काठमाडौँमा नेकपा एमालेको संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यक्रमलाई सम्बोधन गर्दै
काठमाडौँमा नेकपा एमालेको संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यक्रमलाई सम्बोधन गर्दै

राजनीति

चुनावी हारपछि ओलीको पहिलो सार्वजनिक सम्बोधनः निर्वाचनलाई ‘तमासा’को संज्ञा, राष्ट्रपतिको भूमिकामाथि प्रश्न

उनले यी घटनाहरूलाई लोकतन्त्र र विशेषगरी जननिर्वाचित सरकारविरुद्धको एउटा आपराधिक र पूर्वनियोजित षड्यन्त्र भएको बताएका छन्।

By अर्थहरु |

काठमाडौं। गत भदौमा भएको जेनजी प्रदर्शन र त्यसपछि सिर्जित राजनीतिक घट्नाक्रमका बीच भएको फाल्गुन २१ को निर्वाचनमा नेकपा एमालेले ‘अप्रत्याशित हार’ भोग्नु परेको थियो।

जेनजी प्रदर्शनका क्रममा राजीनामा दिएर सत्ता छाडेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चुनावताका बढि नै ‘आत्मविश्वास’का साथ देखिएको भएतापनि उनी चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार घोषणा भई चुनावमा होमिएका बालेन्द्र शाह (बालेन)सँग पराजित भए। 

त्यसपछि गठन भएको सरकारले भदौको हिंसात्मक प्रदर्शनका विषयमा छानबिन गर्न गठन भएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा, जसलाई हालसम्म औपचारिक रूपमा सार्वजनिक गरिएको छैन, ओलीलाई पक्राउ पनि गरेको थियो। 

चुनावपछि सार्वजनिक कार्यक्रममा कतै सम्बोधन नगरेका ओलीले बुधबार भने काठमाडौँमा नेकपा एमालेको संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यक्रमलाई सम्बोधन गरेका छन्। उनले लामो मन्तव्य राख्दै अहिले देशको ‘राजनीति गम्भीर मोडमा पुगेको’ दाबी गरेका छन्। सँगै उनले ‘सरकारको वैधानिकता’, ‘राजसंयन्त्रको निरीहता’ र ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न गरेका छन्। 

भदौ २३–२४ को घटनालाई अस्वीकार

ओलीले गत भदौ २३ र २४ गतेका घटनाहरूलाई कुनै 'क्रान्ति' वा 'आन्दोलन'का रूपमा मान्न अस्वीकार गरेका छन्। उनले यी घटनाहरूलाई लोकतन्त्र र विशेषगरी जननिर्वाचित सरकारविरुद्धको एउटा आपराधिक र पूर्वनियोजित षड्यन्त्र भएको बताएका छन्। 

उनको ‘आक्रमणकारीहरूले गुगल म्यापको प्रयोग गरेर नेताहरूका निजी निवास र नागरिकका सम्पत्तिहरू पहिचान गरी आगजनी गरेको’ दाबी गर्दै भने, ‘संसदभित्रका सबै तिकडमहरू असफल भएपछि असंवैधानिक, अलोकतान्त्रिक र आपराधिक मार्ग अख्तियार गर्दै मुलुकमा हिंसा र आगजनीको सहारा लिइयो।’

त्यसो त ओलीले यसअघि पनि भदौ २३ र २४ को घट्नालाई कुनै ‘क्रान्ति’का रूपमा नमान्ने बताउँदै आएका थिए।

राज्यसंयन्त्रको असफलता

अध्यक्ष ओलीले राज्यसंयन्त्रको असफलतालाई महाभारत युद्धपछिको अर्जुनको 'गाण्डिव' धनुषको निरीहतासँग तुलना गरेका छन्। अत्यधिक जनमत हुँदाहुँदै पनि अराजक तत्त्वहरूको अगाडि राज्यसंयन्त्र पूर्ण रूपमा निरीह साबित भएको र नागरिकको सुरक्षा गर्न नसकेको उनले औँल्याए। उल्टै, राज्यसंयन्त्रले असभ्य भाषा प्रयोग गर्ने र पीडितलाई नै तर्साएर माफी माग्न लगाउने काम गरिरहेको भन्दै उनले राज्य संरक्षित अराजकता बढेको आरोप लगाए।

