बुधबारको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले सत्तापक्षले संसदमा प्रश्न गर्नुपर्ने विषयमा पनि ‘मुर्दाशान्ती’ कायम गरि बसेको आरोप लगाएको छ। साथै, सभामुख डोलप्रसाद अर्यालको भूमिका माथि पनि प्रश्न गरेको छ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले सत्तापक्षले देशको राष्ट्रियता र सीमासम्बन्धि विषयमा आपत्तिजनक अभिव्यक्ति आउँदा समेत प्रश्न नगरेको बताउँदै ‘मुर्दाशान्ती’ कायम गरेको बताएका हुन्।
आङ्देम्बेले नेपाल इतिहासमा कहिल्यै कसैको उपनिवेश नबनेको र कसैको अघि नझुकेको बताए। उनले गोपाल योञ्जनको गीत ‘खोसेको रोटीले मेरो पेट भरिन्न…..बनेको छ पहराले यो छाती मेरो’ उद्धृत गर्दै आज योञ्जन हुनुभएको भए ‘नेपालले छिमेकीको सीमा मिचेको छ भनेर गर्वका साथ अभिव्यक्ति दिने प्रधानमन्त्रीको अभिव्यक्ति सुनेर के भन्नुहुन्थ्यो होला’ भन्दै प्रश्न गरे। आङ्देम्बेले भने, ‘उनले पनि मिचे, हामीले पनि मिच्यौं। के हिसाब बराबर भन्न खोज्नु भएको हो प्रधानमन्त्री ज्यु? यहि प्रश्न सोध्नुहुन्थ्यो होला।’
संसदले नै लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा सार्वजनिक गरेको र उक्त भूमि नेपालको रहेको अवगत गराउँदै आङ्देम्बेले सरकार र सत्तारुढ पार्टीको रवैया यो गम्भिर प्रश्नप्रति गम्भिर नदेखिएको बताए। उनले भने, ‘सरकार अलग कुरा हो, पार्टी अलग कुरा हो। मन्त्री, प्रधानमन्त्री पद अलग हो । सांसद अलग हो । यो तथ्य बुझेर अघिल्लो संसदमा जुन बेला नेपाली कांग्रेसका पार्टी सभापति र उपाध्यक्ष तत्कालिन अवस्थामा प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँहरूले रोस्टममा उभिएर आफ्नै सरकारको पनि कमजोरी केलाउनु भएको थियो। कांग्रेसका सांसदहरू कांग्रेसको मन्त्री प्रधानमन्त्रीका विरुद्धमा प्रश्न उठाउनुहुन्थ्यो।’
तर, अहिले संसदमा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको आफूले देखिरहेको उनले बताए। उनले सत्ताका पक्षबाट कसैले हिम्मत गरेर आफ्नो देशले कहाँ कसको सीमा मिच्यो भनेर प्रश्न गर्लान भन्ने आशा गरेकोमा कतिपय सांसदहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न न्वारानै देखिको बल लगाएर दौडिएर नेपालले मिचेको भूमि खोजिरहेको बताए।
उनले नागरिकले एक एक हिसाब राखिरहेको बताउँदै उक्त विषयमा सरकार र सत्तारुढ दल रास्वपा सजक बन्नुपर्ने बताए।
उनले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्नु अज्ञानताको पराकाष्ठा भएको र रास्वपा सभापति रवि लामिछाने नेपालमा सीमाको सवालमा बाघ बनेको तर भारत भ्रमणमा सिमानाको ‘स’ र कालापानीको ‘क’सम्म उच्चारण गर्न डराएको भन्दै आलोचना गरे। साथै उनले प्रधानमन्त्रीले जनतासँग माफी माग्नुपर्ने पनि बताए।
उनले भने, ‘उहाँले सीमानाको विषयमा ढोल बजाएर हुँदैन् भन्ने भयो। हामीलाई पनि थाहा छ, यो ढोल बजाएर गरिने कुरा होइन। यसका मापदण्डहरू होलान्। तर, दिल्लीमा त्यो उच्चस्तरिय भेटघाट, जो नेपाली राजनेताले कल्पना मात्रै गर्न सक्छन्, त्यो खालको भेटघाट हुँदै गर्दा किन त्यो उच्चारण भएन? सीमानाको ‘स’ किन डराउनु भयो? कालापानीको ‘क’ उच्चारण गर्न किन डराउनु भयो?’
