समाचार

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

गाउँपालिकाले किसानलाई आवश्यक पर्ने उन्नत जातको रायो र मूलाको बीउ उपलब्ध गराउन आवेदन माग गरेको छ।

By रासस |

यहाँको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो र मूलाखेती प्रवर्द्धनमा जोड दिएको छ। गाउँपालिकाले उन्नत जातको रायो र मूलाको बीउ वितरण गर्ने तयारीसँगै किसानले उत्पादन गरेका कृषि उपजको बजार सुनिश्चित गर्न खरिद पूर्वसम्झौता गरेको हो।

गाउँपालिकाले किसानलाई आवश्यक पर्ने उन्नत जातको रायो र मूलाको बीउ उपलब्ध गराउन आवेदन माग गरेको छ। कृषि विकास शाखाको स्वीकृत कार्यक्रमअन्तर्गत उन्नत जातको बीउ वितरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।

किसानले उत्पादन गरेका रायो र मूलाको बजारीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले सिद्धकाली एग्रो प्रालि भोजपुरसँग खरिद पूर्वसम्झौता गरेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। सम्झौताअनुसार न्यूनतम समर्थन मूल्य निर्धारण गरी रायो ५०० टन र मूला ५०० टन खरिद गरिनेछ।

“किसानलाई उत्पादनमा मात्र नभएर उत्पादित वस्तुको बजार सुनिश्चिततामा स्थानीय सरकारले सहयोग गर्नुपर्छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “त्यसैले उत्पादन गर्नुअघि नै खरिद गर्ने पक्षसँग सम्झौता गरेका हौँ। यसले किसानलाई आफ्नो उत्पादन बिक्री हुने सुनिश्चिततासहित व्यावसायिक खेतीमा लाग्न प्रोत्साहन गर्नेछ।”

गाउँपालिकाले किसानलाई आवश्यक बीउ उपलब्ध गराउनुका साथै खेती प्रविधिबारे प्राविधिक सहयोग गर्ने जनाएको छ। उत्पादनको परिमाण बढाउँदै किसानको आम्दानीमा वृद्धि गर्ने उद्देश्यले रायो र मूलालाई प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो।

उहाँका अनुसार किसानलाई बीउ वितरण, उत्पादनमा प्राविधिक सहजीकरण तथा बजारीकरणमा सहकार्य गर्ने गरी कार्यक्रम अघि बढाइएको हो। उत्पादन भएका कृषि उपजले उचित मूल्य नपाउने तथा बजारको अभाव हुने समस्या समाधान गर्न खरिद पूर्वसम्झौता महत्त्वपूर्ण हुने उहाँको भनाइ छ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्न गाउँपालिकाले उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। किसानलाई उत्पादनमा प्रोत्साहनसँगै उनीहरूको उपजको उचित मूल्य प्राप्त हुने वातावरण निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ।

रायो र मूलाको व्यावसायिक उत्पादन बढाएर स्थानीय किसानको आम्दानी वृद्धि गर्ने तथा बाह्य क्षेत्रबाट आउने तरकारीको निर्भरता घटाउने लक्ष्य गाउँपालिकाले राखेको छ।

थप सामाग्री पढ्नुहोस

समाचार

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक...

रासस

समाचार

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ...

रासस

समाचार

चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

बाजुराको गौमुल गाउँपालिकाको केन्द्र घटमुनालाई जोड्ने बुढीगङ्गा नदीमा निर्माण हुने भनिएको पक्की पुलको...

रासस

×

×