तस्बिर: रासस
तस्बिर: रासस

समाचार

सभापति रवि लामिछानेको भारत भ्रमणः दिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट, अयोध्या पुगेर दर्शन गरे राम मन्दिर

मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबिच रहेको विशेष तथा बहुआयमिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको बताएका छन्।

By अर्थहरु |

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्। 

गत फाल्गुनमा भएको निर्वाचनमा बहुमतसहितको सरकार बनाएको रास्वपाका तर्फबाट लामिछाने पाँच दिनको भारत भ्रमणमा गएका थिए।

भ्रमण टोलीमा लामिछानेसँगै पत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य थिए।

जेठ १८ गते गएर भारत भ्रमणमा गएका उनीहरू जेठ २२ गते फर्किएका थिए। 

उनी भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमण गएका थिए। भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै अन्य शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्।

लामिछाने र मोदीबिचको भेट: दु‌ई पक्षीय हितका विविध विषयमा कुराकानी

भ्रमणका क्रममा बुधवार सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गरेका थिए। भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको लामिछानेले बतायो।

भेटमा मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सहकार्य गर्न तयार रहेको बताएका थिए। लामिछानेसँगको भेटले ‌आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन्।

मोदीले भेटबारे आफ्‌नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘लामिछानेसँगको भेटले मलाई खुसी तुल्याएको छ। साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्ण रुपमा समर्थन गर्दछु।’

मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबिच रहेको विशेष तथा बहुआयमिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको बताएका छन्। 

रास्वपा सभापति लामिछाने र भाजपा अध्यक्ष नवीनबीच भेटवार्ता

भारतको सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा गएका थिए। लामिछानेको नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमा नेता तथा कार्यकर्ताहरूले लामिछानेलाई ‘रेड कार्पेट’मा बाजागाजा, झाँकी सहित फूल मालाले स्वागत गरेका थिए।

भारत भ्रमणको दोस्रो दिन जेठ १९ गते दिनदयाल मार्गस्थित भाजपाको मुख्यालयमा भाजपा अध्यक्ष नितिन नवीनसँग लामिछानेले भेटवार्ता गरेका थिए। भेटघाटका क्रममा भाजपा अध्यक्ष नवीनले भारत र नेपालबिच ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत सम्बन्ध रहेको बताएका थिए। अध्यक्ष नवीनले सभापति लामिछानेलाई भाजपाको स्थापना कालदेखिको यात्रा, यसको विचारधारा, सङ्गठनात्मक संरचना र जनता केन्द्रित राजनीतिक कार्यशैलीका बारेमा जानकारी गराएका थिए।

छलफलमा लामिछानेले भाजपाको सदस्यता वितरण प्रक्रिया, उम्मेदवार छनोट प्रणाली र तल्लो तहका कार्यकर्ताहरूसँग जोडिने पार्टीको संयन्त्रका बारेमा चासो राखेका थिए। बैठकपछि सोही दिन उनले भाजपा मुख्यालयको मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको अवलोकन गरेका थिए।

भेटघाटको समापनमा दिवा भोजको आयोजना गरिएको थियो, जसमा दिल्लीको मुख्यमन्त्री रेखा गुप्ता लगायत भाजपाका अन्य नेताहरूका उपस्थिति रहेको थियो।

लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटघाट

लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका थिए। 

गृहमन्त्री अमित शाहले लामिछानेलाई निर्वाचनमा पाएको अभूतपूर्व सफलता र ऐतिहासिक विजयका लागि बधाई दिएका थिए। साथै नयाँ सरकारको सफलताकोलागि भारतका तर्फबाट शुभकामना व्यक्त पनि गरेका थिए।

भेटघाटका क्रममा दुवै नेताले भारत र नेपालबिचको विशेष सम्बन्धलाई अझ सुदृढ र सशक्त बनाउन सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। सभापति लामिछानेले शाहलाई ‘अष्टचिरञ्जीवी’ लगायतका विभिन्न उपहार दिएका थिए। पछिल्लो १० वर्षमा अमित शाहले कुनै विदेशी नेतासँग पहिलो चोटि भेटघाट गरेका छन्।

लामिछाने र विदेश मन्त्री जयशंकरबीच भेटघाट

सभापति लामिछाने र भारतीय विदेश मन्त्री एस जयशंकरबीच पनि भेटवार्ता भएको छ।

जयशंकरले भेटबारे आफ्‌नो सामाजिक सञ्जालमा भनेका छन्, ‘आज दिल्लीमा नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लाग्यो। हाम्रा छलफल विकास साझेदारी र जनता–जनताबिचको सम्बन्धमा केन्द्रित थिए। यी सम्बन्धहरूले विकास, प्रगति र समृद्धिलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।’

पार्टीको प्रवास कमिटीको कार्यक्रममा सहभागी, राम मन्दिरको दर्शन 

दिल्लीमा भारतीय नेताहरूको भेटघाटपछि, बिहीबार दिनभरि पार्टी प्रवास कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।

लामिछाने बेलुका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत (जो भारतका लागि अमेरिकी राजदूत पनि हुन), सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गरेका थिए। केही समयअघि नेपाल भ्रमणमा आएका बेला पनि गोरले लामिछानेसँग भेटघाट गरेका थिए। 

शुक्रवार भने लामिछाने अयोध्यास्थित राम मन्दिर पुगेका थिए। उनीहरूले मन्दिरमा विशेष पूजा तथा दर्शन गरेका थिए। 

शुक्रवार स्वदेश फर्किएपछि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भारतमा उच्च राजनीतिक भ्रमणमा भेटघाट गोप्य हुने गरे पनि आफूले खुला रूपमा भेटघाट र छलफल गरेको र रास्वपा सरकार भारतसँग विकास कूटनीतिका आधारमा अघि बढ्ने विषयमा छलफल केन्द्रित रहेको बताए।

उनले भने, ‘नेपाल र भारत दुई देशको हितका विषयमा विकास र कूटनीतिलाई मध्यनजर राखेर अघि बढ्ने र अन्य कूटनीतिक विषयहरूलाई संवेदनशीलताका आधारमा अघि लैजाने विषयमा छलफल गरेर फर्किएको छु।’

गुन २१ को निर्वाचनपछि नेपालबाट भारतमा भएको यो पहिलो उच्च-स्तरीय राजनीतिक भ्रमण हो।

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाचार

लघु, साना तथा मझौला उद्यमका लागि १० लाख रुपैयाँसम्मको डिजिटल कर्जा उपलब्ध हुने

नेपाल राष्ट्र बैंक (एनआरबी) ले डिजिटल कर्जाको अधिकतम सीमा दोब्बर वृद्धि गर्दै १०...

अर्थहरु

समाचार

करका दर ‘चुहावट’बारे अर्थमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने प्रतिपक्षको माग

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रतिपक्षले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय समितिले छानबिन गर्नुपर्ने माग गरेका...

अर्थहरु

×

×