धादिङमा सडक विस्तार आयोजनाको निरीक्षणका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलासुस्ती गर्ने ठेकेदारप्रति गैर जिम्मेवार अभिव्यक्ति दिएका छन्। उनले बिजुलीका पोल हटाउने काम अघि नबढाएको भन्दै सम्बन्धित ठेकेदारलाई खोजेर ल्याउन र काम नगरे खुट्टा भाँचिदिनू भनि निर्देशन दिएका हुन्।
आइतबार नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमनका क्रममा मन्त्री लम्सालले सडक विस्तारमा अवरोध बनेका बिजुलीका पोल तत्काल हटाउनुपर्ने बताएका थिए। सो क्रममा उनले ठेकेदारलाई लक्षित गर्दै “काम गरेन भने खुट्टा भाँचिदिनू” भन्ने अभिव्यक्ति प्रयोग गरेका थिए।
मन्त्री लम्सालले सो निर्देशन बर्दीमा रहेका प्रहरीलाई दिएका हुन्। निर्देशन दिइरहेका बेला उनका वरिपरि धेरै बर्दीधारी प्रहरीहरू थिए।
"यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धरतीमा कहाँ छ, खोजेर ल्याउनू| तेल्लाई पनि यहीँ राख्नु, घर पठाउने हैन| तेल्ले काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन" मन्त्रि लम्सालले निर्देशन दिंदै भनेका छन् ।
काम नगर्ने ठेकेदारलाई राज्यले कानुन बमोजिम कारबाही गर्ने हो कि मन्त्रीले नै खुल्लमखुल्ला खुट्टा भाच्दे भनेर आदेश दिदै हिड्ने हो?हामी कस्तो खाले समाज निर्माणको परिकल्पना गर्दैछौ? pic.twitter.com/jXOSvbKxUH
— प्रतिपक्ष (@partipakshya) June 15, 2026
पोल स्थानान्तरणमा ढिलाइ हुँदा सडक निर्माणमा समस्या भएको ठेकेदार प्रतिनिधि र आयोजनाका अधिकारीहरुले जानकारी गराएका थिए।
स्थानीय जनताको चाहना छिटो काम भएको उल्लेख गर्दै मन्त्री लम्सालले पोल स्थानान्तरण र सामग्री आपूर्तिमा आवश्यक सहजीकरण गरी निर्माण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
मन्त्रीको “काम गरेन भने खुट्टा भाँचिदिनू” भन्ने अभिव्यक्ति व्यापक रूपमा फैलिएको छ। जिम्मेवार सार्वजनिक पदमा बसेको व्यक्तिबाट यस्तो भाषा प्रयोग हुनु उचित नभएको भन्दै विभिन्न तहबाट आलोचना भइरहेको छ।
यसै सन्दर्भमा, आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारले पूर्वाधार विकास मन्त्रालयलाई ३०२ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र खानेपानी मन्त्रालयलाई गाभेर गठन गरिएको यो मन्त्रालयले कुल राष्ट्रिय बजेटको करिब १४.२५% हिस्सा पाएको छ, जुन सबै मन्त्रालयमध्ये सर्वाधिक बजेट विनियोजन हो। यस्तो ठूलो बजेट र जिम्मेवारी बोकेको मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्री लम्सालको अभिव्यक्ति र कार्यशैली खेदजनक देखिन्छ।
यस्तै, मन्त्री लम्सालको अभिव्यक्ति सार्वजनिक भएको एक दिनअघि मात्रै कैलालीमा सरकारी कर्मचारीहरूको व्यवहारलाई लिएर अर्को विवादास्पद घटना बाहिरिएको थियो। धनगढीस्थित डिभिजन वन कार्यालयका कर्मचारीहरू संलग्न रहेको भिडियोमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाले जीविकोपार्जनका लागि प्रयोग गर्दै आएको टेम्पोलाई भिरबाट धकेलेर खसालिएको देखिएको थियो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो र कर्मचारीहरूले शक्तिको दुरुपयोग तथा अमानवीय व्यवहार गरेको भन्दै आलोचना भएको थियो। यी घटनाहरुले पक्कै पनि सरकारी निकायको व्यवहार र शक्ति प्रयोगको विषयमा प्रश्न उठाएको छ।
थप सामाग्री पढ्नुहोस
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ। नेपाल...
बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह
भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद्...
कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको हिस्सा...
×