समाचार

बुधबार फुक्यो संसद्को गतिरोधः श्रम संस्कृति पार्टीको विरोध भने कायमै

परराष्ट्रमन्त्रीको स्पष्टीकरणपछि सभामुख डोलप्रसाद अर्यालले उक्त विरोधप्रति ध्यानाकर्षण गराएका थिए।

By अर्थहरु |

प्रतिनिधिसभाको बैठकमा केही दिनयता विपक्षी दलहरूले गर्दै आएको विरोधको अन्त्यसँगै बुधबार संसदको बैठक चलेको थियो। 

बैठक अघि बुधबार नै सिंहदरबारमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूबीच बैठक चलेपछि संसदमा भइरहेको अवरोधको अन्त्य भएको थियो। उक्त छलफलबाट प्रतिनिधिसभामा परराष्ट्रमन्त्री शिशिर खनालले सदनलाई सम्बोधन गर्ने र नेपाल भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई हटाउन सभामुखलाई आग्रह गर्ने निर्णयसँगै सदन चल्ने भएको थियो। 

यद्यपी बुधबारको प्रतिनिधिसभाको बैठकमा पनि अवरोध भने कायमै रहेको छ। मुख्यतः श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा विरोध कायमै राखेका हुन्। 

बुधबारको प्रतिनिधिसभाको बैठक सुरू हुनु अगावै सरेको थियो। निर्धारित समय बिहान ११ बजे भएतापनि बैठक सुरू नै नभई दिउँसो २ बजे बस्ने गरि सारिएको थियो। संघीय संसद सचिवालयले सूचना निकाल्दै बेठक सरेको बताइएको थियो। 

दिउँसो २ बजेबाट सुरू भएको बैठकमा अन्य विपक्षी दलका नेताहरूले विरोध नजनाएतापनि श्रम संस्कृति पार्टीले भने सुरूवात बाट नै विरोध जनाएको थियो। उक्त पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ)ले प्लेकार्डसहित उभिएर विरोध जनाएका थिए। 

साम्पाङलाई विरोध जनाउनुको कारण खुलाउन सभामुखले समय दिँदा उनले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन परराष्ट्रमन्त्रीको जवाफ आउने विषयमा आफ्नो सहमति नभएको र विरोध गर्ने बताए। उनले भने, ‘प्रधानमन्त्री भन्ने पदलाई जिम्मेवार बनाउने कुरा हो। अरू केही होइन्। उहाँ चाहिँ यहाँ आउँदै आउन नहुने, उहाँले गर्नु भएको गल्ती सच्याउन अरू मान्छे लागिदिनुपर्ने कुरा न्यायसम्मत छैन। संविधानसम्मत पनि छैन।’

उनले श्रम संस्कृति पार्टीले विरोध जनाउने र प्रधानमन्त्रीको धारणा के हो भन्ने विषयमा पनि स्पष्ट हुनुपर्ने बताए। उनले प्रधानमन्त्री आउन नसकेमा हस्ताक्षर लिखत पठाएर उक्त लिखत परराष्ट्रमन्त्रीले वाचन गर्दा आफूहरूले मान्ने बताए। 

आफ्नो कुरा राखेपछि पनि साम्पाङले उभिएर विरोध जनाइरहे। सभामुखले भने नियमित प्रक्रियाअनुसार आकस्मिक समयअनुसार सांसदहरूलाई बोल्न दिएका थिए। 

विरोधका बीच रोस्टममा परराष्ट्रमन्त्री

बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणको विषय र प्रधानमन्त्रीले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिबारे जानकारी दिएका थिए। 

उनी रोस्टममा पुग्दै गर्दा श्रम संस्कृति पार्टीले विरोध जनाएको थियो। उक्त पार्टीका सांसदहरूले उभिएर विरोध गरेका थिए।

