तस्बिर: नेपाल प्रेमिएर लिग । फेसबुक
तस्बिर: नेपाल प्रेमिएर लिग । फेसबुक

समाचार

एनपीएल २०२६ मिनी अक्सन: ५२ खेलाडी अनुबन्धित, आसिफ शेख उच्च मूल्यमा

क्यानले तेस्रो संस्करणको एनपिएलका लागि सोमबार काठमाडौंमा आयोजना भएको मिनी अक्सनमा ८ वटा टोलीले १५५ जना खेलाडी मध्ये कुल ५२ जनाको लागि बोली लगाएको छ। अक्सनको लागि कुल ३४७ जना खेलाडीले नाम दर्ता गराएका थिए।

By अर्थहरु |

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि मिनी अक्सन मार्फत ५२ खेलाडी अनुबन्ध भएका छन्। सोमबार काठमाडौंमा भएको अक्सनबाट १५५ जना खेलाडी मध्ये विभिन्न ८ वटा टोलीले ५२ जना खेलाडीलाई अनुबन्ध गरेका छन्। 

नेपाल क्रिकेट संघका अनुसार एनपीएलको तेस्रो सिजन दशैँ सकिएपछि सुरु हुनेछ। प्रत्येक टिमले मार्की खेलाडीसहित १४ जना नेपाली खेलाडी राख्नुपर्नेछ।

अक्सनमा राष्ट्रिय टोलीका ओपनर एवम् विकेटकिपर ब्याटर आसिफ शेख सर्वाधिक रकममा अनुबन्ध भएका छन्। शेखलाई लुम्बिनी लायन्सले लक्की ‘ड्र’ मार्फत २० लाखमा अनुबन्ध गर्‍यो। शेखलाई आफ्‌नो टोलीमा अनुबन्ध गराउन चितवन राइनोज बाहेकका ७ टोलीले बोली लगाएका थिए। जनकपुर बोल्ट्सको लागि पहिलो र दोस्रो सिजन मार्की प्लेयरका रुपमा खेलेका शेखलाई बोल्ट्सले यसपटक रिलिज गरेको थियो। 

अधिकतम मूल्यमा एकभन्दा बढी टोलीले बोली लगाएपछि लक्की ‘ड्र’ मार्फत खेलाडी कुन टोलीमा जाने निर्णय गरिन्छ। 

विकेककुमार यादव, रुपेश सिंह, तृतराज दास र अर्जुन घर्ती अधिकतम मूल्य १५ लाखमा अनुबन्ध भए। यादव चितवन, सिंह विराटनगर, दास जनकपुर र घर्ती पोखरामा अनुबन्ध भए। यि खेलाडीहरुमा एक भन्दा बढी टोलीले बोली लगाएका थिए। 

सुनिल धमला, शंकर राना, भुवन कार्की, नरेन भट्ट र दिपेश कँडेलसहित केही चर्चित खेलाडी कुनै पनि टोलीमा आबद्ध हुन सकेनन्।

विराटनगर किङ्स 

सन्दीप लामिछाने मार्की प्लेयर रहेको विराटनगरले रुपेशकुमार सिंहलाई अधिकतम मूल्यमा टोलीमा अनुबन्ध गरेको छ। सिंहलाई विराटनगर सहित पोखरा, चितवन र सुदुरपश्चिमले अधिकतम मूल्यमा खरिद गर्न बोली लगाएका थिए, जसमा विराटनगरले लक्की ड्र मार्फत अनुबन्ध गरे। 

अक्सनमा विराटनगरले रुपेश कुमार सिंह १५ लाख खरिद गरे। त्यस्तै नरेन साउद (५ लाख), दिलसाद अली (५ लाख), सुजन थपलिया (४.२५ लाख), अपराजित पौडेल, प्रतिक श्रेष्ठ र इम्रान शेख (जनही २ लाख) टोलीमा भित्रिएका छन्। 

विराटनगरले सन्दीपसहित लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिस जिसी र सुभाष भण्डारीलाई रिटेन गरेको छ। 

जनकपुर बोल्ट्स 

पहिलो र दोस्रो सिजनको मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेको बोल्ट्सले तिर्थराज दासलाई १५ लाखमा अनुबन्ध गरे।

