पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ।
पानीको अभावका कारण वर्षौँदेखि खेतीयोग्य जमिन बाँझै रहने समस्या समाधान गर्ने उद्देश्यसहित स्थानीय तहले पोखरी निर्माणको काम अघि बढाएको थियो।
वडाध्यक्ष कुमार थापाले बर्सेनि खडेरीका कारण कृषि उत्पादनमा गिरावट आउन थालेपछि योजनाबद्ध सिँचाइ पोखरी निर्माण गरिएको बताए। हालसम्म यहाँ छ वटा पोखरी निर्माण गरिएका र त्यसबाट सिक्रेटार क्षेत्रका करिब एक हजार ५०० रोपनी जमिनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सिँचाइ सुविधा विस्तार भएको उनले जानकारी दिए।
वडाध्यक्ष थापाले भने, ‘सुक्खा क्षेत्रमा पानीको दिगो व्यवस्थापन नगरी कृषि विकास सम्भव हुँदैन। त्यसैले मुहानसहितका ठूला पोखरी निर्माण गरेका छौँ। यस कार्यले किसानलाई केही राहत भएको छ।’
उनका अनुसार निर्माण गरिएका पोखरीलाई सिँचाइमा मात्र सीमित नराखी बहुउपयोगी बनाइएको छ। आगलागीजस्ता विपद्का समयमा पानीको स्रोतका रूपमा प्रयोग गर्न सकिने गरी संरचना तयार गरिएको छ। साथै, पोखरीबाट खेतबारीसम्म पानी पुर्याउन वडाले पाइप वितरण गर्दै आएको छ। यसले किसानलाई सिँचाइ पहुँचमा सहज बनाएको छ।
‘पोखरी निर्माण अभियानलाई बहुआयामिक विकाससँग जोडेर अगाडि बढाइएको छ। पोखरी वरपरका क्षेत्र संरक्षण गर्दै वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ। भविष्यमा यी क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना छ’, वडाध्यक्ष थापाले भने।
वडासचिव अशोक अधिकारीले यहाँको मैदानेमा दुई, दुङ्गेमा एक, सिक्रेटारमा एक र बेलटारमा दुई वटा पोखरी निर्माण सम्पन्न भएको बताए। यसबाहेक थप दुई वटा पोखरी निर्माणाधीन अवस्थामा रहेका उनले जानकारी दिए।
विशेषगरी हिउँदे बाली उत्पादनमा यसले प्रत्यक्ष प्रभाव पारेको छ। हाल यहाँका किसान बदाम, फलफूल तथा तरकारी, आलु, प्याज, टमाटरलगायत नगदेबालीतर्फ आकर्षित हुन थालेका छन्। स्थानीय प्रदीप थापाले पोखरी निर्माणसँगै गाउँको कृषि प्रणालीमा परिवर्तन आएको बताए।
‘पहिले पानीको अभावले धेरै जमिन बाँझो रहन्थ्यो’, उनले भने, ‘हाल वर्षभरि नै खेती गर्न सकिने अवस्था बनेको छ। तरकारीखेती गर्नसमेत सहज भएको छ।’
यसका साथै, पोखरी निर्माणले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण र जैविक विविधता जोगाउन पनि सहयोग पुग्ने स्थानीय अम्बर थापाको विश्वास छ। सिँचाइ पोखरीले पानीको समस्या समाधान मात्र नभई कृषकको आयआर्जन वृद्धि, वातावरण संरक्षण तथा सम्भावित पर्यटन विकासका लागि नयाँ आधार तयार पारेको उनले बताए।
थप सामाग्री पढ्नुहोस
प्रधानमन्त्रीको बोलीबारे परराष्ट्रमन्त्रीः सीमाको विषयमा बेलायतको मध्यस्थता खोजेका होइनौं
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल भारत सीमा...
बीवाईडीले कर छलेको विषयमा छानबिन गर्न समिति गठन, के हो प्रकरण?
राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका ७७९ वटा विद्युतीय सवारी साधनबारे छानबिन...
वर्तमान सरकार र सेना सम्पत्ति छानबिनको दायरा बाहिर, पूर्व पदाधिकारीहरूको सम्पत्तिमाथि अनुसन्धान हुने
गत भदौमा भएको आन्दोलनको प्रमुख मुद्दाका रूमपा रहेको सम्पत्ति छानबिनको विषयमा वर्तमान सरकारले...
×