ध्रुवे हात्ती | तस्बिर: गुरुङ प्रताप/विकिमीडिया कमन्स
ध्रुवे हात्ती | तस्बिर: गुरुङ प्रताप/विकिमीडिया कमन्स

समाचार

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी, नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

ध्रुवे हात्तीले २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको ज्यान लिएपछि स्थानीय प्रशासनले मार्ने निर्णय गरेको थियो।

By रासस |

पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ। दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो। उक्त हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो।

उक्त हात्तीले गत शनिबार राति एकै परिवारका दुई जनाको ज्यान लिएको थियो। उक्त घटनासहित २५ जनाको सोही हात्तीका कारण मृत्यु भएको अधिकृत पुर्जा पुनले बताउनुभयो। उहाँका अनुसार त्यस घटनापछि हात्तीको निरन्तर अनुगमन भइरहेको छ।
त्यस हात्तीले मेघौलीको गोलाघाटस्थित सामुदायिक वनको गेटमा हानेर सोमबार साँझ स्थानीय दुई घरको अन्न खाएको थियो। उहाँले भन्नुभयो, “हामी तयारी अवस्थामा छौँ, भेटिनासाथ ‘डार्ट’ गर्छौ, त्यसपछि दाह्रा काट्ने र नयाँ रेडियो कलर लगाउने तयारी छ।” यसअघि लगाइएको रेडियो कलरले समयमा सूचना दिन नसक्ने भएपछि नयाँ जडानको तयारी गरिएको हो।

हात्तीलाई लगाउने रेडियो कलर आइसकेको छ। उक्त उपकरण जडानपछि हात्ती बस्ती पसेको सूचना पाएसँगै स्थानीयलाई समेत खबर गरेर सतर्कता अपनाउन सहज हुनेछ।

गत शनिबार राति ध्रुवेले भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। आमाछोरालाई आक्रमण गरी भागेको ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको थियो।

घरमै बसिरहेका बेला शनिबार राति अचानक जङ्गलबाट आएको ध्रुवेलाई धपाउन आशिकाका श्रीमान्ले आगो बाल्न खोज्दा घर नै जलेर नष्ट भएको छ।

विसं २०७४ मा नेपाली सेनाका एक सेनानीलाई आक्रमण गरेर मारेपछि ध्रुवेले झन्डै नौ वर्षपछि ती दुई आमाछोराको ज्यान लिएको हो। चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रूपमा परिचित ध्रुवेले २०६८/६९ सालताका दैनिकजसो मान्छेको ज्यान लिन थालेपछि  मार्न आदेश दिइएको थियो।

त्यस हात्तीले २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको ज्यान लिएपछि स्थानीय प्रशासनले मार्ने निर्णय गरेको थियो। विसं २०६६ माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको ध्रुवेले २०६९ सालसम्म आइपुग्दा १५ जनाको ज्यान लिसकेको थियो। ध्रुवेको घाँटीमा पटकपटक रेडियोकलर जडान गर्ने र दाह्रा काट्ने गरिँदै आएको छ।

निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवेलगायत नाम गरेका जङ्गली भाले हात्ती छन्। निकुञ्जका पोथी हात्ती यिनै भाले हात्तीबाट प्रजनन हुँदै आएको छ। प्रमुख संरक्षण अधिकृत पुर्जा पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० वटा जङ्गली हात्ती  छन्। अन्य हात्तीले त्यस क्षेत्रमा दुःख दिएका छैनन्। निकुञ्ज, विपद् व्यवस्थापन समितिलगायतका सरोकारवाला सङ्घसंस्था मिलेर हात्तीले भत्काएपछि आगोसमेत लागेको घर पुनर्निर्माण गर्ने तयारी गरिएको छ।

हाल ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन चौबीसै घण्टा अनुगमन सुरु गरिएको छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।

मन्त्री चौधरीका अनुसार हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेमा डार्ट प्रयोग गरी रेडियो कलर जडान गर्ने तयारी गरिएको छ। रेडियो कलर जडानपछि हात्तीको गतिविधिलाई चौबीसै घण्टा निगरानीमा राखिनेछ।

उहाँले हात्ती मध्यवर्ती क्षेत्रका बस्तीमा प्रवेश गर्न लागेको सूचना सम्बन्धित स्थानीयवासीसम्म समयमै पुर्याएर आवश्यक सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको छ।

यसैबीच, ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएकाका परिवारलाई तत्काल राहत उपलब्ध गराइएको मन्त्री चौधरीले जानकारी दिनुभयो। घटनाको तीन दिनभित्रै मृतकका परिवारलाई जनही रु १० लाखका दरले  रु २० लाख राहत रकम प्रदान गरिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सञ्चालित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट मृतकका परिवारलाई जनही रु ५० हजारका दरले थप रु एक लाख उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

रासस (राष्ट्रिय समाचार समिति)

थप सामाग्री पढ्नुहोस

समाचार

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

राष्ट्रिय गौरवको भेरीबबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध...

रासस

समाचार

तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु छ अर्ब...

रासस

समाचार

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्कीको पोखरा महानगरपालिका३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले...

रासस

×

×