अनिल कुमार शाह, ललित नारायण राजवंशी, विकाश आग्री, मायन यादव र आदित्य मेहतालाई बोल्ट्सले रिटेन गरेको छ। 

जनकपुरले तिर्थसँगै अभिषेक तिवारी, विशाल पटेल, अमरसिंह रौटेल (जनही ५ लाख), रित गौतम (४.२५ लाख), सन्तोष कार्की (३ लाख), आशुतोष पाण्डे र विशाल सुस्लिङलाई (जनही २ लाख) टोलीमा अनुबन्ध गरे।

चितवन राइनोज 

घाइते भएर अघिल्लो सिजन गुमाएका विवेककुमार यादव लक्की ड्र मार्फत अधिकतम मूल्य १५ लाखमा चितवन राइनोजमा भित्रिएका छन्। चितवनले आफैंले रिलिज गरेका गौतम केसी र विपिन रावललाई अक्सनमार्फत पुन भित्राएका छन्। अक्सनमा चितवनले मौसम ढकाल, अशोक धामी र सलौद्दिन खानलाई खरिद गरे।

कुशल मल्ल सहित रिजन ढकाल, दीपक बोहरा, रञ्जित कुमार, कमल सिंह ऐरी, देव खनाल र अर्जुन साउदलाई रिटेन गरेको छ। 

काठमाडौं गोर्खाज

त्यस्तै, काठमाडौं गोर्खाजले कम खर्च गर्दै ७ खेलाडी भित्र्याएका छन् जसमा साहिल पटेललाई ५ लाखमा अनुबन्ध गरिएको छ। बाँकी ६ खेलाडीलाई जनही २ लाखमा टोलीमा अनुबन्धन गरिएको छ। प्रसिद्ध जैसी, सोनु देवकोटा, कृष्ण पौडेल, देव शाह, सूयान्शु कोइराला र दयान्द मण्डललाई पनि टोलीमा भित्र्याइएको छ।

काठमाडौंले मार्की खेलाडी करण केसी, भीम शार्की, आदिल आलम, रशिद खान, सन्तोष यादव र शाहब आलमलाई रिटेन गरेको छ।

पोखरा एभेन्जर्स

पोखरा एभेन्जर्सले अर्जुन घर्तीलाई अधिकतम मूल्य १५ लाखमा टोलीमा भित्र्याउन सफल भएका छन्। अर्जुनलाई अधिमतम मूल्यमा खरिद गर्न जनकपुरले पनि बोली लगाएको थियो। पछि लक्की ड्रमा पोखरालाई परेको हो। 

एभेन्जर्सले अक्सनमा दीप आर्याल (३ लाख), विवेक रानामगर (२.७५ लाख), सन्नी विक, प्रतिक पोखरेल र विपिन आचार्यलाई (जनही २ लाख) अनुबन्ध गरे। 

मार्की खेलाडी कुशल भुर्तेल, सागर ढकाल, अर्जुन कुमाल, विपनि खत्री, आकाश चन्द, किरण ठगुन्ना र दीनेश खरेललाई पोखराले रिटेन गरेको थियो। 

लुम्बिनी लायन्स

एनपिएल दोस्रो सिजनको च्याम्पियन लुम्बिनीले पहिलो सिजन उत्कृष्ट खेल खेलेका आसिफ शेखलाई लक्की ड्र मार्फत सबभन्दा महँगोमा भित्र्याएको छ। दुई सिजन जनकपुर बोल्ट्सको मार्की खेलाडी रहेका शेखलाई जनकपुरले रिलिज गरेको थियो। शेखलाई अनुबन्ध गर्न ७ वटा टोलीले बोली लगाएका थिए। शेखको लागि जनकपुरले पनि बोली लगाएको थियो। 

लुम्बिनी आफैंले रिलिज गरको दुर्गेश गुप्तालाई अक्सनमार्फत पुन अनुबन्ध गरेको छ। किशोर महतोलाई पनि लक्की ड्र मार्फत टोलीमा भित्र्याइएको छन्। त्यस्तै लुम्बिनीले आकाश त्रिपाठी, अजय चौहान र अरनिको प्रसाद यादवलाई अक्सनमा खरिद गरेको छ। 

