तस्बिर: रासस
तस्बिर: रासस

समाचार

सदनमा पूर्वतयारी बिना प्रधानमन्त्री आउँदा हंगामा’, परराष्ट्रले दियो प्रष्टीकरण

प्रतिनिधिसभाको बैठकमा ‘आकस्मिक’ उपस्थिति दिएर प्रधानमन्त्री बालेनले प्रश्नोत्तरका लागि सभामुख डोलप्रसाद अर्याल समक्ष समय मागेका थिए। सोही अनुरूप सत्तापक्ष र विपक्षी दल गरि ६ जना सांसदहरूले दलको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।

By अर्थहरु |

आइतबार राती सदनको अधिवेशन सकिएर सभामुख तथा सदस्यहरू बाहिरिँदा १० बजेर १६ मिनेट भएको थियो। 

आइतबारको बैठक पहिलो चरणमा ५ घन्टा बसेको थियो। दोस्रो चरणको बैठक सुरू भएको केही समयमा नै सभामुखले बैठकलाई स्थगित गरेका थिए। कारण प्रतिपक्षले गरेको विरोध थियो। प्रतिनिधिसभाको नियमित कार्यसूचिअनुसार ‘प्रतिनिधिसभा नियमावली’ माथि दफावार छलफल सकेर सभा संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने विषयमा विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा नियमावलीलाई संसदीय समितिको दफावार छलफलमा लैजान माग गरेका थिए। 

तर, सभामुखले सदनमै दफावार छलफल सुरू गरे। जसका कारण प्रतिपक्षले संसदमा विरोध सुरू गरे। सभामुखको रोष्ट्रम नजिकै गएर प्रतिपक्षि दलका सांसदहरूले अवरोध गरेका थिए। कतिसम्म भने सत्तापक्ष र विपक्षी दलका सांसदहरूबीच सदनजस्तो ‘गरिमामय’ स्थानमा ‘ठेलाठल’ हुन पुग्यो।

तर, यी सबैका बीच आइतबार साँझ राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारजगत र सर्वसाधारणको विचार अभिव्यक्त हुने सामाजिक सञ्जालका विभिन्न माध्यमहरूमा भने अर्को विषयमा केन्द्रित थियो।

विषय थियो- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सदनमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति।

प्रतिनिधिसभाको बैठकमा ‘आकस्मिक’ उपस्थिति दिएर प्रधानमन्त्री बालेनले प्रश्नोत्तरका लागि सभामुख डोलप्रसाद अर्याल समक्ष समय मागेका थिए। सोही अनुरूप सत्तापक्ष र विपक्षी दल गरि ६ जना सांसदहरूले दलको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। सोही क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपाल भारत सिमा विवादबारे गरेको प्रश्नमा प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अच्चम लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’

उनले दिएको यो अभिव्यक्ति केही समयमा नै विवादको विषय बन्यो। 

प्रधानमन्त्री सदनमा सांसदहरूको जवाफ दिएर प्रश्नोत्तर सकिने वित्तिकै सदनबाट बाहिरिए। प्रतिपक्षले भने प्रधानमन्त्रीले भनेको विषयको प्रष्टता माग्दै सदनमा कुरा उठाएका थिए। 

प्रधानमन्त्रीको यो अभिव्यक्तिका कारण अहिले नेपाल र भारत सीमा विवादको विषय फरक ढंगले देखिएको छ।

प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिले यतिबेला नेपाली मात्रै नभएर भारतीय सञ्चार माध्यममा पनि चर्चा भएको छ। भारतका विभिन्न राष्ट्रिय स्तरका सञ्चार माध्यमहरूले प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिको विषयलाई उल्लेख गरेका छन्। 

नेपाल सरकारले आफ्नो नक्सामा समेत सामेल गरेको लिपुलेक र लिम्पियाधुराको क्षेत्र हुँदै हाल भारत र चीनले द्विपक्षिय सहमतिमा व्यापारिक मार्ग सञ्चालन गर्ने तयारी गरिरहेका छन्। अहिलेको विवाद सोही विषयबाट सुरू भएको हो। यद्यपी प्रधानमन्त्री बालेनले भने उक्त विषय समाधान केन्द्रितभन्दा पनि थप विवाद सिर्जना गर्ने अभिव्यक्ति दिएका थिए। 

उनले दिएको अभिव्यक्तिबारे सदनका साथै राजनीतिक दलले विज्ञप्ति निकालेर आपत्ति जनाएको छ। नेपाली कांग्रेसले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भएको बताएको छ।

