राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ।
सो आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ। त्यसका लागि एक दशमलव सात किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ।
भेरी नदीको पानी ‘डाइभर्सन’ गरी बबईमा झारेर सिँचाइ सुविधा उपलब्ध गराउने र त्यसबाट करिब ४६.८ आठ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
प्रस्तावित प्रसारण लाइनमा नौवटा टावर रहनेछ। त्यसमध्ये तीनवटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र र बाँकी छवटा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछ।
प्रसारण लाइनको क्षेत्राधिकार १८ मिटर रहनेछ। प्रसारण लाइनका कारण सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ र बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित हुनेछ। आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्न लागेकाले आवश्यक सुझाव दिन आग्रह गरेको छ।
भेरी–बबईको प्रगति ७०%
भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाको झण्डै ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
हालसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५७ प्रतिशत रहेको छ। बाँकी काम सम्पन्न गर्न अझै तीन वर्ष लाग्ने आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाले जानकारी दिनुभयो।
अपेक्षित प्रगति नभएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले केही दिनपहिले आयोजना स्थलको निरीक्षण गर्नुभएको थियो। उहाँले निर्माण प्रक्रियालाई तीव्र पार्न निर्देशन दिनुभएको थियो।
आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको छ। सिभिल निर्माण कार्य, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलको काम जारी छ। प्रसारण लाइन निर्माण कार्यको वातावरणीय प्रभाव मूल्याङ्नका लागि पूर्वस्वीकृतिको प्रक्रिया सुरु भएको छ।
थप सामाग्री पढ्नुहोस
सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
घरमा आमा हुनुहुन्छ। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा...
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा...
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ...
×