समाचार

सुनसरी घटनाप्रति राष्ट्रपतिको चिन्ता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

राष्ट्रपति पौडेलले सदियौँदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र गौरवपूर्ण परम्परा भएको उल्लेख गरेका छन्।

By अर्थहरु |

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै उत्पन्न भएको विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक तथा जातीय सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेका छन्।

बिहीबार जारी गरेको अपिलमा राष्ट्रपति पौडेलले सदियौँदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र गौरवपूर्ण परम्परा भएको उल्लेख गरेका छन्।

उनले शान्ति, अमनचयन र सुव्यवस्था कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन्।

राष्ट्रपतिले वर्तमान परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउँदै शान्ति सुरक्षा पूर्ववत् कायम गर्न तथा नागरिकलाई शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सरकारले हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गरेका छन्।

समुदायबीचको एकता, मित्रता, सहिष्णुता र आपसी विश्वासलाई कमजोर पार्ने कुनै पनि गतिविधिबाट टाढा रहन आग्रह गर्दै उनले कठिन परिस्थितिमा सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति पौडेलले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

साथै, घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाचार

सरकार र सत्तारुढ दलको समानान्तर निजी सञ्चार माध्यम, सरकारी ओझेलमा

देशमा पछिल्लो समय सरकारका महत्वपूर्ण सूचना सार्वजनिक गर्ने शैलीमा परिवर्तन देखिन थालेको छ।...

प्रेम कुमार साह

समाचार

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट...

रासस

समाचार

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ब्रेक...

रासस

×

×