समाचार

कारागारमा उत्पादित सामग्रीको माग घट्यो

यस कारागारमा विगतमा मुढा बुनेर आफ्नो गुजारा चलाउने बन्दीको सङ्ख्या २०० हाराहारी हुने भए पनि अहिले यो घटेर ७५ मा झरेको छ।

By रासस |

कुनै समय कारागार कार्यालयमा उत्पादित सामग्री भनेपछि सबैलाई महत्वका साथ खरिद गर्दथे। अहिले कारागारबाट उत्पादित सामग्रीको माग घटेको छ। 

यहाँस्थित जिल्ला कारागार कार्यालय चितवनमा मुढा, गलैँचा, झोलालगायतका सामग्री बिक्री हुने गर्दथ्यो।  तर अहिले माग घटेको कारागारमा रहेका बन्दीहरुले गुनासो गरेका छन्।

विगतका वर्षहरुमा बजार सहज हुँदा कारागार कार्यालयमा बन्दी जीवन बिताइरहेका आफ्नो खर्च र परिवारलाई केही सहयोग पुर्याउदै आएका थिए। तर अहिले त्यस्तो छैन। कारागारमा विगत १३ वर्षदेखि बन्दी जीवन बिताउँदै आउनुभएका विकास प्रर्जा (परिवर्तीत नाम) अहिले मुढाको माग घट्दा समस्या भएको बताउनुहुन्छ। 

उहाँले भन्नुभयो, “पहिलेको तुलनामा मुढाको माघ घट्दै गएको छ।” बन्दी जीवन बिताउँदै गर्दा मानसिक र शारीरिक रुपमा आफूलाई व्यस्त राख्नका लागि मुढा बुन्ने गरेको भए पनि अहिले मुढाको माग घटेको उहाँले बताउनुभयो। विगतमा सीमित कारागारमा यस्ता तालिमहरु हुने र उत्पादन गर्ने गरेको भए पनि अहिले हरेक कारागारमा सीपमूलक तालिम नहुने र उत्पादन पनि धेरैतिर हुँदा माग घटेको उहाँले बताउनुभयो। उहाँका अनुसार पहिलेको तुलनामा अहिले माग घटेपछि ५०% उत्पादन घटेको छ। उहाँले थप्नुभयो, “चार्डपर्वको समयमा केही माग बढ्छ की भन्ने आशामा छौँ।”

यस कारागारमा विगतमा मुढा बुनेर आफ्नो गुजारा चलाउने बन्दीको सङ्ख्या २०० हाराहारी हुने भए पनि अहिले यो घटेर ७५ मा झरेको छ। माग बढ्न नसक्दा कामदारको सङ्ख्या पनि घटेको उहाँले बताउनुभयो। कारागारभित्रै आफ्नो कम्पनीमा पहिला ४०/४५ जना बन्दीहरुले काम गर्ने गरेको भए पनि अहिले १८ जना मात्रै रहेको उहाँले बताउनुभयो। लामो समय बन्दी जीवन बिताउनु पर्नेहरुले मुढासँगै गलैँचा बनाउने काम समेत गर्दै आएका छन्। कतिपय मुढा बन्ने बन्दीहरु गलैँचा बुन्न गएको उहाँले बताउनुभयो।

पछिल्ला वर्षहरुमा प्लाष्टिकका कुर्सी र मुढाको प्रचलन बढेपछि बाँसका मुढाको माग घटेको उहाँले बताउनुभयो। पहिला महिनामा ५०० हाराहारी मुढा उत्पादन हुने गरेको यस कारागारमा अहिले ३०० हाराहारी मात्रै मुढा उत्पादन हुँदै आएको छ। स्पेसल र स्थानीय गरी दुई प्रकारका मुढा बनाइने यहाँ अहिले स्थानीय मात्रै बनाईदै आईएको छ।

बन्दी जीवन बिताउँदै आउनुभएका रामु प्रर्जा (परिवर्तित नाम) अहिले गलैचा बन्ने काम गर्दै आउनुभएको छ। विगतका वर्षको तुलनामा पछिल्ला केही वर्ष गलैँचाको माग कम भएपछि पहिलेको जस्तो व्यापार हुन छाडेको उहाँले बताउनुभयो। गलैँचा बुन्नका लागि साइजअनुसार समय लाग्ने र स्क्वायर फिटका हिसाबले पैसा लिने गरेका बन्दीहरु गलैँचा किन्ने ग्राहक नआउँदा काम गर्ने जाँगर हट्दै गएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “दिनभरि काम गर्दा अन्य कुरामा ध्यान जाने थिएन अहिले फुर्सद हुँदा समस्या भएको छ।” यस पेसामा ६५ जना बन्दीहरु आबद्ध रहेका छन्। आफ्नो कामअनुसारको कमाइ हुने भए पनि व्यस्त रहन पाउँदा निकै रमाइलो हुने गरेको उहाँले सुनाउनुभयो। मासिक १५ देखि १८ वटा गलैँचा उत्पादन हुँदै आएकोमा अहिले यो सङ्ख्या पनि घटेको छ।

कारागार कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गाना यहाँ रहेका बन्दीहरु हाँसी खुसी आय आर्जनका काम गर्दै आएको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “अहिले माग घट्दा केही निरासा भने बन्दीमा छाएको छ।” राम्रो बजार हुँदा मासिक रु १५ हजारसम्म यहाँका कैदीबन्दीले कमाउने गरेका थिए। अहिले मुस्किलले रु पाँच हजार कमाउने गरेको उहाँले बताउनुभयो। यहाँ उत्पादित सामग्रीहरु काठमाडौँसहित छिमेकी जिल्ला र स्थानीय बजारमा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो। अहिले यस कारागारमा ४० जना महिला र ६८ जना पुरुष कैदी बन्दी रहेका छन्। यहाँ महिलातर्फ ३० र पुरुषतर्फ ५७० जना कैदीबन्दी राख्ने क्षमता रहेको छ।

रासस (राष्ट्रिय समाचार समिति)

थप सामाग्री पढ्नुहोस

समाचार

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

राष्ट्रिय गौरवको भेरीबबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध...

रासस

समाचार

तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु छ अर्ब...

रासस

समाचार

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्कीको पोखरा महानगरपालिका३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले...

रासस

×

×