दाँछी, नेपाल | तस्बिर: मोहिगन/विकिमीडिया कमन्स
दाँछी, नेपाल | तस्बिर: मोहिगन/विकिमीडिया कमन्स

समाचार

कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो

सरकारले प्रतिवर्ष कृषि क्षेत्रमा १०.७% ले बजेट बढाउँदै लगेको छ। आव २०७०/७१ मा २१.४ अर्ब र २०८१/८२ मा ५९ अर्ब रुपैयाँ विनियोजन गरेको थियो।

By अर्थहरु |

पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबिचको अन्तर बढेको छ। बजेट बढ्दै गए पनि उत्पादन तथा उर्वर जमिन भने घट्दै गएको छ।

आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्म मुख्य खाद्यान्न बालीको उत्पादनमा उतारचढाव देखिएको छ। केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली संकट उन्मुख देखिएका छन्। नेपालीको मुख्य खाद्यान्न बाली धान, मकै, गहुँ, कोदो र फापर हो।

सरकारले प्रतिवर्ष कृषि क्षेत्रमा १०.७% ले बजेट बढाउँदै लगेको छ। आव २०७०/७१ मा २१.४ अर्ब र २०८१/८२ मा ५९ अर्ब रुपैयाँ विनियोजन गरेको थियो।

साबिक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको कृषिसम्बन्धी तथ्याङ्क जानकारी’ पुस्तकमा उल्लेख भएअनुसार आव २०७०/७१ मा:

  • धान ५०,४७,०४७ मेट्रिक टन, 
  • मकै २२,८३,२२२ मेट्रिक टन, 
  • गहुँ १८,८३,१४७ मेट्रिक टन, 
  • कोदो ३,०४,१०५ मेट्रिक टन, र 
  • फापर १,३३५ मेट्रिक टन उत्पादन भएको थियो।

पछिल्ला वर्षमा गहुँबाहेक धान, चामल, मकै, कोदो, फापर चीन, अर्जेन्टिना, मलेसियालगायत मुलुकबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

आव २०८१/८२ मा 

  • धान र चामल गरी ७,५३,३०५ मेट्रिक टन, 
  • मकै २,९९,९८९ मेट्रिक टन, 
  • कोदो ८,४४३ मेट्रिक टन, र 
  • फापर ६९८ मेट्रिक टन आयात भएको छ।

आव २०८१/८२ मा धान–चामल खरिदमा ४०.१८ अर्ब, मकै १९.२७ अर्ब, कोदो ४२.३ करोड र फापर ५.३ करोड रुपैयाँ गरी सो वर्ष कुल ५९.९२ अर्ब रुपैयाँ बाहिरिएको छ।

सोही आवमा सरकारले कृषि क्षेत्रको विकासका लागि ५७.२९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो। जुन बजेट कृषि विकासका लागि आयातमा ४.०६% अर्थात् २.६३६ अर्ब रुपैयाँले बढी हो।

तथ्याङ्कअनुसार धानको उत्पादन प्रतिवर्ष १.०३४% ले र जनसङ्ख्या वृद्धिदर भने प्रतिवर्ष ०.९२% ले वृद्धि भइरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। २०७८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या २,९१,६४,५७८ रहेको छ।

कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभागका वरिष्ठ कृषि अर्थ विज्ञ तिलकराज चौलागाईंका अनुसार तीन करोड जनसङ्ख्यालाई धान्न करिब ७० लाख मेट्रिक टन धानको आवश्यकता रहेको बताउनुहुन्छ। सो जनसङ्ख्यालाई धान्न १३ लाख मेट्रिक टन धानको उत्पादन वृद्धि गर्नुपर्नेछ।

आव २०८१/८२ मा ३१,९३,८६९ मेट्रिक टन मकै उत्पादन भएको छ। दश वर्षमा ९,१०,६४७ मेट्रिक टन उत्पादन बढेको छ। जुन प्रतिवर्ष ३.९८% ले वृद्धि हो। गहुँको उत्पादन ८% ले वृद्धि भई २०,३५,५५९ मेट्रिक टन पुगेको छ। जुन प्रतिवर्ष ०.८% ले वृद्धि हो।

कोदो र फापरको उत्पादन १० वर्षमा निकै खस्किएको छ। आव २०७०/७१ मा कोदो ३,०४,१०५ मेट्रिक टन थियो भने २०८०/८१ मा २४,९३१ मेट्रिक टन छ। प्रतिवर्ष कोदोको उत्पादन २२.१% ले घटेको छ।

त्यसैगरी, फापर २०७०/७१ मा १,३३५ मेट्रिक टन थियो भने आव २०८०/८१ मा १४,५१६ मेट्रिक टन मात्र भयो। फापरको उत्पादन प्रतिवर्ष १७.६% ले घटेको छ।

दश वर्षमा सरकारले कृषि क्षेत्रको बजेट १०.७% ले बढाउँदै लगेको छ ।

प्रतिवर्ष धानको उत्पादन १.०३४%, मकैको उत्पादन ३.९८% र गहुँको उत्पादन ०.८% ले वृद्धि भएको छ भने कोदोको उत्पादन प्रतिवर्ष २२.१% र फापरको उत्पादन १७.६% ले गिरावट आएको छ।

अर्कातर्फ खेतीयोग्य जमिन पनि घट्दै गएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार २०६८ सालको कृषि गणनामा २५,२५,६३९ हेक्टर र त्यसको १० वर्षपछि अर्थात् २०७८ सालको कृषि गणनामा आइपुग्दा झन्डै ३ लाख हेक्टर जमिन घट्न गई २२,१८,४१० हेक्टर जमिन खेतीयोग्यमा खुम्चिएको उल्लेख छ।

नेपालमा प्रत्येक १०/१० वर्षमा कृषि गणना गरिँदै आएको छ। कृषि गणनाको सुरुआत विसं २०१८ देखि प्रारम्भ गरिएको हो।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाचार

६ पूर्वमन्त्रीविरुद्ध भष्ट्राचार मुद्दा दर्ता भएको पोखरा विमानस्थलको अनियमितता के हो?

काठमाडौं । गत वैशाख २४ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको...

अर्थहरु

समाचार

करेन्ट चाउचाउ, नोभा आइक्रिम र ज्याक न्याक बिस्कुट खान अयोग्य, बजारबाट अयोग्य ब्याच फिर्ता

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड अनुरूप नपाइएको भन्दै विभिन्न...

अर्थहरु

समाचार

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिः राजीनामा मागसहित प्रतिपक्षको नाराबाजी, नीति तथा कार्यक्रम छलफल अवरुद्ध

काठमाडौं। सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलले २८...

अर्थहरु

×

×