ सय वटा जमिनका कित्ता (पार्सल) रहेकोमा हालको गणना अनुसार सो संख्या घटेर १ करोड १५ लाख ८३ हजार ९ सय पुगेको छ।

अर्कोतर्फ, प्रत्येक कृषक परिवारसँग हुने औसत कित्ताको संख्या ३.२ बाट घटेर २.८ पुगेको छ। त्यस्तै, औसत कित्ताको आकार पनि ०.२१ हेक्टरबाट घटेर ०.१९ हेक्टरमा सीमित भएको छ।

सिंचाइयोग्य जमिनमा वृद्धि

नयाँ गणना अनुसार कुल ५४.५ % जमिन (१२ लाख १० हजार हेक्टर) सिंचित रहेको छ जस अन्तर्गतको ७२.७ %मा वर्षभर नै सिँचाइ सुविधा रहेको पाइएको छ।

पछिल्लो १० वर्षमा सिंचित जमिनको % २.५ %ले मात्र वृद्धि भएको देखिए तापनि सिंचाइ सुविधाको उपभोग गर्ने घरधुरीहरूको संख्या भने २४ लाख ७० हजारबाट २८ लाख ९० हजार पुगेको छ जुन कुल कृषक परिवारहरूको ७० % हो।

खाद्यान्न बालीको घट्दो क्षेत्रफल र तरकारी खेतीमा वृद्धि

हाल नेपालमा अस्थायी बालीनालीका रूपमा मुख्यत: धान, मकै, गहुँ र तरकारी खेतीका लागि कुल १७ लाख ३० हजार हेक्टर क्षेत्रफल प्रयोग गरिएको छ। पछिल्लो दशकमा धान तथा मकै खेती हुने क्षेत्रफलमा १६ %ले गिरावट आएको छ भने गहुँ खेतीको क्षेत्रफलमा १२.७ %ले कमी आएको छ। तथापि, तरकारी खेतीको क्षेत्रफल भने उल्लेखनीय रूपमा २७.६ %ले वृद्धि भएको देखिन्छ।

२०६८ र २०७८ सालमा कृषक परिवार अन्तर्गत रहेको कुल क्षेत्रफल (हेक्टरमा)

  २०६८ २०७८
धान १,४५६ १,२१६.४०
मकै ६७४  ५५९.९० 
गहुँ  ७४९ ६५४.२०
तरकारी ८४ १०७.७०

 

 

त्यसैगरी, आँप, केरा, सुन्तला, कागती तथा स्याउ खेती जस्ता स्थायी बालीका लागि १ लाख ४५ हजार ४ सय हेक्टर क्षेत्रफल प्रयोग भएको छ। पछिल्लो दशकको तुलनामा स्थायी बालीको कुल क्षेत्रफल २३ हजार ९३ हेक्टरले घटेको देखिन्छ।

त्यस्तै, अस्थायी रूपमा बाँझो रहने जमिनको क्षेत्रफलमा करिब दोब्बर वृद्धि भई आर्थिक वर्ष २०७८/७९ मा ६० हजार हेक्टर पुगेको छ।

कृषि प्रणालीमा विविधीकरण

नयाँ गणना अनुसार गाईवस्तु पालन गर्ने कृषक परिवारको संख्या ३३ लाखबाट ३४ लाख पुगेको छ।

त्यसैगरी, १०,३७५ कृषक परिवारले नर्सरी खेतीमा संलग्न भई ५९७.७ हेक्टर भूमि उपयोग गरिरहेका छन् भने ४८,७६३ कृषक परिवारले माछा पालन गरिरहेका छन्। माछा पालनका लागि १०,३८३ हेक्टर क्षेत्रफल प्रयोग भइरहेको देखिन्छ।

मशरूम खेती गर्ने कृषक परिवारको संख्या १७,५५४ रहेको छ भने मह उत्पादनमा संलग्न परिवारको संख्या १,९६,८५४ पुगेको छ।

कृषि यान्त्रिकीकरण: ट्रयाक्टरको प्रयोग दोब्बर

२०६८ को गणनामा ८ लाख ४५ हजार कृषक परिवारले ट्रयाक्टर प्रयोग गरिरहेको तथ्यांक रहेकोमा हाल सो संख्या वृद्धि भई १६ लाख ४० हजार पुगेको देखिन्छ। देशभर सञ्चालनमा रहेका ट्रयाक्टरहरूको संख्या पनि  ३७ हजारबाट वृद्धि भई ५८ हजार पुगेको छ।

त्यस्तै, हाल ३० हजार कृषक परिवारले दूध दुहुन मेशिनको प्रयोग गरिरहेका छन् भने ४ लाख ७१ हजार २६० कृषक परिवारले पावर टिलरको प्रयोग गरिरहेका छन्। अहिले दूध दुहुन प्रयोग हुने ३,४०० मेशिनहरू सञ्चालनमा रहेका रहेका छन् भने पावर टिलरको संख्या १ लाख १७ हजार ९९१ पुगेको देखिन्छ।

वर्णसंकर बीउको प्रयोगले धान बालीमा वृद्धि

एक अध्ययन अनुसार, धान खेती गर्ने कृषकहरूमध्ये अझै पनि ५६.३% ले स्थानीय बीउको प्रयोग गरिरहेका छन्। त्यस्तै, २७.२% कृषकले सुधारिएको बीउ अपनाएका छन् भने १६.५% कृषकले वर्णसंकर बीउ प्रयोग गरिरहेका छन्। अघिल्लो गणनामा वर्णसंकर बीउको प्रयोग गर्ने कृषकको संख्या केवल ५.४% रहेको थियो।