विरोधका बीच रोस्टममा पुगेका परराष्ट्रमन्त्री खनालले आफ्नो तीन दिने भारत भ्रमणको विषयमा र प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउका विषयमा लामो मन्तव्य राखेका थिए। 

उनले भारतीय समकक्षी एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग कनेक्टिभिटी, सीमा व्यवस्थापन, क्रस बोर्डर भुक्तानी र भुकम्पपछिको पुननिर्माण परियोजना हस्तान्तरणजस्ता विषयमा ‘उपलब्धिमुलक’ वार्ता भएको जानकारी दिए। ‘दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुद्धृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, विभिन्न क्षेत्रिय तथा अन्तराष्ट्रिय मुद्दाहरूमा समेत विचार आदानप्रदान गरिएको छ,’ उनले भने। “नेपाल र भारतबीच द्विपक्षीय सहकार्यमा सञ्चालित परियोजनाको समिक्षा गर्नुका साथै तीनलाई थप प्रभावकारी बनाउने महत्वपूर्ण छलफल भएको छ।”

प्रधानमन्त्री बालेनले केही साताअघि प्रतिनिधिसभाको बैठकमै प्रश्नोत्तरका क्रममा नेपाल र भारत सीमाबारे दिएको विवादास्पद अभिव्यक्तिबारे पनि प्रस्ट्याउन परराष्ट्रमन्त्री खनालले उक्त विषय ‘मुलतः दशगजा क्षेत्रको अतिक्रमण’ र ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित रहेको बताए। उनले सीमा निर्धारण गरिएका नदीले धार परिवर्तन गर्ने र त्यसका कारण कतिपय नेपाली भूभाग भारततीर र भारतीय भुभाग नेपालतिर भएको विषयलाई प्रधानमन्त्रीले इंकित गरेको बताए। साथै, उनले ‘बेलायतसँग नेपालले सहजिकरण’ को विषयमा दिएको अभिव्यक्ति सन् १८१६ को सुगौली सन्धिसँग सम्बन्धित ऐतिहासिक दस्तावेजको सन्दर्भमा मात्र लिइएको र तेस्रो पक्षको मध्यस्थता नखोजिएको पनि बताएका छन्।

‘प्रधानमन्त्री ज्युले संसदमा राख्नु भएको भनाईको सन्दर्भ यी प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ’,उनले भने, ‘यसमा मुल प्रश्न भनेको सीमा सम्बन्धि विषयको कसरी निरुपण गर्ने भन्ने नै हो। तसर्थ, नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरुप ऐतिहासिक सन्धिसम्झौता तथा नक्साको आधारमा कुटनीतिक वार्ताको माध्यमबाट यस विषयको समाधान गर्न हामी प्रतिबद्ध छौं।’

प्रधानमन्त्रीको अभिव्यक्तिको निरन्तर विरोध, रेकर्डबाट भनाई हटाउन माग

संसदमा परराष्ट्रमन्त्री खनालल प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे प्रष्टिकरण दिएतापनि प्रतिपक्षी दलका नेताहरू भने यसप्रति सन्तुष्ट थिएनन्। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै उक्त भनाईलाई संसदको रेकर्डबाट हटाउन पनि माग गरेका थिए। उनीहरूले प्रधानमन्त्रीले ‘राष्ट्रघाती’ अभिव्यक्ति दिएको भन्दै चर्को आलोचना गरेका थिए।

परराष्ट्रमन्त्रीको प्रष्टिकरण लगत्तै सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीलाई विरोध गरेको विषयलाई लिएर ध्यानाकर्षण गराएका थिए।

नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले नेपाल इतिहासमा कहिल्यै कसैको उपनिवेश नबनेको र कसैको अघि नझुकेको बताए। उनले गोपाल योञ्जनको गीत ‘खोसेको रोटीले मेरो पेट भरिन्न…..बनेको छ पहराले यो छाती मेरो’ उद्धृत गर्दै आज योञ्जन भएकोमा ‘नेपालले छिमेकीको सीमा मिचेको छ भनेर गर्वका साथ अभिव्यक्ति दिने प्रधानमन्त्रीको अभिव्यक्ति सुनेर के भन्नुहुन्थ्यो होला’ भन्दै प्रश्न गरे। आङ्देम्बेले भने, ‘उनले पनि मिचे, हामीले पनि मिच्यौं। के हिसाब बराबर भन्न खोज्नु भएको हो प्रधानमन्त्री ज्यु? यहि प्रश्न सोध्नुहुन्थ्यो होला।’

साथै, नेकपा एमालेका रामबहादुर थापाले आङ्देम्बेले राखेका विचारलाई समर्थन गरेको बताए। उनले ‘वर्तमान राष्ट्रिय संकट’ प्रधानमन्त्रीको अभिव्यक्ति र रास्वपा सभापतिले भारत भ्रमणका क्रममा ‘विगतको बोझ बोक्न नचाहेको’ भन्दै दिएको अभिव्यक्तिका कारण सिर्जना भएको बताए। उनले इतिहासमा सुगौली सन्धि र सन् १९६२ को युद्धमा भारतले नेपालको भूमि मिचेको तथ्य हुँदाहुँदै प्रधानमन्त्रीले उल्टो बोल्नु ‘राष्ट्रिय आत्मसमर्पण’ भएको बताए।

त्यस्तै, राप्रपाका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको भनाईका कारण भारतले नेपाली भूमि माग्दा प्रमाणका रूपमा प्रयोग हुन सक्ने भन्दै उनको भनाईलाई रेकर्डबाट हटाउन माग गरे। उक्त विषय संवेदनशिल रहेको बताउँदै उनले भने, ‘नेपालको राजनीतिक इतिहास मात्र होइन, विश्वको राजनीतिक इतिहासमा पहिलो पटक सायद यस्तो अवस्था देखिएको छ, जहाँ देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट भएको गम्भिर राजनीतिक तथा भूराजनीतिक त्रुटिलाई मन्त्रीहरूले सच्याउनु पर्ने परिस्थिति आयो।’

शाहीले बोले लगत्तै श्रम संस्कृति पार्टीले अन्य दलका नेताहरूलाई रोस्टममा आएर बोल्न दिँदा आफूहरूलाई बोल्न नदिएको भन्दै अध्यक्ष साम्पाङले विरोध गरे। साम्पाङले ‘हामीलाई हेप्ने’ भन्दै सभामुख अर्यालको विरोध गरेका थिए।

यद्यपी सभामुख अर्यालले भने श्रम संस्कृति पार्टीले समय माग नगरेको भन्दै प्रतिप्रश्न गरेका थिए।

‘मैले दलगत रुपमा विपक्षी दलका नेताहरूलाई बोल्न समय दिन तयारी गरिरहँदा मान्य सदस्यबाट समय माग भएन’,सभामुख अर्यालले भने, ‘नाम पठाइएन। तर पनि म दिन कोसिस गर्थे। तर, मान्य मन्त्रीबाट सरकारको तर्फबाट सम्बोधन गरिरहँदा मान्य सदस्यले निरन्तर बोलिरहन भयो र निरन्तर विरोध गरिरहनु भयो। यसबाट स्पष्ट रूपमा मान्य सदस्य रोस्टममा गएर बोल्न तयार हुनुहुन्न भनेर सभामुखले बुझ्यो। त्यसकारणले म आज मान्य सदस्यहरूलाई समय दिन सक्दिन। त्यसकारणले सभा अगाडि बढाउन चाहन्छु।’

त्यसपश्चात सभामुखले सभालाई नियमित रूपमा अघि बढाएका थिए। 

यद्यपी सभाभर नै श्रम संस्कृति पार्टीले विरोध जनाइरहेको थियो। सभामुखले संसद अघि बढाइरहँदा साम्पाङसँगै उनको पार्टीका सांसदहरूले रोस्टको सामुन्ने गई विरोध जनाएका थिए। साम्पाङले आफूलाई रोस्टममा आएर बोल्न दिनुपर्ने माग राखेका थिए।