मार्की खेलाडी रोहित कुमार पैडेल, सन्दीप जोरा, शेर मल्ल, दिलीप नाथ, दिनेश अधिकारी, अभिषेक गौतम र तिलक भण्डारीलाई रिटेन गरेको छ। 

कर्णाली याक्स 

कर्णाली याक्सले आफैंले रिलिज गरेका दुई खेलाडीलाई मिनी अक्सन मार्फत पुन टोलीमा भित्र्याएको छ। कर्णालीले रिलिज गरेका विपिनप्रसाद शर्मा र दिपेन्द्र रावतलाई जनही ५ लाखमा पुनः अनुबन्ध गरको छ। अक्सनमा शुभ कंशाकार १० लाख, सूर्य तामाङ, दिवन पुन र सचिन शर्मालाई जनही २ लाखमा खरिद गरिएको छ। 

सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, दीपक डुम्रे,पवन सर्राफ, युनिश विक्रम ठकुरी र युवराज खत्रीलाइ कर्णालीले रिटेन गरेको छ। 

सुदुरपरिश्चम रोयल्स

एनपिएल दुवै सिजनको उपविजेता बनेको सुदुरपश्चिमले आफैंले रिलिज गरेका ३ खेलाडीलाई पुन टोलीमा भित्र्याएको छ। दीपक बोहरा, मिलन बोहरा र टेक रावतलाई रोयल्सले रिलिज गरेको थियो र मिनी अक्सनमार्फत बोहरालाई १० लाख, पोखरेल र मिलन बोहरालाई ५ लाखमा पुनः खरिद गरेको छ। टेक रावत, सचिन भट्ट र आयुव चन्दलाई जनही २ लाखमा सुदुरपश्चिमले अक्सनबाट टोलीमा भित्र्याएको छ। 

सुदुरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको छ। 

गत सिजनसम्ममा एउटा फ्रेन्चाइज टोलीले नेपाली खेलाडीतर्फ एक मार्की खेलाडी, अक्सनबाट १० र ट्यालेन्ट हन्टबाट एक गरी १२ खेलाडी लिइएको थियो। यसपटक क्यानले एउटा टोलीमा नेपाली खेलाडीको पुल संख्या १४ पुर्‍याएको थियो। जसमा अक्सनबाट १२ खेलाडी लिनुपर्ने थियो। मार्की र ट्यालेन्ट हन्टबाट छनोट हुने खेलाडी सहित हरेक टोलीमा कुल १४ नेपाली खेलाडी रहने व्यवस्था गरिएको छ। 

अक्सनमा जानुअघि ८ वटा टोलीसँग रहेको बाँकी पर्स यसप्रकार थियोः

  • विराटनगर किङ्स: रु ५१.५० लाख
  • जनकपुर बोल्ट्स: रु ६६.२५ लाख
  • चितवन राइनोज: रु ४२ लाख
  • काठमाडौं गोर्खाज: रु ३४ लाख
  • लुम्बिनी लायन्स: रु ४९.२५ लाख
  • पोखरा एभेन्जर्स: रु ४५.५० लाख 
  • कर्णाली याक्स: रु ४२ लाख
  • सुदुरपश्चिम रोल्यस: रु ४२.५० लाख
अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाचार

अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम

मौसमविद्ले यस वर्षको मनसुनमा लामो समयसम्म सुक्खा अवस्था रहने, अचानक अत्यधिक वर्षा हुने,...

भीष्मराज ओझा/रासस

समाचार

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

विषादी बिक्रीवितरण, भण्डारण वा जथाभावी व्यवसाय गर्न निषेध गरिएको छ। प्रदेश जीवनाशक विषादी...

अर्थहरु

समाचार

कृषि बीमामा रु २.१९ अर्ब, अनुसन्धानमा २.६४ अर्ब, उखु कृषक प्रोत्साहनमा १.५ अर्ब विनियोजन: कृषिमन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रको कूल बजेटको करिब ५९% रकम...

रासस

×

×