नेपाल चिकित्सक संघको आह्वानमा आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिको घटनाक्रमको विरोधमा संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
संघले साउन ९ गते नारायणी अस्पतालमा भएको आक्रमणमा चिकित्सक डा. प्रमोद राम गम्भीर घाइते भएको तथा अन्य चिकित्सक र स्वास्थ्यकर्मीमाथि पनि आक्रमण भएको जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) अनुसार तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न संघले सरकारसँग माग गरेको छ।
संघका अनुसार घटनापछि जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) सुदीपराज पाठकको निर्देशनमा परिचालित प्रहरीले संघका केन्द्रीय कार्यकारिणी सदस्य तथा नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्षसहित चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको थियो।
सोमबार जारी विज्ञप्तिमा संघले उक्त घटनाको कडा शब्दमा भर्त्सना गर्दै चिकित्सकहरूको मानमर्दन भएको आरोप लगाएको छ। साथै, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखमाथि पनि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेको छ।
आन्दोलनअन्तर्गत आज देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेक ओपिडीसहितका नियमित स्वास्थ्य सेवा बन्द रहने संघले जनाएको छ। आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख छ।
सेवा बन्दबाट बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै संघले त्यसको जिम्मेवारी सरकारकै भएको दाबी गरेको छ। साथै, आन्दोलनमा चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई ऐक्यबद्धता जनाउन पनि आह्वान गरेको छ।
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्दै स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गर्न सबै अस्पताललाई अपिल गरेको छ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी अपिलमा स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सक पेसाको गरिमा र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकलाई निर्वाध स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरिएको छ।
मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया अघि बढिरहेको जनाएको छ।
थप सामाग्री पढ्नुहोस
करेन्ट लागेर जङ्गली हात्ती ‘रोनाल्डो’को मृत्यु
जङ्गली हात्ती रोनाल्डो मृत भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जको बरन्डाभारमा विद्युतीय तार रहेका...
दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
धुलिखेल नगरपालिका४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई...
दुई सदनको भूमिका खुम्च्याउने नियममाथि सर्वोच्च अदालतको रोक
नेपाल संवैधानिक सर्वौच्चता मान्ने देश हो। नेपालको संविधान संशोधन गर्ने अधिकार संसद्लाई छ,...
×