केही बेरको विरोधपछि साम्पाङलाई रोस्टममा गएर बोल्नका लागि समय दिइएको थियो। उनले सदनलाई विधिबाट सञ्चालन गर्नु पर्ने अनुरोध गरे। उनले भने, ‘हामी हाम्रो नियमावलीको १५ को २ नियम लागु गरेनौं। ४ को १ लागु गरेनौं। संविधानको धारा १ ‘ग’, धारा ७६ को १० मिचेका छौं। हामी त्यहाँ असफल भयौं।’

उनले सांसदहरूले सदनमै नियम मिच्दा देशमा नीतिनियम लागु हुन्छ भन्दै प्रश्न गरे। उनले प्रधानमन्त्रीले आफूखुसी आउँदा पनि हुने र नआउँदा पनि हुने गर्न नहुने बताए। उनले प्रधानमन्त्रीको वक्तव्यलाई सदनमा आइ सच्याउनुपर्छ भन्ने माग विपक्षी दलको रहेको बताए।

‘यहाँहरू सबैलाई अनुरोध गरौं, भुगोल बिनाको देश हुँदैन,’ उनले भने, ‘भुगोलै छैन भने बादल माथि देशको कल्पना गर्छौं त? त्यसैकारण सीमानामा भइरहेको अतिक्रमणहरू, महाकालीलाई नेपालतर्फ मोडिएका कुराहरू याद दिलाएको थिएजस्तो लाग्छ। त्यत्तातिर हामीले ध्यान दिनु छैन। हामी आफैले ‘भारतको भूमि मिचेका छौं’ भनेर अभिव्यक्ति दिने?’

साम्पाङले लामो समयदेखि सीमा मिचिएको विषय उल्लेख गर्दै अझै कति कुर्ने भन्दै प्रश्न गरे। उनले भने, ‘पहिलाकोले गरेन, अब यसपाला पनि नगरौं? एक जना माननिय ज्युले त तपाईंको पालामा गर्नु भन्नु भएको थियो। हिजो गरेनौं, अस्ती पनि गरेनौं। आज गरौं न।’

उनले सीमानाको विषय गम्भिर भएको र भूगोल रहेमा मात्रै देश रहने बताउँदै सीमा रक्षाको कुरा महत्वपूर्ण भएको बताए। यस विषयमा सबै जना एक हुनुपर्ने बताउँदै उनले सदन अवरुद्ध गरेकोमा पनि माफी मागेका थिए।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाचार

रास्वपा सांसद डा. अमरेशकुमार सिंहले भने: ‘बेलुनजस्तो बजेट ल्याइयो’

बिहीबारको प्रतिनिधिसभाको बैठकबाट आगामी वर्षको बजेटमाथि छलफल सुरू भएको छ। यसअघि प्रतिनिधिसभाको बैठकमा...

अर्थहरु

समाचार

सत्तापक्षलाई ‘मुर्दाशान्ती’ राखेको कांग्रेसको आरोप, सभामुखको भूमिका माथि प्रश्न

बुधबारको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले सत्तापक्षले संसदमा प्रश्न गर्नुपर्ने विषयमा पनि मुर्दाशान्ती कायम...

अर्थहरु

समाचार

करका दरमा हेरफेर र विवाइडी प्रकरणबारे अर्थमन्त्रीको प्रष्टिकरणः पेज लेआउट मिलाउँदा १६ पृष्ठ घट्यो, चुहावट सत्यता होइन

आर्थिक विधेयकमा प्रकाशित भइसकेका करको दर हेरफेर र कोरोला भन्सार नाका हुँदै विबाइडीका...

अर्थहरु

×

×