प्रधानमन्त्रीको बचाउमा परराष्ट्र

प्रधानमन्त्री बालेनले ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्दै दिएको अभिव्यक्तिका कारण विवाद भएसँगै प्रधानमन्त्रीको बचाउमा परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको बचाउ गरेको छ। 

मन्तालयले प्रधानमन्त्रीले संसदमा बोलेको विषयको सन्दर्भ ‘मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित’ रहेको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल (Fixed Boundary Principle) अवलम्बन गरेको कारणले “क्रस बोर्डर अकुपेसन” भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था छ।’

मन्त्रालयले नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढंगले नक्साङ्कन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा क्षेत्रको अतिक्रमण तथा क्रस बोर्डर अकुपेसनको लगत संकलन गर्न दुई देशका सीमासम्बन्धि संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील रहेको बताएको छ। साथै, लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा क्रियाशिल रहेको र संयुक्त रूपमा लगत संकलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ।’ 

मन्त्रालयले प्रधानमन्त्रीले संसदमा भनेको भनाई यहि प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको रहेको बताएको छ। 

के नेपालले साँच्चै भारतको सीमा मिचेको छ?

विगतमा सीमा विवादको विषय सतहमा आउँदा भारतले नेपालको भूभाग मिचेको विषय चर्चामा आउँथ्यो। तर, प्रधानमन्त्रीले दिएको अभिव्यक्ति भने त्यो भन्दा विल्कुल फरक छ। 

सीमाविद् तथा नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार ‘नेपालले भारतको जमिन कहिल्यै अतिक्रमण गरेको छैन।’ कान्तिपुरमा प्रकाशित श्रेष्ठको लेखअनुसार सीमानाकाका कतिपय स्थानमा भोगचलन भएका जमिन सीमापार जोतकमोद तथा दख्खल (क्रस होल्डिङ र अकुपेसन) भएका छन्। उनको लेखमा भनिएको छ, ‘भारतले नेपाली किसानको जमिखमा कब्जा गरेको वा दख्खल पुर्‍याएको वा नेपाली किसानले भारतीय किसानको जमिनमा दख्खल पुर्‍याएको अवस्थालाई क्रस होल्डिङ अनुपेसन हो।’

काठमाडौं विश्वविद्यालयको भू-आकृत विज्ञान इन्जिनियरिङ विभागका अनुसन्धाता रबि श्रेष्ठ, मुकेश थापा, बिपुल तामाङ र नारायण श्रेष्ठको अनुसन्धान पत्रकाअनुसार नेपालका विभिन्न ५४ स्थानमा सीमा विवाद छ । साथै, भारतले लगभग नेपालको ६० हजार हेक्टर भूभाग मिचेको छ। तर, यस अनुसन्धान पत्रमा पनि ‘नेपालले भारतको सीमा मिचेको’ विषयमा भने कुनै पनि प्रमाण वा दाबी उल्लेख गरिएको छैन।

सरकारी पक्षबाटै प्रकाशित ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक प्रतिवेदनमा नेपाल र भारतबीचको सीमा विवाद पूर्वोत्तर सीमादेखि पश्चिमोत्तर सीमासम्म २७ जिल्लामध्ये २४ जिल्लाका विभिन्न स्थानमा सीमा विवाद कायम रहेको छ। प्रतिवेदनमा भनिएको छ, ‘यी विवादहरू कुनै स्थानीय जनताका तर्फबाट जबर्जस्ती जमिन मिच्ने कार्यबाट उत्पन्न भएका छन् भने कुनै स्थानमा भारतको तर्फबाट नियोजित ढंगले नेपाली जमिन मिच्ने कार्य भएको छ।’

अर्थहरु अन्तरदृष्टि | गहिरो विश्लेषण | समाचार | अनुसन्धान | विशेषज्ञ राय | ज्ञान | जटिल मुद्दाहरूको एनाटमी

थप सामाग्री पढ्नुहोस

समाचार

सदनमा विपक्षीको अवरोधः प्रधानमन्त्रीले सदनबाटै माफी माग्नुपर्ने माग

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल भारत सीमाबारे दिएको अभिव्यक्तिका कारण...

अर्थहरु

समाचार

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङको तुलसीपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका५...

रासस

समाचार

भारत भ्रमणमा रास्वपा सभापति लामिछाने: कस्तो छ कार्यक्रम, कसकसलाई भेट्दैछन्?

आज सोमबार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा...

अर्थहरु

×

×