प्रतिशोधको राजनीति र नक्कली आयोगको आरोप

सम्बोधनका क्रममा ओलीले वर्तमान सरकारले प्रतिशोधको राजनीति गरिरहेको गम्भीर आरोप लगाएका छन्।

गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगलाई उनले विपक्षी नेताहरूलाई फसाउने 'टास्क' पाएको नक्कली गिरोह भएको बताए। त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी समितिलाई पनि उनले राजा ज्ञानेन्द्रको पालाको 'शाही आयोग'सँग तुलना गर्दै त्यस्ता आयोगलाई मान्यता नदिने र बयानसमेत नदिने घोषणा गरे। उनले ‘घरमा आगो लगाएर सम्पत्ति खरानी बनाएपछि राज्यले आफूसँगै सम्पत्ति विवरण मागेको’ भनेका छन्।

‘मेरो घरमा आगो लगाएर सबै सम्पत्ति खरानी बनाएपछि राज्य मलाई नै सम्पत्ति विवरण मागिरहेको छ, मैले के को विवरण दिने?’, उनले प्रश्न गर्दै भनेका छन्, ‘त्यहि आगोको खरानी उठाएर दिने? राज्यले छानबिन गर्नुपर्ने कुरा अकुत सम्पत्ति आर्जन गर्नेहरुको हो, तर यहाँ पीडितलाई नै प्रताडित गर्ने काम भइरहेको छ।’

उनले आफ्नो ‘व्यक्तिगत जीवनको अत्यन्त दुःखद घडीमा राज्यले गरेको अमानवीय व्यवहार गरेको’ आरोप लगाए। 

बुवाको निधनपछि १३ दिनको काजकिरिया सकेर उठेको भोलिपल्टै सरकारले बिना कुनै आधार आफू र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गैरकानुनी रूपमा पक्राउ गरेको उनको तर्क छ।

अदालतले बिना प्रमाण तीन पटकसम्म म्याद थपेको ओलीको तर्क छ। उनले भने, ‘म अदालतको धेरै आलोचना गर्न चाहन्न । तर त्यस्तो गैरकानुनी गिरफ्तारीमा पनि अदालतले तीन तीन पटक म्याद थप्यो।’

उनले ‘राज्य संयन्त्रले सारा शक्ति लगाउँदा पनि आफूहरू विरुद्धमा मुद्दा चलाउने एउटा पनि प्रमाण र आधार भेट्न नसकेका कारण १३ दिनपछि छाड्न बाध्य भएको’ तर्क गरेका छन्।

राष्ट्रपतिको भुमिकामाथि प्रश्न, निर्वाचनलाई ‘तमासा’को संज्ञा

एमाले अध्यक्ष ओलीले सम्बोधनका क्रममा भदौ २३ र २४ को राष्ट्रव्यापी आगजनीको घट्नालाई सामान्यजस्तो बनाउन खोजिएको आरोप लगाए। 

उनले आगजनीका घट्नापश्चात राज्यले दुई चार दिनसम्म पनि आगो निभाउन उपस्थित नहुनुले नागरिकलाई भयभीत बनाएको बताए। त्रासका माहोलका बीच लोकतान्त्रिक विधिबाट जननिर्वाचित सरकारलाई अपदस्त गरेर असंवैधानिक सरकारको जग हालेको पनि ओलीले आरोप लगाए। उनले भने, ‘असंवैधानिक सरकारको अवैध सिफारिसमा जननिर्वाचित प्रतिनिधिसभालाई गैरकानुनी ढंगले राष्ट्रपतिबाट विघट्न गराइयो।’

त्यत्ति बेला कुनै पनि ‘राजनीतिक दलसँग परामर्श नगरि संविधान र कानुनलाई लत्याउँदै सडकबाट उठेका व्यक्तिहरूको आदेशका भरमा संसद विघटन गरिएको’ ओलीले आरोप लगाए। 

‘उल्टो बाटो हिँड्दा आज देशको राजनैतिक र संवैधानिक वातावरण पूर्ण रूपमा विषाक्त भएको छ,’ उनले भने, ‘संविधानको रक्षक र पालक हुनुपर्ने राष्ट्रपति आज पूर्ण रूपमा रबर स्ट्याम्प बन्नु भएको छ।’

