समाचार

एनपिएलको प्रसारण अधिकार ३२.६८ करोडमा बिक्री

क्यानले विश्वव्यापी अनलाइन प्रसारण अधिकार नेट टिभीलाई प्रदान गरेको छ भने नेपाल क्षेत्रको परम्परागत टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्कले प्राप्त गरेको छ।

By अर्थहरु |

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि टेलिभिजन तथा इन्टरनेटमार्फत गरिने प्रत्यक्ष प्रसारण (ओटीटी) अधिकार बिक्रीबाट ३२ करोड ६८ लाख रुपैयाँ आम्दानी सुनिश्चित गरेको छ।

क्यानले विश्वव्यापी ओटीटी अधिकार नेट टिभी प्रालिलाई १८ करोड ४ लाख रुपैयाँमा प्रदान गरेको छ भने नेपाल क्षेत्रको परम्परागत टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिलाई १४ करोड ६४ लाख रुपैयाँमा प्रदान गरेको छ।

हिमालय स्पोर्ट्स (हिमालय टेलिभिजन) ले कीर्तिमानी बोलकबोलमार्फत टेलिभिजन प्रसारण अधिकार सुरक्षित गरेको हो। कम्पनीले करसहित १७ करोड २४ लाख रुपैयाँ तथा करबाहेक १४ करोड ५६ लाख रुपैयाँको बोलकबोल गरेको थियो। प्रसारकका अनुसार यो रकम गत वर्षको प्रसारण अधिकारको मूल्यभन्दा पाँच गुणाभन्दा बढी र यस वर्षका लागि तोकिएको न्यूनतम रकमभन्दा झन्डै साढे दुई गुणा बढी हो।

हिमालय स्पोर्ट्सले एनपिएलको प्रसारण अधिकार प्राप्त गर्नु गौरवको विषय हुनुका साथै नेपाली क्रिकेटप्रतिको दीर्घकालीन प्रतिबद्धता भएको जनाएको छ। कम्पनीका अनुसार एनपिएलको बढ्दो व्यावसायिक मूल्यले आर्थिक रूपमा दिगो र व्यावसायिक रूपमा व्यवस्थापन गरिएको खेलकुद प्रतियोगिता निर्माण गर्ने सम्भावना देखाएको छ।

प्रसारकले लिगको व्यावसायिक मूल्यमा भएको वृद्धिले थप स्रोत भित्र्याउनुका साथै खेलको विकासका लागि नयाँ अवसर सिर्जना गरेर नेपालको समग्र क्रिकेट क्षेत्रलाई थप बलियो बनाउन सक्ने पनि जनाएको छ।

नेपालबाहिर एनपिएलको टेलिभिजन प्रसारण भने स्टार स्पोर्ट्स मार्फत निरन्तर हुनेछ।

क्यानले लिगको टिकट बिक्री अधिकार ईसेवा लिमिटेडलाई ६५ लाख रुपैयाँमा प्रदान गरेको छ। सम्झौताअनुसार टिकट बिक्रीबाट प्राप्त हुने आम्दानीको ९५ प्रतिशत क्यानले प्राप्त गर्नेछ भने बाँकी ५ प्रतिशत ईसेवाले पाउनेछ।

प्रसारण तथा टिकट बिक्री अधिकारको बिक्रीसँगै एनपिएलको तेस्रो संस्करणका लागि क्यानले कुल ३३ करोड ३३ लाख रुपैयाँको व्यावसायिक आम्दानी सुनिश्चित गरेको छ।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

वातावरण

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको आकस्मिक बाढीले हिमाली जिल्लामा विपद्को...

सुवास दर्नाल / रासस

समाचार

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट आज तातोपानी...

रासस

समाचार

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको बाढीपछि विभिन्न देश र अन्तरराष्ट्रिय...

रासस

×

×