कालीगण्डकी कोरिडोर | मालढुङ्गा–बेनी सडक | बेनी–जोमसोम–कोरला मार्ग
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडक योजनामार्फत मालढुङ्गा-बेनी सडकलाई २ लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ। करिब १३ किलोमिटर दुरीको सडकमध्ये करिब २ किलोमिटर बाहेकका ठाउँमा कालोपत्र र ढलान सकिएको सडक योजना कार्यालयले जनाएको छ। यातायात व्यवसायी रेशबहादुर विश्वकर्माले मालढुङ्गा-बेनी सडकमा यात्रा गर्दा यसअघि एक घण्टाको यात्राअवधि स्तरोन्नतिपछि २० देखि २५ मिनेटमा छोटिएको बताए।
‘पछिल्लो ५ वर्षयता पोखरा-बेनी आवतजावत गर्न बेनीदेखि रत्नेचौर बागलुङ हुँदै मालढुङ्गा जोड्ने घुमाउरो वैकल्पिक सडकको यात्रा गर्दै आएका थियौँ,’ उनले भने, ‘घुमाउरो सडकमा यात्रा गर्नुपर्ने समस्या हट्नुका साथै यात्राअवधि पनि छोटिएको छ।’ जलजला गाउँपालिका-७ मिलनचोकका बासिन्दा बाबुराम कार्कीले सडक कालोपत्र भएपछि धुलो र हिलोमा जोखिम तथा कष्टपूर्णयात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।
‘बाँकी रहेको ठाउँमा पनि सडक स्तरोन्नतिको कामले छिट्टै पूर्णता पाउने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘सडक स्तरोन्नतिले पूर्णता पाएपछि सार्वजनिक यातायात र ढुवानीको भाडादर पनि समायोजन हुनेछ।।’
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन्। ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा-बेनी सडक बेनी सडक विसं २०६८ मा एकतर्फी कालोपत्र भएको थियो। मुस्ताङ र कोरला नाका सडक सञ्जालमा जोडिपछि यातायातका साधनको चाप बढ्दा साँघुरो यो सडक पछिल्लो समय जीर्ण बनेको थियो। पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि जलजला गाउँपालिका वडा नम्बर ८, ७, ४ र ३ हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने सडक २ लेनको बनाएर कालोपत्र गर्न विसं २०७७ चैतमा एपेक्स-खड्का-कृष्ण जेभीले विसं २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। विसं २०७९ मा सम्पन्न गर्ने लक्ष्य थियो।
सडक निर्माण कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावका कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए। यसअघि गत वर्ष मालढुङ्गा-फर्से खण्डमा ३ किलोमिटर ३ सय मिटर कालोपत्र र २ किलोमिटर २ सय मिटर ढलान भएको थियो।
लस्ती-बेनी खण्डको ६ किलोमिटर ५ सय मिटर सडक यही मंसिर पहिलो सातादेखि कालोपत्र गर्न थालिएको थियो। लस्ती, केराबारी, लामाखेत खण्डमा कालोपत्र सकिएको छ। स्थानीय प्रशासनसँग समन्वय गरेर मंसिर १ देखि २० गतेसम्म बिहान १० देखि साँझ ५ बजेसम्म सडक बन्द गरेर कालोपत्र गर्ने कामलाई सहज बनाइएको थियो। लस्ती-फर्से र मिलनचोक बजारभित्र करिब १ किलोमिटर २ सय मिटर कालोपत्रका लागि संरचना निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका इञ्जिनियर जीवन चौधरीले बताए। वारीबेनीको ७६० मिटर, केराबारी र फर्से पहिरोमा एक/एक सय मिटर सडकलाई ठेक्काबाट हटाइएको छ।
वारीबेनीमा बस्तीको बीचमा सडक विस्तार गर्न घरधनीहरूको अहसमति तथा फर्से र केराबारीमा पहिरोका कारण ठेक्काबाट हटाउनुपरेको बेनी-जोमसोम-कोरला सडक योजनाका सूचना अधिकारी विष्णु चापागाईँले बताए।
थप सामाग्री पढ्नुहोस
कांग्रेस विशेष महाधिवेशन आजदेखि, पार्टी सङ्गठन झन् बलियो हुन्छ : महामन्त्रीद्वय
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष...
कालीगण्डकी करिडोरको तातोपानी–घाँसा खण्ड स्तरोन्नति सम्पन्न
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनीजोमसोमकोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि...
नेपालका अपाङ्गता भएका महिलाहरू कसरी पछाडि पारिएका छन्?
महिनावारी नभएको समयमा पनि सजना गुरुङ प्याड लगाउँछिन्कतै केही भइहाल्छ कि भनेर। हप्प...
×