उनले प्रधानमन्त्रीले सदनमा बोलेको कुरा घोर आपत्तिजन र निन्दनिय रहेको बताउँदै यो विषय निरन्तर सदनमा उठाउने र जनतामाझमा निरन्तर लिएर जाने पनि बताए। साथै, यहि वहानामा रास्वपाले वा प्रधानमन्त्रीले वा उनीहरूकै समूहले राष्ट्रको बेइजत गर्ने काम हुन नदिने उनले बताए। उनले यो प्रकरणमा संसद अवरुद्ध गरिएकोमा प्रधानमन्त्रीको गैरजिम्मेवारीको कुनै ओखती तत्कालका लागि नदेखिएकोले त्यो नीति बदलिएको पनि जानकारी गराए।
उनले आफ्नो अभिव्यक्तिको अन्त्यमा संसदमा केही रमाइलो झाँकी पनि देखिएको बताए। सामान्तयः संसद प्रतिपक्ष र सत्तापक्षबीचमा वादविवाद हुने गरेको बताउँदै यसपटकको संसद विल्कुल फरक शैलीमा सत्तापक्ष अन्यन्तै शान्त र प्रतिपक्ष आन्दोलित र सवालजवाफ सभामुखसँग भएको देखिएको बताए।
उनले आफूहरू सत्तापक्षसँग वादविवाद गरिरहेका छौं कि भनेर अन्योलमा परेको बताए। उनले भने, ‘सभामुखज्युले संसदको मर्यादालाई कायम राखिदिनुपर्ने थियो। राख्ने कोसिस गर्नुभयो होला। तर हामीलाई त्यस्तो महसुस भएन्। हामी निरन्तर सभामुखसँग लडिरह्यौ। मैले अहिले पनि बिर्सिएको छैन सभामुखले प्रतिपक्षको बेन्चमा हेरेर तपाईंलाई कति घन्टा चाहियो? एक घन्टा, दुई घन्टा, तीन घन्टा’ यसो भन्नु भएको मैले पनि सुनेको थिए।’
उनले आफ्नो मर्यादाले मर्यादित कुर्सिमाथि प्रश्न उठाउन पनि नदिएको बताए। उनले संसदको चिरहरण हुँदै गर्दा सभामुखको कुर्सी टुलुटुलु हेर्ने अवस्थामा लाचार भएको आफूले महसुस गरेको बताए। उनले सभामुखको कुर्सीलाई इंकित गर्दै भूमि शेरचनको कविता ‘घुम्ने मेचमाथि’ भन्दै आलोचना गरे।
उनले त्यसो भनेलगत्तै सत्तापक्ष रास्वपाले टेबल टोकेर विरोध गरेका थिए। जाँदै गर्दा आङ्देम्बेले भने, ‘म सभामुख ज्युमार्फत धादिङको कुनै निर्वाचन क्षेत्रबाट निर्वाचित हुनु भएको मेरा मित्र सर्देय डिपि अर्याल ज्युलाई म सोध्न चाहन्छु। म एउटा कुरा भन्न चाहन्छु, बडो घतलाग्दो छ, राम्रो छ, ‘मैले हिँड्ने बाटोमा यति धेरै काँडाहरू पनि नछरिदिनुस् यति धेरै काँडाहरू पनि नरोपिदिनुस्। के थाहा भोली त्यहि बाटो भएर तपाईं स्वयः मलाई भेट्न आउनुपर्ने हुन्छ।’
साथै, आङ्देम्बेले सभामुख अर्यालले संसदमा देखाएको व्यवहारबारे आलोचना गर्दै उनी सत्ताधारीतर्फ नरम भएको र सरकारले गलत काम गर्दा पनि रुलिङ गर्न नसकेको तथा बोल्दा समय माग्दा प्रतिपक्षी दलका सांसदहरूलाई कति समय चाहिएको भन्दै फरक व्यवहार गरिएको बताए।
लामो समयसम्म प्रतिपक्षको विरोधका कारण अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक बुधबार भने सत्तापक्षले सिंहदरबारमा सर्वदलिय छलफल गरि गतिरोध हटाउने निर्णय भएको थियो। सोहीअनुरुप बुधबारको बैठक सञ्चालन भएको थियो। उक्त बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति तथा आफ्नो भ्रमणका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले प्रष्टिकरण तथा जानकारी दिएका थिए।
यद्यपी बुधबारको बैठकमा श्रम संस्कृति पार्टीले भने केही समय अवरोध कायम राखेको थियो।
जेठ १७ गते प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल भारत सीमाबारे दिएको विवादास्पद अभिव्यक्ति दिएको विषयलाई लिएर हाल पनि प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आलोचना गर्दै प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान लिइरहेका छन्।
थप सामाग्री पढ्नुहोस
रास्वपा सांसद डा. अमरेशकुमार सिंहले भने: ‘बेलुनजस्तो बजेट ल्याइयो’
बिहीबारको प्रतिनिधिसभाको बैठकबाट आगामी वर्षको बजेटमाथि छलफल सुरू भएको छ। यसअघि प्रतिनिधिसभाको बैठकमा...
बुधबार फुक्यो संसद्को गतिरोधः श्रम संस्कृति पार्टीको विरोध भने कायमै
प्रतिनिधिसभाको बैठकमा केही दिनयता विपक्षी दलहरूले गर्दै आएको विरोधको अन्त्यसँगै बुधबार संसदको बैठक...
आर्थिक विधेयकमा प्रकाशित भइसकेका करको दर हेरफेर र कोरोला भन्सार नाका हुँदै विबाइडीका...
×