त्यसैगरी, धान खेतीमा ७६% कृषकहरूले रासायनिक मल प्रयोग गरिरहेका छन्। विभिन्न बालीनालीमा रासायनिक मल प्रयोग गर्ने अनुपात क्रमशः धानमा ५९% मकैमा ४९%, आलुमा ४४%, र तरकारीमा २३% रहेको छ।

तरकारी बालीमा विषाक्त कीटनाशकको प्रयोग

नयाँ गणना अनुसार, ४७.९% कृषक परिवारहरूले तरकारी उत्पादन गरिरहेका छन् जसमा २६.७% ले कीटनाशकको प्रयोग गर्दै आएको देखिन्छ। कीटनाशक प्रयोग गर्ने कृषकहरूमध्ये ५३.२% ले निम्न विषाक्त कीटनाशक प्रयोग गर्ने गर्दछन् भने ३३.२% ले मध्यम विषाक्त, १२% ले उच्च विषाक्त र ०.७% ले अति उच्च विषाक्त कीटनाशक प्रयोग गर्दछन्। 

साथै, गणनाका अनुसार, ४५% कृषक परिवारले धान बालीमा कीटनाशकको प्रयोग गर्ने गर्दछन् भने सो तथ्यांक आलुमा ३६%, तरकारीमा २७%, गहुँमा २८% र मकैमा २३% रहेको छ। 

कृषि वित्तमा सीमित पहुँच

कुल कृषक परिवारको मात्र १२ %ले (४,८३,२०८ परिवारहरू) कृषि ऋण लिएको देखिन्छ। अघिल्लो गणनामा यो अनुपात २२% (८,३६,००० परिवारहरू) रहेको थियो। ऋणको मुख्य स्रोतको रूपमा सहकारी संस्था (३९%) रहेको छ जसपछि आफन्त (१४%) र महिला समूह (१४%) रहेका छन्।

हाल करिब ३४% (१४,१४,९९७ परिवारहरू) ऋण आवश्यक पर्ने अवस्थामा वा थप ऋण खोजिरहेको स्थितिमा देखिन्छन्। यीमध्ये ३७% परिवारहरूले पशुपालन वा कुखुरा पालनका लागि ऋण आवश्यक रहेको बताएका छन्। अघिल्लो कृषि गणनामा, कुल कृषि ऋणमध्ये ४२% ऋण सहकारी संस्थाबाट प्राप्त भएको थियो भने ३७% ऋण पशुपालन तथा कुखुरा पालनका लागि लिइएको थियो।

बीमाको प्रयोग ५%  भन्दा कम

कुल किसानमध्ये केवल ४ %ले  (१,८२,४४१)  कृषि बीमा लिएको बताएका छन्। तीमध्ये अधिकांशले पशुपालन (८४%) का लागि बीमा लिएका छन् भने खाद्यान्न बालीका लागि ८%, कुखुरा पालनका लागि ५% र अन्य प्रयोजनका लागि ३ %ले बीमा लिएको देखिन्छ।

अनुदान कार्यक्रमको निराशाजनक पहुँच

७% किसानले (३,०८,५१२) मात्र कृषि गतिविधिका लागि सरकारी अनुदान प्राप्त गरेका छन्। प्राप्त अनुदान मुख्य रूपमा रासायनिक मल (४६%), बीउ, बिरुवा, घाँस (३५%) तथा कृषि उपकरण (१५%) मा प्रयोग गरिएको छ।

जलवायु परिवर्तनका कारण उत्पादनमा गिरावट

यस गणनामा पहिलो पटक जलवायु परिवर्तनसम्बन्धी बुझाइ र प्रभावलाई मापनयोग्य चरका रूपमा समावेश गरिएको छ। कुल कृषक परिवारमध्ये ४३.७% ले जलवायु परिवर्तनबारे सचेत रहेको बताएका छन् जसमा करिब ९१% कृषक परिवारले जलवायु परिवर्तनको प्रभाव समेत भोगिरहेको जनाएका छन्।

धेरैजसो उत्तरदाताहरूले जलवायु परिवर्तनका कारण उत्पादनमा गिरावट आएको अनुभव साझा गरेका छन्। अन्य प्रभावहरूमा कीटहरूको वृद्धि, खडेरी र भारी वर्षाको बढ्दो आवृत्ति तथा रोपाइँ चक्रमा आएको परिवर्तन रहेका छन्।

अधिवक्ता प्रज्ञा ढकालद्वारा अनुवादित

अर्थ अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

अर्थव्यवस्था

विश्वका केही सार्वजनिक यातायात प्रणालीहरूको वित्तीय व्यवस्थापन: नेपालका लागि सिकाइका पाठहरू

नेपाल, विशेषगरी नेपालका शहरहरू दिनप्रतिदिन कमजोर सार्वजनिक यातायात प्रणालीको नकारात्मक प्रभावमा पर्दै गएको...

अर्थ

वातावरण

सुख्खा हिउँद: न हिमपात, न वर्षा

गलेश्वर (म्याग्दी), १ फागुन (रासस): हिउँदको समय सकिन अब करिब तीन साता मात्रै...

रासस

×

×