राष्ट्रिय राजमार्ग | बेनी–जोमसोम–कोरला | जलजला गाउँपालिका | पहिरो प्रभावित खण्ड

तस्बिर: रासस
तस्बिर: रासस

समाचार

मालढुंगा–बेनी सडक स्तरोन्नति सकियो, छोटियो यात्रा अवधि

गत मंसिर पहिलो सातादेखि सुरु भएको लस्ती–बेनी खण्डको छ किलोमिटर ५०० मिटर सडक कालोपत्र गर्ने काम सकेर प्राविधिक टोलीबाट नापजाँच भइरहेको निर्माण कम्पनीका इन्जिनियर जीवन चौधरीले बताए।

By रासस |

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ।

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गरिएको हो।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक दुई लेनको बनाएर कालोपत्र गर्न २०७७ साल चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो।

तेह्र किलोमिटर दूरीको सडकमध्ये ९६० मिटरबाहेकका ठाउँमा कालोपत्र र ढलान सकिएको आयोजना प्रमुख तेजस्वी शर्माले बताए।

‘ढलान र कालोपत्र सकिएको सडकमा रङरोगन र सुरक्षा पूर्वाधार राख्ने काम भइरहेको छ,’ उनले भने, ‘वारीबेनीको ७६० मिटर, केराबारी र फर्से पहिरोमा एक–एक सय मिटर सडकलाई ठेक्काबाट हटाइएको छ।’

वारीबेनीमा बस्तीको बीचमा सडक विस्तार गर्न घरधनीहरूको असहमति तथा फर्से र केराबारीमा पहिरोका कारण ती खण्ड ठेक्काबाट हटाउनुपरेको योजना प्रमुख शर्माले बताए। विसं २०७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

सडक निर्माण कोरोना महामारी, बाढीपहिरो र नदीजन्य निर्माण सामग्रीको अभाव देखाउँदै सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र पारेको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए।

यसअघि गत वर्ष मालढुङ्गा–फर्से खण्डमा तीन किलोमिटर ३०० मिटर कालोपत्र र दुई किलोमिटर २०० मिटर ढलान भएको थियो । गत मंसिर पहिलो सातादेखि सुरु भएको लस्ती–बेनी खण्डको छ किलोमिटर ५०० मिटर सडक कालोपत्र गर्ने काम सकेर प्राविधिक टोलीबाट नापजाँच भइरहेको निर्माण कम्पनीका इन्जिनियर जीवन चौधरीले बताए।

छोटियो यात्राअवधि

यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दा, पर्यटक र तीर्थयात्री आवतजावत गर्छन्।

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक २०६८ सालमा एकतर्फी कालोपत्र भएको थियो । मुस्ताङ र कोरलानाका सडक सञ्जालमा जोडिएपछि यातायातका साधनको चाप बढ्दा साँघुरो सडक पछिल्लो समय जीर्ण बनेको थियो।

यातायात व्यवसायी बुद्धि पुनले मालढुङ्गा–बेनी सडकमा यात्रा गर्दा यसअघि एक घण्टा लाग्ने दूरी स्तरोन्नतिपछि १५ देखि २० मिनेटमा छोटिएको बताए।

‘पछिल्लो पाँच वर्षयता पोखरा–बेनी आवतजावत गर्न बेनीदेखि रत्नेचौर बागलुङ हुँदै मालढुङ्गा जोड्ने घुमाउरो वैकल्पिक सडक प्रयोग गर्दै आएका थियौँ,’ उनले भने, ‘घुमाउरो सडकको समस्या हट्नुका साथै यात्राअवधि पनि छोटिएको छ।’

जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दा बाबुराम कार्कीले सडक कालोपत्र भएपछि धुलो र हिलोका कारण जोखिमपूर्ण र कष्टकर यात्रा गर्नुपर्ने अवस्था अन्त्य भएको बताए।

रासस (राष्ट्रिय समाचार समिति)

थप सामाग्री पढ्नुहोस

समाचार

भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने

रुपन्देहीको भैरहवामा रात्रिकालीन बजार सञ्चालनका लागि पहल गरिने भएको छ। सिद्धार्थ सञ्जाल, रुपन्देहीले...

रासस

समाचार

आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको...

रासस

समाचार

कास्की क्षेत्र नं १ः बदलिरहन्छ परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने...

रासस

×

×