उनले तत्कालिन अन्तरिम सरकार ‘संविधान विपरित बनेको’ र ‘संविधानविपरित नै संसद विघटन भएको’ आरोप लगाउँदै राष्ट्रपतिले ‘बडो जुक्तिले लोकतन्त्र बचाएँ’ भनेर गर्व गर्नु विडम्बनाको विषय भएको बताए।

फाल्गुन २१ मा सम्पन्न निर्वाचनलाई पनि ओलीले 'पूर्वनिर्धारित परिणाम ल्याउन मञ्चन गरिएको चुनावको तमासा' मात्र भएको बताए। ‘मतदान गर्दा औँलामा लगाइने मसी घर नपुग्दै उड्ने गरेको र उम्मेदवारी खारेज भएका चिन्नै नचिनेका व्यक्तिहरूले दोब्बर मत ल्याएर जितेको अस्वाभाविक अवस्था सिर्जना गरिएको’ उनको दाबी छ। उनले भने, ‘त्यो निर्वाचन थिएन। त्यो एउटा पूर्वनिर्धारित परिणाम ल्याउन मञ्चन गरिएको ‘चुनावको तामासा’ र नाटक मात्र थियो।’

पार्टीको आन्तरिक विषयबारे प्रष्टिकरण

अहिले एमाले पार्टीभित्रै पनि ‘एकता कमजोर बन्दै गएको’ कुराहरू बाहिर आइरहेका छन्। बुधबार ओलीले सो विषयहरूलाई पनि सम्बोधन गरेका छन्। उनले पार्टीभित्र कोही पूर्व कोही पश्चिम फर्किने तथा एक थोक निर्णय भएर बाहिर अर्को थोक बोल्ने अराजकता स्वीकार्य नभएको बताए। 

‘अहिले पार्टीभित्र समिक्षा गर्नुपर्छ भन्दै अनावश्यक भ्रम छर्ने, हतारिएर निष्कर्ष निकाल्ने र गुटबन्दी गर्ने प्रवृत्तिहरू देखिएका छन्’,उनले भने, ‘संस्थागत प्रक्रियालाई लत्याएर हस्ताक्षर अभियान चलाउनेजस्ता कुराले पार्टीलाई न वैचारिक रूपमा बलियो बनाउँछ न सांगठनिक रूपमा। यतिबेला राष्ट्रिय आवश्यकता भनेको सम्पुर्ण तुषहरू पन्छाएर सिंगो पार्टी पंक्ति एक हुनु हो।’

साथै उनले पार्टी भित्र र बाहिर पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणको विषयलाई लिएर अनावश्यक विवाद सिर्जना गरिरहेको बताए। उनले भण्डारीले राष्ट्रपतिको संवैधानिक बाध्यताका कारण पार्टी सदस्यता त्यागेको र कार्यकाल सकिएपछि पुरानो घरमा फर्किनु स्वाभाविक कानुनी र राजनीतिक प्रक्रिया भएको बताए। यसलाई लिएर पार्टीभित्रकै एक तप्काले 'हामीले जित्यौं भन्दै खुसीयाली मनाउनु हास्यास्पद' भएको उनको टिप्पणी छ।

उनले बुधबारको सम्बोधनमा पार्टीलाई एकताबद्ध राख्न तथा विधिविहीनता र अराजकतालाई प्रश्रय नदिन अपिल गरेका छन्। उनले भने, ‘राज्यशक्तिको दुरुपयोग गरेर हामीलाई जतिसुकै तर्साउन खोजिए पनि, जतिसुकै झुटका पुलिन्दा तयार गरेपनि सत्यको जित अवश्यंभावी हुन्छ।’

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाचार

मोदी र लामिछानेबीच भेटवार्ताः साझा समृद्धिका लागि सहकार्य गर्न भारत तयार

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

अर्थहरु

समाचार

बढ्यो सीमा नाकाबाट ल्याउन पाइने सामानको सीमा, अब ५ सय रुपैयाँसम्म छुट

काठमाडौं। स्थल मार्ग हुँदै सीमा नाकाबाट ल्याउन पाइने सामग्रीको सीमा बढेको छ। सरकारले...

अर्थहरु

समाचार

गण्डकी प्रदेशमा गाँजा खेतीलाई वैधानिकता दिइने, आगामी वर्ष कानुन आउँदै

काठमाडौं। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट प्रदेशभित्र गाँजाको खेतीलाई वैधानिकता दिने भएको...

अर्थहरु

×

×