कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको हिस्सा थियो। पहाडी जनजीवनसँग गहिरो सम्बन्ध रहेको कोदो अहिले भने किसानको बारीबाट विस्तारै हराउँदै गएको छ।
खेतीका लागि उपयुक्त जमिन र हावापानी भए पनि पछिल्लो समय भोजपुरमा यसको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। कम आम्दानी, बढी मेहनत र बजारको अभावका कारण किसान अन्य बालीतर्फ आकर्षित हुन थालेका हुन्।
टेम्केमैयुङ गाउँपालिका–६ कोटका किसान रामकुमार राईका अनुसार अहिले कोदोखेती घरायसी प्रयोजनमा सीमित हुँदै गएको छ।
“कोदोखेती गरेर जीवन धान्नसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “गाउँघरमा पनि व्यावसायिक रूपमा कोदोखेती गर्ने चलन हराउँदै गएको छ। अहिले घरमा खानका लागि मात्र कोदो लगाउने गरिएको छ।”
उहाँका अनुसार कोदोखेती गर्न अन्य बालीको तुलनामा बढी मेहनत गर्नुपर्छ तर आम्दानी भने कम हुन्छ। त्यसैले किसानले विस्तारै यो बाली छाड्दै गएका छन्।
भोजपुर नगरपालिका–५ बोखिमका किसान रुपनारायण फुयाँलले पनि पहिलेको तुलनामा कोदोखेती निकै घटेको बताउनुभयो। “पहिले धेरै किसानले कोदो लगाउँथे”, उहाँले भन्नुभयो, “अहिले उत्पादन पनि घटेको छ र खाने चलनसमेत कम हुँदै गएको छ।”
स्थानीय बजारमा कोदो प्रतिकिलो रु १४० देखि १७० सम्ममा बिक्री हुने गरेको छ। तर मूल्य राम्रो भए पनि उत्पादन र बजारको निश्चितता नहुँदा किसानले यसलाई व्यावसायिक बालीका रूपमा लिन सकेका छैनन्। किसानका अनुसार कोदोको प्रयोग परम्परागत खानाभन्दा जाँड, रक्सी बनाउन बढी हुने गरेको छ।
कोदो पौष्टिक अन्नका रूपमा चिनिन्छ। यसबाट ढिँडो, रोटी, सातु, लिटोलगायत विभिन्न परिकार बनाउन सकिन्छ। विशेषगरी चिसो मौसममा कोदोको खोले स्वास्थ्यका लागि उपयोगी मानिन्छ। तर आधुनिक खानपानको बढ्दो प्रभावसँगै कोदो खाने चलन पनि घट्दै गएको छ।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा करिब पाँच हजार हेक्टर जमिन कोदोखेतीका लागि उपयुक्त छ। तर पछिल्लो समय यसको खेती क्रमशः घटिरहेको छ। किसान नगदेबाली, तरकारी र फलफूलखेतीतर्फ आकर्षित भएपछि कोदोजस्ता परम्परागत बाली ओझेलमा पर्दै गएको केन्द्रले जनाएको छ।
स्थानीय किसानका लागि कोदो केबल अन्न होइन, पहाडी जीवनशैली र संस्कृतिसँग जोडिएको बाली पनि हो। त्यसैले यसको खेती जोगाउन उत्पादनसँगै बजार सुनिश्चित गर्नुपर्ने किसानको माग छ।
कोदोको उत्पादन घट्दै जाँदा गाउँघरको परम्परागत खानाको स्वाद मात्र हराउने होइन, स्थानीय बालीको विविधता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको कृषि ज्ञानसमेत कमजोर हुने जोखिम बढेको छ।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×