सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको झडपमा एक जनाको मृत्यु भएपछि त्यसको प्रभाव अन्य जिल्लामा पनि फैलिएको छ। विरोध प्रदर्शन चर्किँदै गएपछि सिरहा र धनुषाका विभिन्न क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
सिरहाको गोलबजार क्षेत्रमा दुई समूहबीच झडप भई सुरक्षा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरेको हो। कर्फ्यू पूर्व–पश्चिम राजमार्गअन्तर्गत कसहा खोलादेखि चोहर्वा चोकसम्म तथा सैनिक चोकदेखि राष्ट्रिय प्रजातन्त्र बहुमुखी क्याम्पस आसपासका क्षेत्रमा लागू गरिएको छ।
प्रदर्शनका क्रममा केहि मोटरसाइकलमा आगजनी भएको प्रहरीले जनाएको छ। गोलबजार नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि कर्फ्यूपछि पनि केही स्थानमा प्रदर्शन जारी रहेको बताइएको छ। तनाव उत्पन्न भएका स्थानमा स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फायर समेत गरिएको छ।
यस्तै, धनुषामा पनि प्रदर्शन उग्र बनेपछि जनकपुरधाम उपमहानगरपालिकाका सबै क्षेत्र, लक्ष्मीनिया गाउँपालिका तथा नगरायन नगरपालिकाका विभिन्न स्थानमा बिहीबार दिउँसो ३:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यू लागू गरिएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।
यसैबीच, विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत देवानगञ्ज–३ का जयप्रकाश मेहताको बिहीबार उपचारकै क्रममा मृत्यु भएको छ। यसअघि आइतबार राति गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–४ का ओमप्रकाश मेहताको पनि अस्पताल पुर्याइएलगत्तै मृत्यु भएको थियो। दुबै २५-३० उमेर समुहका युवा हुन्। घटनामा गोली लागेका अन्य आठ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सुनसरी घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको छ। बैठकले सामाजिक सद्भाव, सार्वजनिक सुरक्षा र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वय बढाउँदै यस्ता घटना दोहोरिन नदिने प्रभावकारी कदम चाल्ने निर्णय गरेको जनाएको छ। साथै, विपद् प्रतिकार्य र समग्र सुरक्षा व्यवस्थाबारे पनि छलफल भएको बताइएको छ।
थप सामाग्री पढ्नुहोस
करेन्ट लागेर जङ्गली हात्ती ‘रोनाल्डो’को मृत्यु
जङ्गली हात्ती रोनाल्डो मृत भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जको बरन्डाभारमा विद्युतीय तार रहेका...
दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
धुलिखेल नगरपालिका४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई...
दुई सदनको भूमिका खुम्च्याउने नियममाथि सर्वोच्च अदालतको रोक
नेपाल संवैधानिक सर्वौच्चता मान्ने देश हो। नेपालको संविधान संशोधन गर्ने अधिकार संसद्लाई छ,...
×